म्याग्दीको मालिकामा एक जनाको हत्या, दुई घाइते

हिमाल प्रेस २१ पुष २०८० १६:२६
20
SHARES
म्याग्दीको मालिकामा एक जनाको हत्या, दुई घाइते

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका-७ मा आज दिउँसो धारिलो ढुंगा (छपनी) प्रहार गरी एक जनाको हत्या भएको छ भने दुईजना घाइते भएका छन्। छपनी प्रहार हुँदा मालिका-७ बिमवाङकी ७० वर्षीया मनिषा गर्बुजाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए।

कुँवरका अनुसार मनिषाकी सात वर्षीया नातिनी प्रियंका गर्बुजा र छिमेकी ६६ वर्षीया अमृता जुग्जाली घाइते भएका छन्।घटनास्थलमा पुगेका कुँवरले हत्यामा संलग्न व्यक्तिको पहिचान र खोजी भइरहेको बताए।

मनिषालाई छपनी प्रहार गरेको देखेर बचाउन गएका प्रियंका र अमृतालाई चिर्पट प्रहार गरेर घाइते बनाइ भागेका स्थानीयको भनाइ छ। घाइते दुवैलाई थप उपचारका लागि दरवाङबाट हेलिकप्टरमा पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको कुँवरले जानकारी दिए।

उनका अनुसार दरवाङ प्राथमिक उपचार केन्द्रमा सामान्य उपचार गरी पोखरा पठाइएको हो। प्रहरीको भनाइमा प्रियंकाको अवस्था गम्भीर छ। एकजना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक कुँवरले जानकारी दिए।

घटनाको विस्तृत अध्ययन र अनुसन्धानका क्रममा रहेकाले पक्राउ परेका व्यक्तिको नाम गोप्य राखिएको उनको भनाइ छ। रासस

प्रकाशित: २१ पुष २०८० १६:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − two =