नियात्रा

लेले-टीकाभैरव यात्रामा प्रकृतिसँगको साक्षात्कार

अमृतप्रसाद पौड्याल २१ पुष २०८० १५:१३
120
SHARES
लेले-टीकाभैरव यात्रामा प्रकृतिसँगको साक्षात्कार

सूचना आदानप्रदान गर्ने ‘भाइबर’ नामक एक सामाजिक भित्तोमा अंकित ‘हाइक फर हेल्थ’ नामक हिँडन्ते समूहमा जोडिएका सदस्यहरू महिनाको एकचोटि उपत्यका वरिपरिको कुनै रमणीय डाँडामा हिँड्ने पूर्वनिर्धारित योजनालाई फत्ते गर्न हामी २०८० मंसिरको अन्तिम शनिबार बिहान नौ बजे काठमाडौँबाट ललितपुर जिल्लाको लेलेतर्फ हानियौँ।

दुईवटा ट्याक्सीमा चारचार जनाको दरले आठजना लेलेको बसपार्कमा ओर्लेर नजिकै रहेको सरस्वती मन्दिरमा विराजमान भगवानको दर्शन गर्‍यौँ। सँगैको चिया दोकानमा एक कप चिया पिई हाम्रो यात्रा पूर्वदक्षिण तर्फ रहेको पाथीभरा मन्दिरतर्फ अघि बढ्यो। सुरुमै ढलान गरेको सिँढीमा हिँड्नुपर्‍यो। हामीले चाहिँ सकेसम्म परम्परागत गोरेटो वा माटो, ढुंगा र काठले बनेको प्राकृति भर्‍याङ भएको भए बेस हुने ठानेका थियौँ।

करिब पाँच मिनट उक्लिएपछि केही परम्परागत पुराना माटोको घरहरूको बीचमा पुग्यौँ हामी। त्यहाँ पुग्दा सबैलाई एक प्रकारको उत्साह थपिएको थियो। भारी बोकेर सिँढीमा उक्लिरहेकी स्थानीय महिलालाई हामीले ढलान गरेको सिँढीले दैनिक भारी बोकेर आवतजावत गर्ने क्रममा अप्ठेरा हुँदैन भनेर सोध्यौँ। उनले माटोढुंगाले बनेको सिँढीभन्दा सिमेन्ट, बालुवा, रोडाले बनेको सिँढीमा नियमित आवतजावत गर्दा अप्ठ्यारो महसुस हुने बताइन्।

आधुनिक विकासको पर्याय मोटर बाटो, आधुनिक निर्माण समाग्रीले बनेका घरहरू, आर्थिक उपार्जनका लागि बाटोमा जोडिएका घरमा रहेका होटल एवं पसलका अतिरिक्ता वरिपरि हरियालीले ढाकेको डाँडा, केही पुराना लिपपोत गरिएका घर, मन्दिर, स्वच्छ खोला एवं परिश्रमी गाउँले जनजीवन, स्थानीय उत्पान (तरकारी, मकै, तोरी, धान) ले उक्त स्थान निकै मनमोहक देखिन्थ्यो।

दक्षिण ललितपुरको महत्त्वपूर्ण केन्द्र गोटीखेल जाने सडक मार्ग कच्ची थियो। हामी त्यसै सडकमा हिँडिरहेका थियौँ। सामुदायिक वनको बीचमा रहेको सडकमा छिनछिनमा सामान बोक्ने गाडी र केही निजी सवारीसाधनले धुलो उडाउँदा हिँड्न कठिन भइरहेको थियो। त्यसैले हामी सडकको विकल्पमा वनभित्रबाट हिँड्ने ससाना गोरेटोको खोजीमा थियौँ। त्यसै क्रममा स्थानीय एक युवक जो हातमा स्याउलापात काट्ने हतियार लिएर बनतर्फ जाँदै थिए, उनले हामीलाई वनभित्र रहेको छोटो एवं मार्गबाट जान सुझाए।

ती व्यक्तिसँग भलाकुसारी गर्दा उक्त स्थानमा घना वन भए पनि हाल जनावरहरू देखिँदैनन्। हामी रुखबुट्यानको बीचमा ठाडो भिरजस्तो बाटोबाट वनभित्र छिरी गोरेटो पहिल्याउँदै हिँड्न थाल्यौँ। अलिक माथि पुगेपछि नेपाली सेनाको तालिम स्थान रहेछ। तालिम गर्ने सेनाका जवानहरू खाना खाँदै थिए। हामी आफ्नो सुरमा प्रकृतिसँग साइनो गाँस्दै हिँडिरह्यौँ। जंगलको बीचबाट स्वच्छ हावा लिँदै हिँड्दा पक्कै पनि केही समयका लागि हाम्रा फोक्साहरू ‘रिचार्ज’ भए।

फेरि एक ठाउँमा हामीले फराकिलो पिच बाटो भेट्यौँ। सुरुमा हामीले बाटोको बारेमा सोध्दा एकपटक उकालो उक्लिने, अनि सडक भेटिन्छ त्यसपछि दाहिनेतिर ओर्लने र खोला तरेर फेरि उक्लनुपर्छ भन्ने सल्लाह पाएका थियौँ। हामी त्यसरी नै रमाउँदै हिँड्दै थियौँ। त्यो ठाउँलाई नल्लु गाउँ भनिँदो रहेछ। यो गाउँ कोन्ज्योसोम गाउँपालिकामा पर्छ। केही बेर पिचबाटोमा ओरालो झरेपछि दाहिनेतर्फ लाग्यौँ। त्यो गाउँतर्फ जाने कच्ची एवं सानो बाटो थियो।

घरहरू सिमेन्ट र पाकेको इँटाले बनेका थिए। जस्ताको छानो भएका भुइँतले घरको बीचबाट हामी अघि बढ्यौँ। केही घरमा जाँड बनाउने भाँडाहरू देख्यौँ। ऐसेलुका झ्याङ भएको स्थानबाट झर्ने क्रममा बन्दै गरेको ढलान गरिएको फराकिलो बाटो भेटियो। त्यहाँबाट क्रमशः पूर्वदक्षिणतर्फ हिँड्दै गर्दा गाउँको बीच भएर दक्षिण पश्चिमतर्फ बगेको नल्लु खोलामा रहेको गोरेटो पुल हुुँदै अर्काे डाँडो चढ्न थाल्यौँ।

घाम लागेको र उकालो हिँड्दा बिहान जाडो भएर भिरिएका बाक्ला लुगा फुकालेर झोलामा राख्यौँ। हिँड्दाहिँड्दै बस्न मिल्ने फराकिलो एक स्थानमा करिब तीन मिनट जति अडेस लागेर पानी खायौँ।

रुखबुट्यानहरू बीचमा रहेको ठाडो एवं उकालो पदमार्ग प्राकृतिक थियो। त्यो हाम्रो रोजाइको थियो। दिनको बाह्र बजे हामी कोन्ज्योसोम गाउँपालिकाको नल्लु-६ मा रहको पाथीभरा देवीको प्रतिकृति मन्दिरमा पुग्यौँ। उच्च स्थानमा रहेको भगवतीको मन्दिरमा शनिबारको दिन दर्शनार्थीको उल्लेख्य आवतजावत थियो। हामीले हिँड्दै छोड्दै गरेको मोटर बाटो न्दिरसम्म पुग्ने भएकाले दर्शनार्थीहरू सजिलै पुग्न सक्दा रहेछन्।

मन्दिरको ढोका वरिपर पूजाका सरसमान, तरकारी आदि बिक्री गर्ने व्यापारी थिए। मन्दिरमा आउने भक्तले चढाउने सरसामान खरिद गर्ने र स्थानीय उत्पादन बिक्री हुने भएकाले थोरै भए पनि आर्थिक उपार्जन हुँदो रहेछ। साथै मन्दिर अगाडि मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरूको नाम लेखेको बोर्ड देख्यौँ। अधिकाशंका पदाधिकारी तामाङ समुदायका रहेछन्। यही त हो धार्मिक सहिष्णुता भनेको!

मन्दिरमा दर्शन गरी हामी सँगैको एउट सानो खाजा पसलमा बसेर आफूले बोकेका खानेकुरा खान थाल्यौँ। यस प्रकारको एकदिने हिँडाइको कार्यक्रममा हामी प्रायः आफैँ खानेकुरा बोक्छौँ। सबैजना मिलेर रमाइलोसँग खान्छौँ। पसलमा चिया र पानी खरिद गरी उक्त पसलको टेबलकुर्सी प्रयोग गरेको भारलाई हलुका पार्‍यौँ हामीले।

एक बजे हामी उक्त स्थानबाट फेरि पूर्वदक्षिणतिर अझ उच्च स्थानमा रहको मनकामना मन्दिर जाने अभिलाषाले उकालो लाग्यौँ। प्राकृतिक मनमोहकताले घेरिएका यस्ता दर्शनीय स्थानमा पुग्ने मोटर बाटो हुनुपर्छ। तर धुलो नउड्ने पदमार्ग पनि सँगै भएमा त्यस्ता ठाउँको आकर्षण झनै बढ्छ। टाढाटाढाबाट मोटरमा आएर पनि केही घण्टा प्रकृतिमा रमाउने तथा हिँड्न मन पराउनेहरूलाई व्यवस्थित पदमार्ग भएमा अझै राम्रो हुनेछ।

स्थानीय तहहरूले आफ्नो ठाउँलाई आकर्षक बनाउन दुवै पक्षलाई मिलाई विकासका योजन बनाउनुपर्ने र हामीलाई प्रकृतिले दिएका सुन्दर उपहारहरूको बढीभन्दा बढी सदुपयोगले स्थानीय तहलाई नै फाइदा पुग्नेछ। देशका योजनाविद्हरूले पक्कै यस्ता विषयतर्फ ध्यान दिन्छन् भन्ने विषयमा छलफल गर्दै हामीले उकाली नापिरह्यौँ।

कच्ची बाटो भए पनि बिग्रेका कारण मोटर गुडेको पाइएन। अगाडि बढ्ने क्रममा हामीलाई बाटोको छेउमा रहेको तोरीबारीले स्वागत गर्‍यो। त्यसको छेउमा बसेर हामीले केही तस्बिर खिच्यैँ। मन र आँखालाई तृप्त पार्ने उक्त समयलाई हामीले उम्कन दिएनौँ।

कोन्ज्योसोम गाउँपालिका-३ नं वडा कार्यालय दलचोकी र दलचोकी स्वास्थ चौकी हुँदै हिँड्दै गर्दा एकजना वृद्धाले मुढा बुनिरहेको देख्यौँ। उक्त ठाउँलाई गोठगाउँ भनिँदो रहेछ। त्यसपछि एक होमस्टेको अगाडिबाट हामी मनकामना मन्दिर रहेको थुम्कोमा पुग्यौँ।

वरिपरि पर्खालले घेरेको सानो मन्दिरभित्र रहेकी मनकामना मूर्तिको दर्शन गरी सँगै रहेको चौरमा आराम गर्न लाग्यौँ। बाँकी रहेका खानेकुरा बोकेर हिँड्नु भन्दा खाएर तह लगाउन उचित निष्कर्ष निकाली खान थाल्याँै। हिँडाइले पसिना आई तातेको जिउ अनि घाम लागेको अवस्थाले चौरमा आराम गरेर खाँदा केटाकेटीमा घरबाट खानेकुरा बोकी बारीमा गएर वनभोज खाएको सम्झना भयो।

हामी चौरमा बसिरहँदा नजिकै दुईजना विदेशी पनि आराम गरिरहेका थिए। उनीहरू साइकल चढेर त्यहाँ पुगेका रहेछन्। हामी बस्दाबस्दा उनीहरू साइकलमा त्यहाँबाट निस्किए। दक्षिणतर्फ अलिकति उक्लिएपछि वरिपरि हरिया डाँडा, पश्चिमतर्फ फूलचोकीको शिखरमा रहेको टावर र पूर्वतर्फ केही भिरालो तोरीबारीको दृश्यावलोकन गर्दै करिब दुई बजे हामी त्यस स्थानबाट अगाडि बढयौँ। साँझ पाँच बजे टीकाभैरव पुग्ने योजना थियो हाम्रो। मोटरबाटोको आकारमा रहेको कच्ची एवं दायाँबायाँ ऐसेलुलगायतका अन्य काँडाका प्रजातिले ढाकेको खड्याङमड्याङ बाटोमा हिँड्दा हामी अंग्रेजीमा ‘हाइकिङ’ भन्ने शब्दले जनाउने हिँडाइमा थियौँ।

करिब ३ बजे पूर्वबाट दक्षिण हुँदै पश्चिम टीकाभैरवतिरतर्फ लाग्ने फराकिलो मोटर बाटोमा पुग्यौँ। निर्माणाधीन क्रममा ग्राभेल सम्याई खैरौ मलिलो माटोले पिच गरेजस्तै सम्म बनाएको बाटोमा हामीलाई हिँड्न सारै सजिलो भएको थियो। फाट्टफुट्ट गुडेका बसले केही धुलो फैलाए पनि जमिन ओसिलो भएकाले खासै अप्ठेरो परेको थिएन। बन्ने क्रममा रहेकाले नियमित मोटर चलेको थिएन।

कोन्ज्योसोम गाउँ पालिकाको चौघरेमा रहेको उक्त स्थानबाट देवीडाँडा हुँदै हामी क्रमशः अगाडि बढदै गयौँ। बिहान साढे १० मा हिँड्न सुरु गरेका हामीलाई दुई रमणीय स्थानसँग साक्षात्कार गर्दा भरपूर आनन्द भयो। त्यति मात्रै होइन शरीरमा थकान र मनमा ऊर्जा प्राप्त भयो। करिब साँझको पाँच बजे टीकाभैरव पुग्याैँ हामी।

टीकाभैरवको दर्शन गरी केही तस्बिर खिच्यौँ। अनि हामी बिहान गुडेको फराकिलो पिच सडकमा साधनको प्रतीक्षा गर्न पुग्यौँ। त्यहाँबाट रत्नपार्कसम्म साझा बस चल्ने जानकारी प्राप्त भयो। सडकको छेउमा रहेको प्रतीक्षालयमा रहेका स्थानीय एक भलादमीसँग कुराकानी गरी समयको सदुपयोग गर्‍यौँ।

लेलेबाट सुरु गरी वनजंगल, गाउँले परिवेश, सफा खोला, मन्दिर, आकर्षक दृश्यावलोकनसहितको टीका भैरव जोडिने एकदिने हाइकिङको एक राम्रो गन्तव्य बन्न सक्ने रहेछ। ती भलादमीले टीकाभैरवबाट काठमाडौँको दक्षिणकालीसम्म हिँड्न सकिने त्यस्तै पदमार्ग रहेको जानकारी दिए। सात घण्टामा उक्त दुरी पूरा गर्न सकिने जानकारी पाएपछि उक्त मार्गलाई आगामी दिनमा नाप्ने भनी हामीले योजनामा समावेश गर्‍यौँ। करिब २५ मिनेटको प्रतीक्षापछि लेलेबाट आएको साझा बसमा रोकियो। एकजना सदस्यले कलाकार हरिवंश अचार्यले गाउनुभएको ‘साझा बसमा जो पनि चढ्दछ’ भन्ने गीत गुनगुनाउँदै हुनुहुन्थ्यो।

 

प्रकाशित: २१ पुष २०८० १५:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =