नेपाल-भारतबीच चार सहमति/सम्झौतामा हस्ताक्षर, भूकम्प पुनर्निर्माणमा १० अर्ब सहयोग

हिमाल प्रेस १९ पुष २०८० १६:५७
132
SHARES
नेपाल-भारतबीच चार सहमति/सम्झौतामा हस्ताक्षर, भूकम्प पुनर्निर्माणमा १० अर्ब सहयोग

काठमाडौँ-  नेपाल र भारत संयुक्त आयोगको सातौँ बैठक बिहीबार एक घण्टा पनि नबसी सकिएको छ। परराष्ट्रमन्त्री एनपी साउद र भारतीय समकक्षी एस जयशंकरले नेतृत्व गरेको बैठकमा द्विपक्षीय आर्थिक सम्बन्ध, सम्पर्क सञ्जाल, व्यापार तथा पारवहन, ऊर्जा तथा जलस्रोत, शिक्षा र संस्कृति तथा राजनीतिक विषयमा छलफल भएको छ।

याक एन्ड यती होटलमा भएको बैठकमा १० वर्षमा १० हजार मेगावाट बिजुली बिक्री र नेपालमा भारतीय परियोजना बढाउने विषयबाहेक अन्य विषयमा छलफल नभएको सरकारी अधिकारीहरूले जानकारी दिए। भारतले जाजरकोट भूकम्पको पुनर्स्थापनाका लागि १० अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ।

भारतीय परराष्ट्रमन्त्री जयशंकरले नेपालको विकासका लागि भारत सहयोगी भाव रहने भन्दै त्यो रकम घोषणा गरेका हुन्। नेपाल सरकारले यसलाई सम्झौताभन्दा पनि भारतीय सद्भावको घोषणाका रूपमा लिएको छ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले भने, ‘बैठकमा जलस्रोत, बाढी नियन्त्रणलगायत समग्र दुईपक्षीय विषयमा छलफल भएको छ भने चार सम्झौता/सहमति आदानप्रदान भएका छन्।’

आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली भारत निर्यात गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ। यसैगरी स्याटेलाइट प्रक्षेपणमा सम्झौता भएको जानकारी प्रवक्ता राईले दिए। उनका अनुसार नेपालले बनाएको स्याटेलाइट प्रक्षेपण गर्न सहयोग गर्न भारत सहमत भएको छ। साथै नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) मा सहयोग गर्ने सहमति भएको छ। राईका अनुसार नानो स्याटेलाइट प्रक्षेपणका लागि नास्ट र डिपार्टमेन्ट अफ स्पेस भारतबीच सम्झौता भएको हो।

यसैगरी मेजर क्रस बोर्डर ट्रान्समिसन लाइन उद्घाटन भएको छ। यसअन्तर्गत १३२ केभी, पर्वानीपुर-रक्सोल-कटैया-कुसाहा, मेनाहिया-नौतवा प्रसारण लाइन छन्। बिहीबार भएको सम्झौताअनुसार अब भारतीय दूतावासले एउटा साना परियोजनामा २० करोड रुपैयाँसम्म सोझै लगानी गर्न सक्नेछ। यसअघि लगानीको सीमा पाँच करोड रुपैयाँ थियो।

भारतीय परराष्ट्रमन्त्री जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेपछि बसेको आयोगको बैठक एक घण्टा ढिलो गरी सुरु भएको थियो।

परराष्ट्रमन्त्री एनपी साउदले द्विपक्षीय आर्थिक सम्बन्ध, कटेक्टिभिटी, व्यापार तथा पारवहन, उर्जा तथा जलस्रोत, शिक्षा र संस्कृति तथा राजनीतिक विषयमा छलफल भएको जानकारी दिए। उनले जयशंकरसँग द्विपक्षीय भेटवार्ता गर्न पाउँदा आफूलाई निकै खुसी लागेको उल्लेख गर्दै विषयगत क्षेत्रहरूअन्तर्गत नेपाल-भारत सम्बन्धका विभिन्न पक्षमा छलफल भएको बताए।

जयशंकर बिहीबार बिहान काठमाडौँ आएका हुन्। परराष्ट्रमन्त्री एनपी साउदले उनलाई त्रिभुवन विमानकै ढोकामा पुगेर स्वागत गरेका थिए। अन्य मुलुकमा आफ्ना समकक्षीलाई विमानस्थलको ढोकामा पुगेर होइन मन्त्रालय वा विमानस्थलको विशिष्ट कक्षमा स्वागत गर्ने चलन छ।

प्रकाशित: १९ पुष २०८० १६:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + five =