धार्मिक एकताको सन्देश : बौद्धगुरु लामाले गरे महायज्ञ उद्घाटन

हिमाल प्रेस १९ पुष २०८० १५:३६
200
SHARES
धार्मिक एकताको सन्देश : बौद्धगुरु लामाले गरे महायज्ञ उद्घाटन

लुम्बिनी- रूपन्देहीको तिलोत्तमामा धार्मिक सद्भावको सन्देश देखिएको छ। हिन्दु धर्मसँग सम्बन्धित श्रीमद्भागवत ज्ञान महायज्ञ एवम् शृंगारिक महाआरती कार्यक्रमको बौद्धदर्शनका गुरु एवम् लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) का तर्फबाट उद्घाटन गराएर धार्मिक सद्भावको सन्देश दिइएको हो।

पण्डित दीनबन्धु पोखरेल प्रमुख कथावाचक रहेको महायज्ञमा बौद्ध दर्शनका बारेमा देशविदेशमा प्रवचन दिने लामा प्रमुख अतिथि बनेर धार्मिक सद्भाव र नेपालीहरू एकताबद्ध रहेको सन्देश दिएका हुन्। कोटहीमाई मन्दिर प्रांगण तिलोत्तमा नगरपालिका वडा न. १७ पकडीहवामा आयोजित महायज्ञमा हिन्दु धर्मका अगुवाहरूको उपस्थिति थियो।

महायज्ञ उद्घाटन गर्दै कोषका उपाध्यक्ष डा. लामाले नेपाल धार्मिक सद्भाव र एकतामा लागि विश्वमै उदाहरणीय रहेको बताए। उनले तीन करोड नेपाली जनता एकआपसमा मिलेर अगाडि बढेको बताउँदै सबै धर्मका र सम्प्रदायबीच बलियो एकता रहेको बताए।

उनले हिन्दु धर्माम्बलम्बीहरू लुम्बिनी र स्वयम्भू सहज रूपमा जाने र बौद्धमार्गीहरू पशुपति जाने गरेको बताउँदै सद्भाव र सहकार्यमा नेपालीहरू एकताबद्ध रहेको बताए। ‘हिन्दुहरू सहज रूपमा लुम्बिनी र स्वयम्भू जानुहुन्छ, बौद्धमार्गीहरू पनि पशुपतिमा जानुहुन्छ’, उपाध्यक्ष लामाले भने। उनले नेपालको संस्कृति, सद्भाव र परम्परा एकआपसमा जोडिएको बताए। डा. लामाले बौद्धमार्गीको ध्यान र हिन्दुहरुको योग विश्वकै लागि नभइनहुने बनेको बताए।

कार्यक्रममा कथावाचक दीनबन्धु पोखरेलले नेपाल सामाजिक रूपमा एकताबद्ध र धार्मिक रूपमा समेत मिलेर बसेको समाज रहेको बताए। कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख जागेश्वरीदेवी चौधरी, वडाअध्यक्ष दानबहादुर चौधरी, चेतनारायण आचार्य, बालकृष्ण गैरैलगायतले महायज्ञ सफलताको शुभकामना दिएका थिए। बुधबार सुरु भएको महायज्ञ २४ गतेसम्म चल्नेछ। महायज्ञको उपवाचक प्रेम सुजन शास्त्री छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 9 =