१० औँ राष्ट्रिय खेलकुद सफल बनाउन सबैले हातेमालो गरौँ : सामाजिक विकासमन्त्री पोखरेल

हिमाल प्रेस १८ पुष २०८० १७:५८
24
SHARES
१० औँ राष्ट्रिय खेलकुद सफल बनाउन सबैले हातेमालो गरौँ : सामाजिक विकासमन्त्री पोखरेल

सुर्खेत- कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री खड्कबहादुर पोखरेलले कर्णाली प्रदेशमा हुने १०औँ राष्ट्रिय खेलकुद आयोजनालाई सफल बनाउन सबैले हातेमालो गर्नुपर्ने बताएका छन्। कर्णालीमा १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८१ सालको मंसिर २ गतेदेखि सञ्चालन हुँदैछ।

वीरेन्द्रनगरमा बुधबार खेलकुद पत्रकारितासम्बन्धी दुईदिने तालिमकाे उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले कर्णाली प्रदेशमा खेल मैदान निर्माणका कामहरू तीव्र गतिमा भइरहेको बताएका हुन्।

‘कर्णाली प्रदेशका १० वटा जिल्लामा कुन खेल कहाँ आयोजना गर्दा राम्रो हुन्छ त्यसबारे सरकारले गृहकार्य गरिरहेको छ। राष्ट्रिय खेलकुद आयोजनाका लागि आर्थिक अभाव भएकाले त्यसको जोहो गरिरहेका छौँ,’ मन्त्री पोखरेलले भने।

कार्यक्रममा खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वमित्र सञ्ज्यालले खेलकुदका साना समाचारले पनि ठूलो महत्त्व राख्ने बताए। १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समाचार सम्प्रेषणसँगै अन्य खेलकुदका गतिविधिलाई पनि मिडियामा प्राथमिकता पाउने अपेक्षा आफूले राखेको सञ्ज्यालले बताए।

सदस्य सचिव सञ्ज्यालले कर्णालीमा पत्रकारको क्षमता अभिवृद्धिका लागि तालिमको आयोजना भइराख्नुपर्ने पनि बताए।

यस्तै नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष देवीराम देवकोटाले खेलकुद क्षेत्रमा कलम चलाउने पत्रकारलाई प्रोत्साहनका लागि फेलासीपकाे योजना बनाएको बताए।

पवन आचार्य, प्रकाश तिमल्सिना, भानु अधिकारी र सुवाश हुमागाँईले खेलकुद पत्रकारिता तालिम दिएका छन्। उक्त तालिम कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशले आयोजना गरेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + fourteen =