राष्ट्रियसभामा गण्डकीबाट तीन सिटको लडाइँ

विजय नेपाल १८ पुष २०८० १४:२१
10
SHARES
राष्ट्रियसभामा गण्डकीबाट तीन सिटको लडाइँ पोखराको राष्ट्र बैंकचोकमा निर्वाचन अधिकृतको कार्यालय खुलेपछि सामूहिक तस्बिर खिचाउँदै कास्की जिल्ला अदालतका न्यायाधीश एवम् निर्वाचन अधिकृत केशवप्रसाद बास्तोला, कास्कीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, उपअनुसन्धान निर्देशकलगायत। तस्बिर : हिमाल प्रेस

पोखरा– राष्ट्रियसभा सदस्यको निर्वाचन-२०८० का लागि गण्डकी प्रदेशमा राजनीतिक दलहरू उम्मेदवार टुंगो लगाउने तयारीमा जुटेका छन्। आगामी माघ ११ मा हुने मतदानका लागि पुस २३ मा मनोनयन दर्ताको कार्यक्रम छ। मनोनयनको एक साताअघि गण्डकी प्रदेश राजधानी पोखरामा सोमबार निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ।

पोखराको राष्ट्र बैंकचोकस्थित साविकको प्रदेश निर्वाचन आयोगको कार्यालयमै निर्वाचन अधिकृतको कार्यालय खुलेको हो। मतदानस्थल पनि त्यहीँ तोकिएको छ। चुनावका लागि कास्की जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद बास्तोलालाई निर्वाचन अधिकृत तोकिएको छ। कार्यालय उद्घाटन कार्यक्रममा निर्वाचन अधिकृत बास्तोलासहित कास्कीका प्रमुख जिल्ला अधिकारी, कास्की प्रहरी प्रमुख, उपअनुसन्धान निर्देशकलगायतको उपस्थिति थियो।

यसपालि देशभर १९ सिटका लागि हुने राष्ट्रियसभा चुनावअन्तर्गत गण्डकी प्रदेशमा तीन सिट (महिला, अपांग र अन्य) खाली छ। गण्डकीबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभाका अध्यक्षसमेत रहेका नेकपा (एमाले) का गणेशप्रसाद तिमिल्सिना, एमालेकै दीपा गुरुङ र नेपाली कांग्रेसका प्रकाश पन्थको कार्यकाल आगामी फागुन २० मा सकिँदैछ।

निर्वाचन आयोग, पोखराका निमित्त कार्यालय प्रमुख रुद्रनाथ न्यौपानेले कार्यालय स्थापनासँगै अब मतदाता नामावली प्रकाशन, दाबी विरोध, अन्तिम नामावली प्रकाशन, उम्मेदवारको मनोनयनलगायतका लागि धमाधम काम हुने बताए। गण्डकीमा पुस २३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवार मनोनयनको समयतालिका तोकिएको छ। उम्मेदवारको अन्तिम नामावली पुस २७ गते प्रकाशन गरेर भोलिपल्ट उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ।

उनका अनुसार गण्डकीबाट कुल २ सय ३० जना मतदाता छन्। ६० सदस्यीय प्रदेशसभा (सदस्य) बाट ६० र ८५ पालिका (प्रमुख/उपप्रमुख) गरी १ सय ७० जना मतदाता हुन्। निर्वाचन आयोगले २०७८ को जनगणनाअनुसार प्रदेशसभाको सांसदको मतभार ५३ र पालिकाका प्रमुख/उपप्रमुखहरूको मतभार १९ तोकेको छ। यसअघि प्रदेशसभाको ४८ र पालिकाको मतभार १८ थियो।

यसरी गण्डकीमा दुवै तहका गरी जनप्रतिनिधिको कुल मतभार ६ हजार ४ सय १० हुन आउँछ। गण्डकीमा १ महानगरपालिका (पोखरा) सहित २६ नगरपालिका र ५८ गाउँपालिका छन्।

देशैभर यसपालि राष्ट्रियसभाका रिक्त १९ पदको निर्वाचन हुन लागेको हो। कोशीमा २, मधेशमा २, बागमतीमा ४, लुम्बिनीमा २, कर्णालीमा र सुदूरपश्चिममा ३/३ सिटमा चुनाव हुनेछ। तीमध्ये महिला ७, दलित २, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय ३ र अन्य ७ गरी १९ जना छन्। त्यसबाहेक १ जना राष्ट्रपतिबाट मनोनीत हुनेछन्। राष्ट्रियसभा निर्वाचन ऐन २०७५ बमोजिम पद रिक्त हुनुभन्दा ३५ दिनअघि निर्वाचन गर्नुपर्ने व्यवस्था छ।

निर्वाचनका लागि दलहरूले उम्मेदवार पनि टुंगो लगाउने अन्तिम तयारीमा छन्। सत्तारुढ दलहरूले साझा उम्मेदवार बनाएर जाने उद्घोष गरिसकेका छन्। केन्द्रमा दलहरूले के कति सिट पाउने भन्ने टुंगो नलागिसक्दा गण्डकीबाट कांग्रेसले मात्र तीन सिटका लागि १ सय ७५ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ।

ती नामावलीमा प्रदेश सभापति शुक्रराज शर्मादेखि कार्यसमिति सदस्य र प्रदेश प्रतिनिधिसम्मको छ। जसमा पोखरा महानगर उपमेयर चुनावमा पराजित कोपिला रानाभाट, प्रदेश महामन्त्री किरणबाबु श्रेष्ठ, पूर्वसभामुख तारानाथ रानाभाट, पूर्वमन्त्री यज्ञबहादुर थापा, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी, एमालेकी विद्या भट्टराईसँग उपचुनावमा पराजित खेमराज पौडेल, रवीन्द्र अधिकारीसँग प्रतिनिधिसभा सदस्य चुनावमा पराजित देवराज चालिसे, पूर्वसभासद् शारदा पौडेल, पोखरा ८ को वडाध्यक्ष पराजित शारदा गिरी र पोखरा १ को वडाध्यक्ष पराजित सीता गुरुङलगायतको नाम सिफारिस गरिएको छ। अपांगता कोटाबाट पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई पनि सिफारिस गरी केन्द्रमा नाम पठाइएको छ।

नेकपा (एमाले) ले प्रत्येक सिटमा ३/३ जनाको नाम सिफारिस गरेर केन्द्रमा पठाउने तयारी गरेको छ। एमाले गण्डकी अध्यक्ष नवराज शर्माले आफूहरू छलफलमै रहेको र भोलि (बुधबार) सम्म नाम सिफारिस गर्ने बताए। अर्को दल माओवादी केन्द्र गण्डकी अध्यक्ष गायत्री गुरुङले नाम अझै नटुंगिसकेको बताइन्। उनले भनिन्, ‘केन्द्रीय कमिटीको निर्देशनअनुरूप ३/३ जनाको नाम सिफारिस गरेर पठाउनेछौँ। हेरौँ गठबन्धनमा के कसो हुन्छ?’

त्यसो त गण्डकीमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस एक्लै लडे पनि चुनाव सजिलै आफ्नो पक्षमा पार्न सक्छ। किनकि प्रदेशसभातर्फ २७ र पालिकातर्फ ६७ जना गरी कुल मतभार २ हजार ७ सय ४ मतभार हुन आउँछ। यस्तै अर्को ठूलो दल नेकपा (एमाले) को प्रदेशसभामा २२ सिटको प्रतिनिधित्व छ। उसको मतभार यहाँ १ हजार १ सय ६६ र पालिकातर्फ ६८ को मतभार १ हजार २ सय ९२ गरी कुल मतभार २ हजार ४ सय ५८ हुन आउँछ।

संसद्‌मा सत्तारुढ दल नेकपा माओवादी केन्द्रको ८ सिट र पालिकातर्फ ३० गरी कुल मतभार ९ सय ९४ छ भने राष्ट्रिय जनमोर्चाको ३ को ५७ मतभार छ। उसको संसद्‌मा उपस्थिति छैन। संसद्‌मा एकीकृत समाजवादीका राजीव गुरुङ (दीपक मनाङे) र पालिकातर्फ पोखरा महानगरपालिका प्रमुख १ गरी उसको मतभार ७२ मात्र छ। संसद्‌मा २ सिट जितेको राप्रपाको १ सय ६ छ भने मनाङको निस्याङ गाउँपालिका उपाध्यक्ष जितेका छिरिङ गुरुङ स्वतन्त्र हुन्।

नेपाली कांग्रेस नेतृत्वको गण्डकी सरकारमा माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको गठबन्धन छ। चुनावमा एमाले र राप्रपा गठबन्धन भए कुल मतभार २ हजार ५ सय ४५ हुन्छ। जबकि कांग्रेस एक्लैको कुल मतभार २ हजार ७ सय ४ हुन्छ। अघिल्लो चुनावमा झैँ कांग्रेस, माओवादीलगायत दलको गठबन्धन भए एमालेले पहिलेका दुईवटै सिट गुमाउनेछ।

प्रकाशित: १८ पुष २०८० १४:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 10 =