पोखरामा दुई सातासम्म रोकिएको प्याराग्लाइडिङ आजदेखि सुरु

हिमाल प्रेस १५ पुष २०८० १४:५२
6
SHARES
पोखरामा दुई सातासम्म रोकिएको प्याराग्लाइडिङ आजदेखि सुरु

पोखरा- पोखरामा दुई सातादेखि रोकिएको प्याराग्लाइडिङ आइतबारदेखि पुनः सञ्चालनमा आएको छ। बिहान ११ बजेदेखि पोखरा १८, मान्द्रेढुंगाबाट उडान सुरु भएको नेपाल हवाई खेलकुद संस्था (ना) अध्यक्ष सुनिलबहादुर भट्टराईले जानकारी दिए।

उनका अनुसार पोखराको प्याराग्लाइडिङ २ सातादेखि बन्द रहेकोमा नाको पहलमा नेपाल नागरिक उड्डयन प्राधिकरण र व्यवसायीहरुबीच सहमति जुटेसँगै उडान सुरु भएको हो। गत पुस १३ मा भएको छलफलमा उडान सुरक्षालाई उच्च प्राथमिकता दिई ‘फस्ट कम, फस्ट सर्भिसेज’ आधारमा उडान गर्ने सहमति जुटेको हो।

यस्तै, प्राधिकरणबाट प्रदान गरिएको आधिकारिक एजेन्सी प्रमाणपत्रमा तोकिएको अधिकार क्षेत्रभित्र रही सुरक्षितरुपमा स्लट र सेड्युल व्यवस्थापनमा मान्द्रेढुंगा क्षेत्रबाट उडान सुचारु गर्न सकिने सहमति भएको भट्टराईले बताए।

सहमतिपछि नाले कम्पनीहरुलाई अबदेखि उडान सुरु गर्न शनिबार सूचना सर्कुलर गरेको थियो। जसअनुसार आइतबारदेखि पुरानै अवस्थामा उडान सुरु भएको हो। व्यवसायीको आन्तरिक विवादका कारण प्राधिकरणले हवाई सुरक्षाको कारण देखाउँदै गत २९ मंसिरदेखि प्याराग्लाइडिङ उडान रोकेको थियो।

प्याराग्लाइडिङ कम्पनीले आफैं उडाउन पाउने र त्यसको दररेट पनि आफ्नै हिसाबले लिन पाउनुपर्ने माग गर्दै आएकोमा उत्पन्न विवाद साम्य नहुँदा प्राधिकरणले सुरक्षाको कारण देखाउँदै उडान रोकेको थियो।

नाले यसअघि प्रतिउडान १२ हजारसम्म शुल्क असुल गर्दै आएकोमा अबदेखि फस्ट कम फस्ट सर्भिसेज आधारमा कम्पनीले आफूखुसी रकम लिन पाउने छन्। आजभन्दा करिब २५ वर्षअघि पोखरामा प्याराग्लाइडिङ सुरु भएको हो। पोखरामा हालसम्म ६२ प्याराग्लाइडिङ कम्पनी दर्ता भएकोमा ५२ सञ्चालित छन्। अंग्रेजी नयाँ वर्ष अवसरमा उडान पुरानै लयमा फर्किएपछि यहाँको पर्यटनमा टेवा मिल्ने पर्यटन व्यवसायीको अपेक्षा छ।

प्रकाशित: १५ पुष २०८० १४:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − three =