चिसो बढेपछि बाँकेको जनजीवन प्रभावित

हिमाल प्रेस १४ पुष २०८० १७:३४
8
SHARES
चिसो बढेपछि बाँकेको जनजीवन प्रभावित फाइल तस्बिर

बाँके- दुई दिनदेखि लगातार चिसो बढेपछि बाँकेको जनजीवन प्रभावित भएको छ। नेपालगन्ज, कोहलपुर, खजुरा, नरैनापुरलगायत क्षेत्रमा चिसोले जनजीवन कष्टकर बनेका हो। बिहानैदेखि बाक्लो हुस्सु लागेको छ।

चिसोले बजार तथा सहरी क्षेत्रमा चहलपहल घटेको छ भने सडकमा सवारीसाधन कम चलेका छन्। नेपालगन्जमा हरेक दिन बिहान दुई घण्टा शीतलहर चल्न थालेको छ।

‘बिहानैदेखिको हुस्सुले अत्यधिक चिसो भएको छ,’ नेपालगन्जका स्थानीय रामसुहावन यादवले भने, ‘निरन्तरको चिसोले गर्दा घरभन्दा बाहिर निस्किने सकिएको छैन।’

यहाँका मान्छेहरू अत्यावश्यक काममा बाहेक अरू अवस्थामा बाहिर निस्केका छैनन्। अत्यधिक चिसोले गर्दा दैनिक ज्यालादारी काम गर्नेहरू बढी मारमा परेका छन्।

उनीहरू काममा जान पाएका छैनन्। चिसोले गर्दा काममा जान नपाएको बाँके डुडुवा गाउँपलिका–४ का मजदुर रामदिन गोडियाले भने,‘काम नगर्दा परिवार चलाउन मुस्किल पर्छ, केही दिन यस्तै चिसो रह्यो भने समस्या हुने देखिन्छ।’

दैनिक ज्यालादारी काम गर्न पहाड तथा भारतीय सीमावर्ती क्षेत्रबाट तराईका जिल्लामा सर्वसाधारण भर्ने गर्छन्। दिनभरि एकपटक पनि घाम नलाग्दा काममा जान सक्ने अवस्था नभएको अर्का मजदुर बालकराम गोडियाले बताए।

आगो बालेर यहाँका नागरिकले चिसो भगाउने प्रयास गरेका छन्। ‘घरभन्दा बाहिर जान सक्ने अवस्था भएन,’ उनले भने,‘त्यसैले घरमा आगो तापेर बसेको छु।’

चिसोले बिहान आवतजावत गर्ने विशेषगरी विद्यार्थी, मजदुर, बालबालिका, गरिब, असहाय, ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन्। चिसोकै कारण दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायत रोगका बिरामी बढेका छन्।

भेरी अस्पतालमा बालबालिका, वृद्धवृद्धा, मुटु, मिर्गौला, फोक्सो, मधुमेह तथा अन्य दीर्घरोगी चिसोले बढेको अस्पतालका फिजिसियन डा.संकेत रिसालले बताए।

प्रकाशित: १४ पुष २०८० १७:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 17 =