देश छाड्न खोजेका युवालाई सरकारले गर्‍यो संसारबाटै बिदा

हिमाल प्रेस १३ पुष २०८० २१:३८
146
SHARES
देश छाड्न खोजेका युवालाई सरकारले गर्‍यो संसारबाटै बिदा ललितपुरको बालकुमारीमा शुक्रबार भागभाग गर्दै आन्दोलनकारी। तस्बिर : रासस

काठमाडौँ- दैलेखको महाबु गाउँपालिका-६ रानीवनका २३ वर्षीय सुजन राउत एक महिनाअघि काठमाडौँ आएका थिए। सिभिल ओभरसियरको तीनबर्से पढाइ सकेपछि गाउँमा काम पाएनन्। पिताको केही समयअघि निधन भएकाले परिवारको सबै जिम्मेवारी उनीमाथि थियो। गाउँतिर जागिर पनि पाएनन्। अनि कोरियन भाषा पढ्न राजधानी लागे।

‘भाषा परीक्षा पास गरेर कोरिया जान्छु भनेर निस्किएका भान्जा अब कहिल्यै नफर्कने भए’, मामा यमराज कटुवालले भने। सुजनको शुक्रबार ललितपुरको बालकुमारीमा प्रहरीसँग भएको झडपमा मृत्यु भएको हो।

कटुवालका अनुसार सुजन बालकुमारी क्षेत्रमा हिँड्दै थिए। सोही क्रममा प्रहरीले पक्राउ गरेर बन्दुकको कुन्दाले हिर्काएको आरोप कटुवालको छ। उनले भने, ‘प्रहरीले पक्राउ गरेपछि हतकडी लगाउनुको सट्टा उल्टै हिर्काएछन्।’ सरकारले युवालाई स्वदेशमा रोजगारी दिनुको सट्टा उल्टै ज्यान लिएको गुनासो उनको छ। प्रहरीले भने भागदौडमा घाइते भएर राउतको निधन भएको दाबी गरेको छ।

 राउतको किस्ट अस्पतालमा मृत्यु भएको थियो। किस्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिश पाठकले भने, ‘अस्पताल ल्याउँदा सुजन अचेत थिए। छातीमा नीलडाम थियो।’ शुक्रबार दिउँसो १२ः४० मा अस्पताल ल्याइपुर्‍याएको सुजनलाई १ः१७ मा मृत घोषणा गरिएको पाठले बताए।

बालकुमारी घटनामा मारिने अर्का युवक हुन् अछामको चौरपाटी गाउँपालिका-१ सिउँडीका २२ वर्षीय वीरेन्द्र शाह। उनी पनि कोरियन भाषा पढेर परीक्षा दिने तयारीमा थिए। सोही क्रममा उनी काठमाडौँ आएका थिए।

शाहको पारिवारिक अवस्था निकै कमजोर रहेको चौरपाटी गाउँपालिका-१ वडाध्यक्ष वीरबहादुर थापाले बताए। उनले भने, ‘परिवारको आर्थिक अवस्था निकै कमजोर छ। कोरियन भाषा पढ्छु भनेर काठमाडौँ गएका थिए। आज यस्तो सुन्नुपर्‍यो।’

झडपमा प्रहरीको गोली लागेर घाइते भएका शाहको उपचारका क्रममा पाटन अस्पतालमा निधन भएको ललितपुर प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर ललितपुरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘वीरेन्द्र शाहलाई गोली लागेर घाइते भई औषधि उपचारका लागि पाटन अस्पताल लगेकोमा निजको उपचारका क्रममा मुत्यु भएको छ।’

ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले मृत्यु भएका दुईमध्ये एक जनालाई गोली लागेको र अर्का एक जनाको छातीमा दाग देखिएको बताए। उनले शव परीक्षणपछि मात्र मृत्युको वास्तविक कारण थाहा हुने बताएका छन्।

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका विद्यार्थीले शुक्रबार बिहान भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढेको बा २ झ ५८६१ नम्बरको गाडीमा बालकुमारी क्षेत्रमा आगजनी गरेका थिए। यसअघि भएको पानी सिप बिल्डिङ (जहाज निर्माण) को ईपीएस भाषा परीक्षामा सहभागी भएकाहरूले उत्पादन क्षेत्रका लागि खुलेको परीक्षामा भाग लिन नपाउने भएपछि उनीहरू आन्दोलनमा उत्रिएका थिए।

प्रदर्शनकारी  युवा फेरि परीक्षामा सहभागी हुन पाउनुपर्ने माग राख्दै शुक्रबार बिहानैदेखि ईपीएसको कार्यालय आसपासमा भेला भएका थिए। सोही क्रममा उनीहरूले मन्त्री ज्वाला चढेको गाडी रोकेर उनलाई समेत ओरालेर आगजनी गरेका थिए। त्यतिन्जेल प्रहरीले पनि कुनै कारबाही गरेको थिएन।

युवाले गाडीको हावा खोलेर आगो लगाइएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली चलाएको महानगरीय प्रहरी परिसर ललितपुरका वरिष्ठ उपरीक्षक सिद्धिविक्रम शाहले बताए। मृत्यु हुने दुवै युवा आन्दोलनकारीले उठाएको माग पूरा गराउने हिसाबले भन्दा पनि दर्शकका रूपमा त्यहाँ पुगेको उनीहरूका आफन्तजनले बताएका छन्। उनीहरू पहिलोपटक परीक्षा दिने तयारीमा थिए।

७३ जना पक्राउ, सुरक्षाकर्मीसहित सात घाइते

बालकुमारीमा भएको घटनामा प्रहरीले ७३ जनालाई पक्राउ गरेको छ। घटनामा सात जना घाइते भएका छन्। स्थानीय प्रशासनका अनुसार घाइतेमध्ये ४ जना सशस्त्र प्रहरी र तीन जना प्रदर्शनकारी छन्।

ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले भने, ‘उक्त घटनामा अहिलेसम्म एक महिलासहित ७३ जनालाई पक्राउ गरिएको छ। प्रहरीसहित सात जना घाइते भएका छन्।’

घटनाको सर्वत्र निन्दा

दुई युवाको ज्यान जाने गरी बालकुमारीमा भएको घटनाको राजनीतिक दल, मानवअधिकारकर्मी, नागरिक समाजलगायतले विरोध गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समस्या समाधानमा अनुत्तरदायी रहने र आफ्नो कमजोरी लुकाउन बल प्रयोग गर्ने सरकारको शैली निन्दनीय रहेको टिप्पणी गरेका छन्।

उनले भनेका छन्, ‘घटनाको तत्काल छानबि गरी दोषीलाई काबाही गर। ज्यान गुमाउने युवाप्रति भावपूर्ण श्रद्धाञ्जली र परिवारजनमा गहिरो समवेदना। अब यस्तो कहिलै नहोस्।’ एमाले प्रचार तथा प्रकाश विभाग प्रमुख राजेन्द्र गौतमले विज्ञप्ति जारी गर्दै घटनाको घाइतेहरूको उपचारको माग गरेका छन्। साथै पक्राउ परेकाहरूलाई रिहा गर्नं माग गर्दै आन्दोलनकारीका माग पूरा गर्नसमेत माग गरेका छन्।

सत्ता साझेदार दल कांग्रेसले दुई जना मारिएको घटनाका सम्बन्धमा छानबिन गर्न  सरकारसँग माग गरेको छ। कांग्रेसका प्रवक्ता मीनबहादुर विश्वकर्माले विज्ञप्ति जारी गर्दै मन्त्री सवार गाडीमा आगजनी हुनु, प्रदर्शनकारीलाई नियन्त्रणमा लिने क्रममा मृत्यु हुनु र केही व्यक्ति घाइते भएको घटनाप्रति कांग्रेस ध्यानाकृष्ट भएको भन्दै छानबिन गर्न माग गरेका हुन्।

‘घटनाको सत्यतथ्य अध्ययन गरी यथार्थ छानबिन गर्नुका साथै घटनामा घाइते भएकाहरुको उचित उपचार गर्न र प्रदर्शनकारीले उठाएको विषयमा गम्भीर बन्न नेपाल सरकारसँग नेपाली कांग्रेस माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रहरीले गोली चलाएर ललितपुरको बालकुमारीमा दुई युवाको ज्यान जानु अत्यन्त दुःखद र खेदजनक रहेको भन्दै आपत्ति जनाएका छन्। उनले भनेका छन्, ‘बेरोजगार युवाहरूको आक्रोशलाई दमनले हैन संयम र संवादले हल गर्नुपर्छ भन्ने चेत सत्तामा पुग्नेबित्तिकै हराउनु झन् आपत्तिजनक छ।’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले बालकुमारीमा भएको घटनाले गृह मन्त्रालयको अक्षमता फेरि एकपटक उदांगो भएको टिप्पणी गरेका छन्। उनले भनेका छन्, ‘दुई होनहार युवा देश छाड्न खोज्दै थिए, संसार छाड्नुपर्ने बनाइदिए। यो राज्यले गरेको हत्या हो, जुन राज्यका गृहमन्त्री सर्वहारा वर्गको नारा लगाउँदै त्यो पदमा पुगेका हुन्। आज भएको घटनाको दोष अहिलेका सत्तामा भएका सबैले लिनुपर्छ।’

उनले रोजगारीका लागि कोरिया जान भाषा परीक्षा दिन पाउने कि नपाउने भन्ने सामान्य ‘प्राविधिक’ विषयको विवाद बढेर ती दुई नेपालीले ज्यानै गुमाउनुपर्ने स्थिति देख्दा आफू मर्माहत भएको उल्लेख गरेका छन्।

छानबिन समिति गठन

ईपीएस परीक्षा दिन नपाएका युवाको प्रदर्शन, झडप र दुई जनाको मृत्युको घटनाको छानबिन गर्न गृह मन्त्रालयले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डीआईजी) लालमणि आचार्यको नेतृत्वमा बनाइएको समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक वासु सिग्देल सदस्य छन्।

समितिलाई सात दिनभित्र सत्यतथ्य छानबिन गरी प्रतिवेदन बुझाउने गरी जिम्मेवारी दिइएको गृह मन्त्रालयले जनाएको छ।

प्रकाशित: १३ पुष २०८० २१:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 3 =