कैलालीका जीवनराज ठकुरी यूएईमा सुरक्षा गार्डमा कार्यरत थिए। कमाइ राम्रै थियो। उनलाई धेरै कमाउने चाहना बढ्यो। सुरक्षा गार्डमा कार्यरत १०-१५ जना नेपाली रुसी सेनामा भर्ती भएको थाहा पाएपछि उनलाई पनि त्यता जाऔँ जाऔँ लाग्यो।
सात लाख नेपाली रुपैयाँ खर्च गरी रुस पुगे। त्यहाँको सेनामा भर्ना भए। दुई साता तालिम लिएपछि उनी युक्रेनसँगको युद्धमा होमिए। दुई महिनासम्म लडेपछि उनले निकै सास्ती पाए। शरीरभरि चोट लाग्यो। हिउँको असरले छाला कालो हुन थाल्यो। त्यसपछि उनी भागेर नेपाल फर्किएको बताउँछन्। हाल उनी उपचार गर्दैछन्।
पाँच वर्षदेखि यूएईमा सुरक्षा गार्डमा कार्यरत ठाकुरीको भिसाको म्याद ६ महिना बाँकी छ। उनी यूएईको कम्पनीबाट बिदा मागेर रुस पुगेका थिए। काठमाडौँको अनामनगरमा भेटिएका उनले आफ्नो तस्बिर सार्वजनिक नगरिदिन आग्रह गरे। यूएईबाट रुस पुगेर उनी कसरी फर्कन सफल भए त? ठकुरीकै शब्दमा :
यूएईमा भारतीय र नेपालीले सञ्चालन गरेका धेरै कन्सल्टेन्सी कम्पनी छन्। ती कन्सल्टेन्सीले नेपालीसँग १० देखि १५ हजार दिराम यूएईको पैसा लिएर रुसी सेनामा पठाउँछन्। ४५ वर्षमुनिको ५ फिट २ इन्च उचाइ र ५० केजी तौल भएका नेपाली रुसी सेनामा सहजै छानिँदै रहेछन्।
रुसी सेनामा लैजान केही रुसी नागरिक पनि आउँछन्। सेनामा भर्ती हुने व्यक्तिलाई उनीहरूले भिडियो कलमा एकपटक रुसी सेनाका केही तालिम दिने व्यक्तिलाई देखाउँछन्।
उताबाट सहमत भएपछि यूएईमा रहेका एजेन्ट र कन्सल्टेन्सीले पैसा लिन्छन्। त्यसपछि हातमा टिकट दिएर पठाउँछन्। रुसी सेनामा भर्ती हुन जाने व्यक्ति प्राय: यूएईबाट रातिको उडानमा जान्छन्।
रुस पुगेका विदेशी नागरिकलाई जाहाजबाट ओर्लिनेबित्तिकै बसमा हालेर सीधै तालिम केन्द्रमा पुर्याइन्छ। मलाई त विमानस्थल कस्तो थियो भनेर राम्ररी केही थाहा भएन। बसबाट पनि बाहिर देखिँदैनथ्यो।
रुसी सेनामा भर्ती भएका विदेशी नागरिकलाई एक साता हतियार मात्र चलाउन सिकाइँदो रहेछ। मैले अर्को एक साता गोली भर्न, दौडिन, बमबाट तर्किन र लोकेसनका बारेमा तालिम लिएँ। त्यसपछि लगातार दुई दिन गोली हान्न सिकाए। अनि युद्धस्थलमा पुर्याए।
तालिम लिएका व्यक्तिलाई पनि अँध्यारो बसमा हालेर रुसी सेनाले नै युद्धस्थलमा लगेका थिए। ४० जनाको एउटा समूह हुन्छ। समूहमा १० देखि १५ जना रुसी सेना हुन्छन् भने अरू विदेशी नागरिक हुन्छन्। क्याम्पभित्र एउटा ४०, अर्को ६० र ९० जनाको गरी तीन चरणमा आर्मी तैनाथ हुँदा रहेछन्।
पहिलो घेरामा १४ जना विदेशीलाई कमान्ड गर्ने एक जना रुसी सेना खटिएका हुन्छन्। तिनले १४ जनाको पछाडि बसेर सबैलाई इसारा गरेर अगाडि बढाए। शत्रुलाई कसरी आक्रमण गर्ने र बच्ने भनेर लोकेसन सिकाए। युद्धमा खटिएका विदेशी नगारिकलाई प्राय: सेन्टरमा राखिन्छ। आक्रमण भएको खण्डमा उनीहरू नै पहिला निसानामा पर्छन्।
म रुसी सेनामा भर्ती भएको १७ दिनमै युद्धस्थलमा पुगेको थिएँ। मलाई १५ दिन तालिम गराएपछि युद्धको क्याम्पमा लगिएको थियो। सुरुमा मैले हिउँ पगाल्ने जिम्मेवारी पाएँ। कुन ठाउँ हो थाहा भएन। माइनस १० डिग्री तापक्रम भएर पानी जमेको हुन्थ्यो। हामी पाँच जनाको समूहको हिउँ पगालेर पानी संकलन गर्ने जिम्मेवारी थियो। खानेबस्ने टुंगो थिएन। म बसेको क्षेत्र युक्रेनमै पर्थ्यो। त्यहाँबाट रुस पुग्न २ घन्टा लाग्छ भन्थे।
२० दिनअगाडिको कुरा हो, युक्रेनी सेनाले हामी बसेको क्याम्पमाथि एउटा रकेटजस्तो उडायो। त्यसपछि क्याम्पमा रहेका सबै आर्मीलाई युद्धको नियमअनुसार तैनाथ गरियो। राति १२ बजेतिर क्याम्प नजिकै युक्रेनी सेनाले बम पड्कायो।
मसँग अन्य ७ जना नेपाली थिए। सबै जना आत्तिएका थियौँ। अब कहाँ जाने र के गर्ने भन्ने अन्योल थियो। बम पड्काएको ४ घण्टापछि क्याम्प नजिकै आगोको झिल्को जस्तो खसेर पड्कियो। अनि बम र गोली अरू केके हो पड्किन थाले।
रुसी सेनाले पनि जवाफी कारबाही सुरु गर्यो। आकाशमा लडाकु हेलिकप्टर उड्न थालेपछि सबै जना क्याम्पबाहिर निस्किएर फायरिङ सुरु गर्यौँ।
करिब ३ घण्टा बम, गोली र रकेटमार्फत भिडन्त भएपछि को कहाँ छ भन्ने थाहा भएन। मसहित दुई नेपाली र तीन रुसी सेना हिउँको खल्टोमा फसेका थियौँ। अनेक प्रयास गरेपछि नेपाली साथी र म बाहिर निस्किन सफल भयौँ। तीनै जना रुसी सेना पनि हामी सँगै आए। अनि हामी त्यहाँबाट भाग्न थाल्यौँ।
आधा घण्टाजति हिउँमा चिप्लेटी खेलेर तल पुग्यौँ। माथि हेर्दा हिउँमा धुवाँजस्तो निस्किएको थियो। कति साथीहरू चिच्याइरहेका थिए। हामी बसेको क्याम्प नजिकै बम र हेलिकप्टरबाट आक्रमण भइरहेको थियो। कति साथी ढले थाहा भएन। हामी पाँच जना भने बाटो खोज्दै सुरक्षित स्थलतर्फ लम्कियौँ। २ घण्टा निरन्तर हिँडेपछि एउटा रुखको फेदमा केहीबेर आराम गर्यौँ। हामी निकै त्रासमा थियौँ। त्यसैले हिउँभित्रै लुक्यौँ।
करिब ४ घण्टा हिउँमा लुकेपछि सबै जना बाटो खोज्दै रुस जाने राजमार्गमा पुग्यौँ। गाडी खोज्न थाल्यौँ। त्यहाँ पनि रुसी प्रहरीबाट बचेर भाग्नुपर्थ्यो। युक्रेनको भूभाग भए पनि रुसी सेनाको कब्जामा थियो। म त्यहाँबाट गाडी चढेर उत्तरी रुस पुगेर फेरि दुई दिन लुकेपछि मात्र नेपालीहरूको सम्पर्कमा पुगेँ। त्यसपछि रुसमा रहेको नेपालीको सहयोगमा भारत हुँदै नेपाल फर्किन सफल भएको हुँ।
रुसबाट नेपाल फर्किन करिब ५ लाख नेपाली पैसा खर्च भयो। अहिले रुसमा भाग्दा हिउँले डराएको उपचार गरिरहेको छु। दुई महिना उपचार गरेपछि फेरि पुरानै रोजगारीमा जाने योजना छ। हेरौँ के हुन्छ।
[ठकुरीसँग रमेश भारतीले गरेको कुराकानीमा आधारित]