रविले पार गरे ११३ किमि पैदल यात्रा

भन्छन् : यो दबाब हो, निर्माण नसकुन्जेल जारी रहन्छ

विनोद परियार १२ पुष २०८० ९:०३
28
SHARES
रविले पार गरे ११३ किमि पैदल यात्रा

लुम्बिनी- पूर्व-पश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडक छिटो बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुरु गरेको दबाब यात्रा बुटवलमा समापन भएको छ। रास्वपाका सभापति रवि लामिछानेले बुधबार साँझ बुटवल आएर सडक ढोगेर दबाब यात्रा समापन गरेका हुन्। ११३ किलोमिटरको दुरी हिँड्दै निर्माणाधीन सडक सम्पन्न गर्नका लागि रास्वपाले सरकार, निर्माण कम्पनी र सम्बन्धित पक्षलाई खबरदारी गरेको हो।

पदयात्रा गत सोमबार चितवनको नारायणगढ पुल्चोकबाट सुरु भएको थियो। उनलाई दबाब यात्राभर कार्यकर्ता र सर्वसाधारणले साथ दिएका थिए। यात्राको बिट मार्दै लामिछानेले यात्रुले पाएको दुःख र पीडालाई आफूहरूले ३ दिनको अवधिमा महसुस गरेको सुनाए। उनले अब यसको खबरदारी निरन्तर हुने प्रतिबद्धता जनाए।

‘यो हाम्रो पुस्ता र युगलाई गरिएको अपराध हो, जनतालाई धुलो खुवाउनेलाई जनताले धुलो चटाउँछन्’, लामिछानेले भने, ‘हाम्रो पुस्ता धुलाले हैरान भयो, त्यसैले दबाबका लागि यात्रा थालिएको, अब यो यात्रा रोकिन्‍न।’

सभापति लामिछानेले रास्वपाले मिसन ८० अन्तर्गत ठूला आयोजनाहरूको खबरदारी सुरु गर्ने घोषणासमेत गरे। ‘एसीमा बसेर जनतालाई धुलो खुवाउन पाइँदैन। रास्वपाले संसद र सडक सबैक्षेत्रबाट जनताको काम गरिहेको छ। अब जनतालाई धुलो खुवाउनेहरूलाई ठेगान लगाइन्छ,’ उनले भने।

जमिनलाई ढोगेर पैदल यात्रा समापन पर्दै रास्वपा सभापति लामिछाने। तस्बिर : विनोद परियार

उनले मिसन-८० को कामअन्तर्गत नारायणगढ बुटवल सडकखण्डको यात्रा गरेको बताउँदै आफूहरू मिसन ८४ भनेर नबसेको स्पष्ट पारे। ११३ किमिको दबाब यात्रामा लामिछानेसँगै सांसद निशा डागी, मनीष झा, हरि ढकाल, नेताहरू शिव नेपालीलगायत सहभागी भएका थिए। नारायणगढ-बुटवल सडकखण्डको ११४ किमि सडक २०७५ चैत ८ गते ४२ महिनामा सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो। तर पाँच वर्ष पुग्नै लाग्दासमेत सडकको कामले गती लिन सकेको छैन।

११४ किलोमिटरको यो सडक खण्ड पार गर्न ६ देखि ८ घण्टा लाग्छ। बुटवलबाट काठमाडौँ पुग्ने समयमा बुटवलदेखि नारायणगढ पुग्नै सकस हुने गरेको हो। यात्रुले मात्रै होइन सबैभन्दा बढी मर्कामा यातायात व्यवसायी परेका छन्। केही दिनअघि भौतिक तथा यातायातमन्त्री प्रकाश ज्वालाले बुटवलदेखि नारायणगढसम्मको सडक अनुगमन गरेका थिए। नारायणगढ बुटवल खण्डको पश्चिममा ३९ र पूर्वी खण्डमा ४४ प्रतिशत भौतिक प्रगति भएको निर्माण कम्पनीको दाबी छ।

प्रकाशित: १२ पुष २०८० ९:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =