इटहरीमा कर वृद्धिको विवाद चुलिँदै, मेयरले हठात् नगरसभा बैठक स्थगित गरेपछि एमालेको आपत्ति

विवेक विवश रेग्मी ११ पुष २०८० २१:३३
206
SHARES
इटहरीमा कर वृद्धिको विवाद चुलिँदै, मेयरले हठात् नगरसभा बैठक स्थगित गरेपछि एमालेको आपत्ति

इटहरी- इटहरीमा कर वृद्धिको विवाद चुलिँदै गएको छ। बुधबार दिउँसो १ बजे तोकिएको १४ औँ नगरसभा बैठक विशेष कारणवश अनिश्चितकालका लागि स्थगित भएसँगै थप विवाद चुलिएको हो।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताद्वारा जारी सूचनामा भनिएको छ, ‘गाउँ सभा, नगर सभा सञ्चालन कार्यविधि ऐन, २०७५ को दफा ६१ को उपदफा ४ बमोजिम अर्को सूचना वा जारी नभएसम्मका लागि स्थागित गरिएको व्यहोरा आदेशानुसार अनुरोध छ।’

नगरसभा बैठक स्थगित भएपछि नेकपा एमालेले आपत्ति जनाएको छ। बुधबार साँझ पत्रकार सम्मेलन गरी एमाले इटहरी नगर कमिटीले आपत्ति जनाएको हो। नगरसभाको बैठक एकतर्फी र हठात् ढंगबाट स्थगित भएकोमा गम्भीर ध्यानाकर्षण भएको एमाले इटहरीका कार्यवाहक अध्यक्ष रुपेश बस्नेतले बताए।

मेयर हेमकर्ण पौडेलले हठात् ढंगबाट नगरसभा एकतर्फी किसिमले स्थगित गरेको भन्दै नगर सरकार ‘असक्षम’ रहेको उनको आरोप छ। आर्थिक वर्ष २०८०/०८१ को नगर सभाबाट पारित आर्थिक ऐन २०८० ले व्यवस्था गरेको कर तथा राजस्वका दरमा विवाद आएपछि इटहरी-३ का वडाध्यक्ष उमेश सुवेदीको संयोजकत्वमा कार्यदल गठन भएको थियो।

गत साउन २६ गतेको १३३ औँ कार्यपालिका बैठकको निर्णयले सुवेदीलाई कर समायोजन समितिको संयोजक बनाउने निर्णय गरेको थियो। यही विषयमा गत पुस ४ गते सम्पन्न १३६ औँ कार्यपालिका बैठकले सुवेदीले बुझाएको प्रतिवेदन हुबहु पारित गर्ने सहमति भएको थियो।

अस्वाभाविक र अवैज्ञानिक ढंगले बढाएको कर समायोजन गर्ने भनिए पनि नगरसभा बैठक नै नगरसभा सदस्यलाई थाहै नदिइ स्थगित गरेपछि एमाले शंसकित बनेको छ। कर समायोजन तथा पुनरावलोकन गर्नका लागि विगत ६ महिनादेखि गरिएको सबैको सामूहिक प्रयासलाई सफल बनाउने नगरसभा बैठक अन्तिम क्षणमा स्थगित हुनु नियोजित र दुर्भाग्यपूर्ण भएको विज्ञप्तिमा उल्लेख छ।

‘इटहरीको समृद्धि, विकास तथा सरकार सञ्चालनका क्रममा उत्पन्न समस्याहरू समाधानका निमित्त संवाद, सहमति र सहकार्य गर्ने नेकपा एमालेको प्रतिबद्धतालाई कमजोरीको रूपमा नलिन इटहरी नगर सरकारका प्रमुखलाई सचेत गराउन चाहान्छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘अस्वाभाविक र अवैज्ञानिक ढंगबाट वृद्धि गरिएको कर/राजस्वको दर समायोजन गर्नको लागि स्थगित गरिएको १४ औँ नगरसभाको बैठक तुरुन्त बोलाई आम नगरवासीको चाहनालाई सम्बोधन गरिदिन हार्दिक अपिल गर्दछौँ।’

यता नगर प्रमुख पौडेलले भने सबैसँग सहमति र सहकार्य गरेर सरकार चलाउने बताएका छन्। ‘सस्तो लोकप्रियताका लागि हुने धेरै राजनीतिक नाटक हेरेर, सुनेर बसेँ। नगर प्रमुख भएर धेरै कति बोलौँ? सहमति र सहकार्य गरेर सरकार चलाउँछु,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्। एमालेले प्रेस विज्ञप्ति जारी गरेपछि नगर प्रमुख पौडेलले जनतामा भ्रमको पर्दा राखेर बस्ने दल र त्यसपछाडिका पात्रको भूमिकबारे पर्दा च्यात्ने बेला भएको उनले उल्लेख गरेका छन्।

इटहरी उपमहानगरपालिकाले भूमि करमा अवैज्ञानिक ढंगबाट तीन सय प्रतिशतभन्दा धेरै कर वृद्धि गरेपछि आलोचना हुँदै आएको छ।

प्रकाशित: ११ पुष २०८० २१:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 8 =