नेपाल प्रहरीमा तीन डीआईजी थप्न प्रस्ताव

हिमाल प्रेस ९ पुष २०८० १५:५३
4.1k
SHARES
नेपाल प्रहरीमा तीन डीआईजी थप्न प्रस्ताव

काठमाडौँ- नेपाल प्रहरीमा तीन वटा डीआईजी पद थप गर्न प्रस्ताव गरिएको छ। प्रहरीको प्राविधिकतर्फ तीन वटा डीआईजीको पद थप्न प्रस्ताव गरिएको हो। प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरोमा साइबर हेर्ने गरी विज्ञ, नेपाल प्रहरी केनाईन महाशाखा र केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पनि डीआईजी राख्न प्रस्ताव गरिएको छ।

डीआईजी थपका लागि गृहमन्त्रालयले अर्थमन्त्रालयमा प्रस्ताव पठाएको थियो। ‘तीन वटा विभागका लागि डीआईजी थपको प्रस्ताव भएको छ, ‘गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने, ‘यी प्रस्तावहरू छलफलकै क्रममा छ।’

यी प्रस्ताव गरिएका पदका लागि लागि पनि व्यक्तिहरू तयार भइसकेका छन्। यसका लागि आईजीपी बसन्तबहादुर कुँवरसँग नजिक रहेका प्रहरी अधिकारीहरूले दबाब बढाएका थिए।

साइबर ब्युरोमा साइबर हेर्ने गरी एसएसपी नबिन्द अर्याललाई डीआईजी बनाउन यो पदको प्रस्ताव गरिएको आरोप आईजीपी कुँवरमाथि लागेको छ। यहाँ उनको प्रतिस्पर्धामा कोही पनि प्रहरी अधिकारी नै छैनन्। उनलाई बढुवापछि सीआईबीमा ल्याउने तयारी कुँवरको छ।

त्यस्तै केनाईन मशाखामाकी एसएसपी डा.देउती गुरुङलाई डीआईजी बनाउनकै लागि नयाँ पदको प्रस्ताव गरिएको आरोप पनि कुँवरमाथि लागेको छ। यहाँ पनि गुरुङको प्रतिस्पर्धामा कोही पनि प्रहरी अधिकारी छैनन्।

प्रहरी केन्द्रीय कार्यालय स्रोतका अनुसार अहिलेसम्म अर्थ मन्त्रालयले साइबर र केनाईन महाशाखामा डीआईजी पद थप गर्नका लागि गृह मन्त्रालयलाई सहमति दिइसकेको छ। केन्द्रीय विधि विज्ञान प्रयोगशालामा डीआईजी थप गर्ने प्रस्ताव भने छलफलकै क्रममा रहेको बताइएको छ।

प्रकाशित: ९ पुष २०८० १५:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − five =