सहरमा आज

थिएटरमा तीन नाटक, हलमा बलिउड फिल्मको वर्चस्व

सुस्मिता बजगाईं ७ पुष २०८० ७:१०
126
SHARES
थिएटरमा तीन नाटक, हलमा बलिउड फिल्मको वर्चस्व

काठमाडौँ- पुस महिना सुरु भएसँगै काठमाडौँ उपत्यकालगायत स्थानमा चिसो बढ्दै गएको छ। चिसो दिनमा पारिलो घाम ताप्नुको मजा बेग्लै हुन्छ। अझ शनिबार बिदाको दिन भएकाले पनि कामको बोझ पनि बोकेर हिँड्नु पर्दैन। त्यसैले रमाइलो गर्न, परिवारसँग घुम्न, पार्कतिर दिनभर घाम तापेर सुन्तला र बदम खाने योजना बनाइरहनु भएको हुन सक्छ।  त्यसबाहेक कला क्षेत्रमा रमाउन चाहनुहुन्छ भने त्यसका विकल्प पनि छन्। आउनुहोस् जानकारी लिऔँ उपत्यकामा भइरहेका मनोरञ्जनात्मक गतिविधिबारे :

‘चिहानमाथि महल बनाइरहेको मान्छे’ विमोचन

थापागाउँस्थित कुञ्ज थिएटरमा कवितासंग्रह ‘चिहानमाथि महल बनाइरहेको मान्छे’ विमोचन हुँदैछ। कृतिका लेखक घनश्याम अस्तित्व हुन्। दिउँसो साढे २ बजे सुरु हुने कार्यक्रममा वक्ताहरू श्यामल अधिकारी, राधिका कल्पित, सुरज राणा छन्। कार्यक्रम सम्भव समूहले आयोजना गरेको हो।

आर्ट काउन्सिलमा ‘सार्वभौम वन’

बबरमहलस्थित नेपाल कला परिषद्‌मा ‘सार्वभौम वन’ नामक चित्रकला प्रदर्शनी भइरहेको छ। प्रदर्शनी भारतीय फिल्मकर्मी एवं अभियन्ता अमर कन्वरको मल्टिमिडिया प्रस्तुति हो। कन्वरले संकलन गरेका सन् १९९० देखि भारतको उडिसा राज्य र रैथाने जनजातिबीच भएको द्वन्द्वको मल्टिमिडिया दस्तावेजलाई प्रदर्शनीमा राखिएको छ। प्रदर्शनीमा फोटो, डकुमेन्ट्री, लिखित दस्तावेज, विभिन्न प्रजातिका रैथाने बिउबिजन, चित्रलगायतका विभिन्न दस्तावेज छन्।

मंसिर २३ मा सुरु भएको प्रदर्शनी चैत १८ सम्म चल्नेछ। प्रदर्शनी बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म खुल्ला रहनेछ। फोटो सर्कलको आयोजना गरेको प्रदर्शनी सुधीर पटनाइ समुन्दृष्टि र शेरना दस्तुरको सहकार्यमा तयार पारिएको हो।

थिएटरमा तीन नाटक

गुरुकुलमा ‘नासो’

आरोहण गुरुकुल कुञ्ज नाटकघरमा पुस ४ देखि नाटक ‘नासो’ मञ्चन भइरहेको छ। नाटक कथाकार गुरुप्रसाद मैनालीको ‘नासो’ कथामा आधारित छ। कथाको नाट्य रूपान्तरणमा तत्कालीन परिवेशको एउटा परिवारमा बहुविवाहका कारण उत्पन्न भएको समस्यालाई समेटिएको छ। नाटकको नाट्य रूपान्तरण तथा निर्देशन राम केसीले गरेका छन् भने सहनिर्देशन किरण चापागाईंले गरेका हुन्। नाटक मञ्चनको शनिबार अन्तिम दिन हो। बिहान ११ बजे र दिउँसो २ बजेको दुईवटा सो छ।

नाटकमा नुबु शेर्पा (सूत्राधार), क्रीशा बरूवाल (सुभद्रा), सौगात कक्षपति (देविरमण), साइना स्याङ्तान (लक्ष्मी), युक्ती थापामगर (नौली), सुजल काफ्ले (छोरा), सुयोग्य भण्डारी, ओसिङ आलेमगर, निकेश लामा, सजना माझी, सेजल काफ्लेलगायत कलाकारको अभिनय छ। ‘शिक्षाका लागि रंगमञ्च’ अभियानअन्तर्गत सद्भाव थिएटर नेपालले कोलम्बस इन्टरनेसनल स्कुल मालीगाउँको सहकार्यमा मञ्चन भएको हो।

ओजस थिएटरमा ‘कर्तव्य’

रातोपुलस्थित ओजस (शैली थिएटर)मा नाटक ‘कर्तव्य’ मञ्चन भइरहेको छ। मंसिर २६ देखि सुरु भएको नाटक पुस ११ गतेसम्म मञ्चन गरिनेछ। नाटक कथाकार गुरुप्रसाद मैनालीको कथा ‘कर्तव्य’लाई नाटकमा रूपान्तरण गरिएको छ। नाटकको परिकल्पना तथा निर्देशन रविन दोङ र विशाल महर्जनले गरेका छन्।

नाटकमा विशाल महर्जन, राजु खतिवडा, शेखर दाहाल, सविना तामाङ, सुवास राई, एलिसा न्यौपाने, एचबी मगर, वीरेन्द्र कुशवाहा, शुक्र मगर, सानुमाया तामाङ, पंकज सार्की, असन थिङ, उज्वल कुलुङ राई, गोविन्द टीआर, प्रदीप विश्वकर्मा, अञ्जना दुलालको अभिनय छ। बिहीबार बाहेक साताको प्रत्येक दिन दिउँसो ३ बजे मञ्चन हुने नाटक शनिबार १ बजेको अतिरिक्त शो हुनेछ।

मोन्टाज

मंसिर २२ गतेदेखि सिनामंगलस्थित पुरानो नाटकघरमा नाटक मोन्टाज मञ्चन भइरहेको छ। नाटक युवा अवस्थाको प्रेम, आधुनिक सभ्यता र संस्कारबीचको घृणा र शंकाबीच रुमलिएको मायाको कथामा आधारित छ।

नाटकको लेखन तथा निर्देशन सुलक्षण भारतीले गरेका छन्। नाटकमा निर्देशक भारतीसहित रोश्नी कार्की, कुन्दन, निशा दाहाल, रितेश कार्की, सनम श्रेष्ठ, शिशिर गिरी, श्रवण यादव, पूजा तामाङ, अनमोल क्षेत्री अधिकारी, अरविन्दकुमार मौर्य, रौनक कार्की, सोनिया लामा, प्रेम सागर सेजुवाल, इनारा बानु, शिला निरौलाको अभिनय छ। नाटक पुस १५ गतेसम्म मञ्चन हुनेछ। नाटक सोमबारबाहेक प्रत्येक दिन साँझ ५ बजे मञ्चन हुनेछ भने शनिबार दिउँसो १ बजे अतिरिक्त सो हुनेछ।

हलमा बलिउड फिल्मको वर्चस्व

सलार

पुस ५ गतेदेखि नेपाली हलमा बलिउड फिल्म ‘सलार : पार्ट वान सिजफायर’ प्रदर्शन भइरहेको छ। फिल्ममा प्रभास, सुकुमारन, श्रुति हासन, मधु गुरुस्वामीलगायतको अभिनय छ। प्रशान्त नीलले निर्देशन गरेको फिल्ममा विजय किरणगादुरको लगानी छ।

आज उपत्यकामा क्यूएफएक्स सिनेमाजअन्तर्गत लबिम मल, दरबार सिनेम्याक्स, छाया सेन्टर, भाटभटेनी भक्तपुरमा फिल्मको सो छ। वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, सीडीसी सिनेमाज, एफक्यूब सिनेमाज, अष्टनारायण पिक्चर्स, सिटीम्याक्स सिनेमाजमा बलिउड फिल्म ‘सलार : पार्ट वान सिजफायर’ चलिरहेको छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, सिके सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, विश्वज्योति सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स बलिउड फिल्म ‘सलार : पार्ट वान सिजफायर’ चलिरहेको अन्य हल हुन्।

डंकी

पुस ५ गतेदेखि बलिउड फिल्म ‘डंकी’ नेपालमा प्रदर्शन भइरहेको छ। राजकुमार हिरानी निर्देशित फिल्ममा शाहरुख खान, तापसी पन्नु, विक्की कौशल, बोमन इरानीलगायत कलाकारको अभिनय छ। उपत्यकामा क्यूएफएक्स सिनेमाजअन्तर्गत सिभिल मल, लबिम मल, दरबार सिनेम्याक्स, भाटभटेनी भक्तपुर र छाया सेन्टरमा फिल्मको सो छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, सीके सिनेमाज, सीडीसी सिनेमाज, बिग मुभिज, अष्टनारायण पिक्चर्समा बलिउड फिल्म ‘डंकी’ चलिरहेको छ। आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, बीएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, एफक्यूब सिनेमाज, विश्वज्योति सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, सिटीम्याक्स सिनेमाज बलिउड फिल्म ‘डंकी’ चलिरहेका अन्य हल हुन्।

एनिमल

बलिउड फिल्म ‘एनिमल’ मंसिर १५ गतेदेखि नेपाली हलमा प्रदर्शन भइरहेको छ। फिल्ममा रणवीर कपुर मुख्य भूमिकामा छन्। सन्दीप रेड्डी वांगा निर्देशित फिल्म बाबुछोराको सम्बन्धको कथामा आधारित छ। एक्सन, क्राइम र ड्रामा जनरामा बनेको फिल्ममा रश्मीका मन्दाना, अनिल कपुर, बबी देओललगायत कलाकारको अभिनय छ। उपत्यकामा क्यूएफएक्सअन्तर्गत भाटभटेनी भक्तपुर, सिभिल मल र लबिम मल र बिग मुभिजमा फिल्मको सो छ।

अक्वाम्यान एन्ड द लस्ट किङ्डम

पुस ४ गतेदेखि नेपालमा हलिउड फिल्म ‘अक्वाम्यान एन्ड द लस्ट किङ्डम’ प्रदर्शन भइरहेको छ। फिल्म एक्सन र एडभेन्चर जनरामा बनेको छ। जेम्स वानले निर्देशन गरेको फिल्ममा कलाकार जेसन मोमोआ, याह्या अब्दुल–मतीन, एक्बर हर्डलगायतको अभिनय छ।

शनिबार उपत्यकामा क्यूएफएक्स सिनेमाजअन्तर्गत भाटभटेनी भक्तपुर, छाया सेन्टर, सिभिल मल, दरबार सिनेम्याक्स र लबिम मल, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल, बिग मुभिज, अष्टनारायण पिक्चर्समा फिल्मको शो छ।

जम्प

मंसिर २९ देखि हलमा आशुतोषध्वज कार्की निर्देशित फिल्म ‘जम्प’ प्रदर्शन भइरहेको छ। उपत्यकामा रञ्जना सिनेप्लेक्समा फिल्मको एक सो छ। मनोवैज्ञानिक थ्रिलर जनरामा बनेको फिल्ममा एक खेलाडीको मनोदशालाई फिल्ममा प्रस्तुत गरिएको छ। फिल्ममा सरोज श्रेष्ठ, सन्देश शाक्य, विनिता थापामगरलगायतको अभिनय छ।

दिमाग खराब

कात्तिक २४ देखि फिल्म ‘दिमाग खराब’ प्रदर्शनरत छ। जनता र शक्तिको कथामा बनेको फिल्मका निर्देशक निश्चल बस्नेत हुन्। उपत्यकामा रञ्जना सिनेप्लेक्समा फिल्मको एक सो छ।

फिल्ममा कलाकार खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, रमा थपलिया, दयाहाङ राई, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, नविन खड्कालगायतको अभिनय छ।

प्रकाशित: ७ पुष २०८० ७:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 12 =