नाट्य महोत्सवमा १३ देशका १८ नाटक देखाइँदै

हिमाल प्रेस ९ मंसिर २०७९ १७:२५
864
SHARES
नाट्य महोत्सवमा १३ देशका १८ नाटक देखाइँदै

काठमाडौँ- ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट)’ सुरु भएको छ। काठमाडौँ, थापागाउँस्थित मण्डला थिएटरमा नाटक महोत्सव आयोजना गरिएको हो।

मंसिर १७ सम्म चल्ने महोत्सवमा १३ देशका १८ नाटक देखाइनेछन्। नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, अमेरिका, उरुग्वे, कम्बोडिया र अर्जेन्टिनाका नाट्य समूह सहभागी हुनेछन्। नाटक प्रस्तुतिसँगै विभिन्न तालिम, सेमिनार, कार्यशालालगायत पनि हुनेछन्।

महोत्सव उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनराम श्रेष्ठले कलासाहित्य विभिन्न जातजातिको पहिचान बोकेको बताए। ‘विभिन्न देशको संस्कृति आदानप्रदानमा कलाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ,’ उनले भने, ‘कूटनीतिक रूपमा रहेका सम्बन्धलाई मानवीय रूप दिन पनि कला–साहित्यले सहयोग गर्छ।’

सामाजिक रूपान्तरणका लागि नाटक सशक्त माध्यम रहेको पनि उनले बताए। ‘विभिन्न देशको संस्कृति जोड्ने यस्ता कार्यक्रम भइराख्नुपर्छ,’ उनले भने, ‘कलाको प्रवर्द्धन र विकासमा नेपाल सरकार कलाकारलाई सहयोग गर्न तत्पर छ।’

काठमाडौँ, महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नाटक महोत्सवका माध्यमले कलाको प्रवद्र्धन गर्नुपर्ने बताए। ‘कलाका सबै विधाको विकास र प्रवद्र्धन गर्नुपर्छ,’ उनले भने, ‘त्यसमा अझै पनि धेरै काम गर्न बाँकी छ।’

अवस्थाअनुसार कलालाई अगाडि बढाउनुपर्नेमा उनले जोड दिए। ‘सम्पन्न भएपछि मात्र कलाको प्रवर्द्धन गर्नुपर्छ भन्ने गलत मान्यता अहिले पनि कायमै छ,’ उनले भने, ‘तर हामीले अवस्थाअनुसार कलाको प्रवद्र्धन गर्नुपर्छ। अगाडि बढाउनुपर्छ।’

भारतीय रंगकर्मी तथा अभिनेत्री शबाना आजमीले रंगमञ्चको विकास विस्तार र प्रवद्र्धनका लागि मण्डलाले गरेको कामको प्रशंसा गरिन्। ‘रंगकर्मीहरूले रंगमञ्चका लागि गरेको यो प्रयास प्रशंसनीय छ,’ उनले भनिन्, ‘रंगमञ्चप्रति उनीहरूको प्रेम र लगावका कारण नाटक महोत्सव सम्भव भएको हो।’

सामाजिक रूपान्तरणमा रंगमञ्चको भूमिका महत्त्वपूर्ण हुने उनले बताइन्। ‘रंगमञ्चमा समाजमा बदलाव ल्याउने शक्ति हुन्छ,’ उनले भनिन्। नेपाल पर्यटन बोर्डका निर्देशक लक्ष्मण गौतमले कला–संस्कृतिको विकासका नेपाल सधैँ उदार रहेको बताए।

नाटक महोत्सवको यो दोस्रो संस्करण तीन वर्षपछि भएको हो। कोभिड–१९ महामारीका कारण महोत्सवलाई निरन्तरता दिन नसकेको मण्डला थिएटर र नाटक महोत्सवकी निर्देशक सिर्जना सुब्बाले बताइन्। ‘हरेक क्षेत्रजस्तै महामारीको असर रंगमञ्चमा पनि पर्‍यो,’ उनले भनिन्, ‘जुर्मुराएको रंगमञ्चलाई कोरोनालाई ध्वस्त बनायो। दर्शक फेरि थिएटरमा आउँछन् कि आउँदैन भन्ने चिन्ता थियो।’

संसारका विभिन्न देशले महामारी भोगे। त्यस अप्ठ्यारो समयमा मान्छेहरूले एकजुट भएर समस्याको सामना गरे। विविधतामा एकताबाट प्रेरित भएर यस वर्षको नारा ‘सामाजिक रूपान्तरणको लागि रंगमञ्च : विविधिताको उत्सव’ राखिएको सुब्बाले बताइन्।

‘विविधतामा जोड दिँदै त्यहीअनुसार नाटक र तिनका विषय छनोट गरिएका छन्,’ उनले भनिन्, ‘महोत्सवमा सामाजिक रूपान्तरणदेखि जलवायु परिवर्तनसम्मको विषय समेटिएका छन्।’
महोत्सवमा पहिलो दिन दिया मास्केको निर्देशनमा बनेको नाटक ‘कथा कस्तुरी’ मञ्चन गरिनेछ।

प्रकाशित: ९ मंसिर २०७९ १७:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − seven =