कांग्रेस बागमती सम्मेलन : मर्यादाक्रम विवादले शेखरलाई छैन निम्तो

सन्तोष अधिकारी ६ पुष २०८० १६:३३
1.5k
SHARES
कांग्रेस बागमती सम्मेलन : मर्यादाक्रम विवादले शेखरलाई छैन निम्तो

काठमाडौँ- नेपाली कांग्रेसभित्रको आन्तरिक किचलोकै बीच शनिबार बागमती प्रदेश समितिको पहिलो सम्मेलन हुँदैछ। कार्यक्रमको तयारी पुरा भएको प्रदेश समितिले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ।

अन्य प्रदेशमा जस्तै यहाँ पनि कार्यक्रममा पार्टी केन्द्रीय सभापति शेरबहादुर देउवापछि दोस्रो मर्यादाक्रममा कसलाई आतिथ्यता ग्रहण गराउने भन्ने विषय पेचिलो बनेको छ। कांग्रेस बागमती प्रदेश समितिका सभापति इन्द्रबहादुर बानियाँले भने, ‘हाम्रो पार्टीमा अहिले वरिष्ठ नेता यो भनेर माइन्युट गरिएको छैन। त्यसैले माइन्युट नगरेको विषयमा ‘टेन्सन’ नगरौँ। पार्टीको वेभसाइटमा भएका मर्यादाक्रम राखेकै छ। सोही प्रक्रियाअनुसार हुन्छ।’

 पार्टीको वेभसाइटमा भएको पदाधिकारीको मर्यादाक्रममा उपसभापति पूर्णबहादुर खड्का दोस्रो नम्बरमा छन्। पार्टीको १४औं महाधिवेशनमा सभापतिमा पराजित उम्मेदवार डा.शेखर कोइरालालाई लुम्बिनी र गण्डकी प्रदेश सम्मेलनमा देउवापछिको मर्यादामा आसनग्रहण गराइएको थियो। पार्टीको मर्यादाक्रमअनुसार शेखर २५औं नम्बरमा छन्।

बिहीबार भएको मधेश प्रदेशको सम्मेलनमा भने दोस्रो वरीयतामा आसनग्रहण नहुने भएपछि शेखर जनकपुर गएनन् सुनसरीमा भएको कार्यक्रममा सहभागी भए। त्यहाँ अर्का नेता (पार्टीका पूर्वउपसभापति) विमलेन्द्र निधिले मर्यादाक्रममा आपत्ति जनाउँदै मन्चमा गएनन्।

बागमती प्रदेश सम्मेलनमा के हुन्छ भन्ने विषयमा चासो भइरहेको बेला यहाँका प्रदेश सभापति बानियाँले पार्टीको महाधिवेशनमा कसले चुनाव हार्‍यो, कसले कति मत ल्यायो भन्ने विषयले महत्व नराख्ने भन्दै शेखर कोइरालालक्षित भनाइ राखे।

‘हिजो पार्टी एकता हुँदा अहिलेका हाम्रा सभापति शेरबहादुर देउवालाई वरिष्ठ नेता भनेर माइन्युट गरिएको थियो सोहीअनुसार भयो। त्यसपछि अहिलेका राष्ट्रपति रामचन्द्र पौडेललाई वरिष्ठ नेता भनेर माइन्युट गरिएको थियो त्यहीअनुसार भयो,’ बानियाँले कोइरालालक्षित अभिव्यक्ति दिँदै भने, ‘अहिले कसलाई वरिष्ठ भन्ने कुरा कतै माइन्युट छैन। हिजो महाधिवेशनमा कसले कति मत ल्यायो। त्यसले अर्थ राख्दैन।’

कांग्रेसमा सभापति देउवापछिको पदमा आसनग्रहणका लागि दुई व्यक्तिका कारण विवाद चर्किँदो छ। एक हुन् पार्टी उपसभापति पूर्णबहादुर खड्का र अर्का हुन् पार्टी सभापतिमा पराजित उम्मेदवार डा. कोइराला। पछिल्लो समय हुने गरेका कांग्रेसका कार्यक्रममा कोइराला सहभागी भएको ठाउँमा खड्का नजाने र खड्का सहभागी भएको ठाउँमा कोइराला नजाने दोहोरी चलिरहेको छ।

यही विवादकै कारण शनिबार हुने बागमती प्रदेश सम्मेलनमा डा.शेखर कोइरालालाई कार्यक्रममै बोलाइएको छैन। ‘हामी विराटनगरमा छौँ। भोलि हुने भनिएको बागमती प्रदेश सम्मेलनमा निमन्त्रणा छैन’ डा. कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले भने।

उता पूर्णबहादुर खड्का भने भोलि काठमाडौँको कार्यक्रममा सहभागी हुन आउन भ्याउने गरी आजै सुर्खेत गएको उनको सचिवालयले जनाएको छ। उनी भोलि शनिबार हुने स्वास्थ्य शिविर उद्घाटनका लागि आज नै सुर्खेत गएका हुन्। भोलि मेहेलकुना अस्पताल कर्णालीमा मुटुरोगसम्बन्धी स्वास्थ्य शिविर हुँदैछ।

११ सय बढी सहभागी हुने

शनिबार काठमाडौँको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा पुस ७ गते हुने सम्मेलन सभापति देउवाले गर्नेछन्। बिहान ८:३० बजे सुरु हुने सम्मेलनमा सम्मेलनमा पार्टी सभापति देउवालगायत केन्द्रीय पदाधिकारीसहित नेताहरूलाई निम्तो पठाइएको छ।

सम्मेलनमा बागमती प्रदेशका १३ जिल्लाका ६६ संघीय निर्वाचन क्षेत्रका करिब सात सय ८२ जना प्रदेश प्रतिनिधि, बागमती प्रदेशका संघीय सासंद, प्रदेशसभा सदस्य, प्रतिनिधिसभा क्षेत्रीय सभापति, नगरपालिका र गाउँपालिकामा निर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष तथा बागमती प्रदेशका १ सय १९ पालिका सभापतिहरू सहभागी हुने कांग्रेस बागमती प्रदेश प्रवक्ता एवं प्रचारप्रसार समिति संयोजक तिलक रुवालीको भनाइ छ।

सम्मेलनमा कांग्रेस बागमती प्रदेशका उपसभापति चन्द्र महर्जनद्वारा राजनीतिक प्रतिवेदन, महामन्त्री कन्चनचन्द्र वादेले सांगठानिक, महामन्त्री राजु श्रेष्ठले वार्षिक कार्यतालिका तथा कोषाध्यक्ष दीर्घमान श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नेछन्।

प्रकाशित: ६ पुष २०८० १६:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + ten =