रेस्टुरेन्टमा जमेका ‘मिस्टर पोखरा’

विजय नेपाल ६ पुष २०८० ११:५८
20
SHARES
रेस्टुरेन्टमा जमेका ‘मिस्टर पोखरा’

पोखरा- ईश्वर गुरुङ (प्रयासी) कुनै बेला पोखराका चर्चित मोडल हुन्। पोखराका पुराना मोडलमध्ये पर्छन् उनी। हेर्दा आकर्षक र बलिष्ठ ज्यानका गुरुङ केही समय र्‍याम्पमा उत्रिए। द लुक्स होमले सन् २००१ मा पोखरामा आयोजना गरेको फेस टु फेस कन्टेस्टका विजेता उनी मिस्टर पोखरा घोषित भएका थिए। केही समय पोखरा, काठमाडौँमा गरी म्युजिक भिडियोमा अभिनय गरेर उनी पर्दामा पनि देखिए। त्यसैले त उनलाई चिनेजानेकाले ‘मिस्टर पोखरा’ भनी बोलाउँछन्।

यस क्रममा  विभिन्न इभेन्ट आयोजना गरेर थप पहिचान बनाएका गुरुङका लागि समय सधैँ एकनास रहेन। उनलाई विदेश गएर केही गर्ने चाहना भयो। जापान, दुबई र मकाउमा गरी चार वर्ष बिताएका ‘मिस्टर पोखरा’ केही धन आर्जनपछि स्वदेशमै केही गर्ने निष्कर्षमा पुगे। उनको रुचि थियो रेस्टुरेन्ट सञ्चालन।  सानो लगानीबाट सुरु गरेको व्यवसायले उनलाई केही वर्षभित्रै भरपूर सन्तुष्टि दिएको छ। व्यवसायमा हात हालेपछि स्थापित हुन केही वर्ष कुर्नुपरेको थियो।

कान्छा बुवाको प्रेरणाले करिब १० वर्षअघि गुरुले पोखराको एयरपोर्ट नजिकै हिमाली टोलमा पुइमे फ्रेस हाउस एन्ड सप्लायर्स सुरु गरे। गुणस्तर कायम र सहुलियत मूल्यमा सेवा दिने उनको पसलमा ग्राहक बढ्दै जान थाले। फ्रेस हाउस चलेपछि पसलअगाडि ठेलामै फास्ट फुड बेच्न थाले। उनी भन्छन्, ‘युवाको रोजाइ बन्न पुग्यो पुइमे। आम्दानी पनि बढ्दै गयो। अनि रेस्टुरेन्ट गर्ने सोच पलायो।’

लगत्तै जग्गा भाडामा लिएर करिब १७ लाख लगानीमा पुइमे फास्ट फुड एन्ड बार प्रालि नाममा रेस्टुरेन्ट सञ्चालन गरे। आमा तारादेवीले आर्थिक सहयोग गरिन्। सुरुमा त मानिसको खास चहलपहल नहुने ठाउँमा रेस्टुरेन्ट कसरी चल्ला र? भन्दै लगानी नफसाउन केहीले सुझाव दिए। तर उनी पछि हटेनन्। निरन्तर परिश्रम र कामप्रति विश्वास गर्ने उनले आकर्षक साजसज्जामा रेस्टुरेन्ट सुरु गरे।

गुणस्तरमा उनले सम्झौता गरेनन्। परिणामतः ग्राहकको आकर्षण बढ्यो। काममा भ्याइनभ्याई भयो। एकपछि अर्को कर्मचारी थप्दै गए। हाल ४६ जनाले रोजगारी पाएका छन्। कोरोनाकालमा ३३ कर्मचारी रहेकोमा सहज हुँदै गएपछि कर्मचारी थपेको गुरुङ बताउँछन्।

हिमाली टोलको त्यही रेस्टुरेन्ट केही वर्षदेखि निकै चल्तीमा छ। पहिलोपल्ट नाम सुन्नेहरू अलमलिन्छन् पनि। पुइमे फास्ट फुड एन्ड बारमा विभिन्न परिकारको स्वाद लिन टाढाटाढाबाट ग्राहक आउने गरेका छन्। एकैपटक दुई सय जनाभन्दा बढीलाई सेवा दिन सकिने रेस्टुरेन्टमा एक दिनमै करिब डेढ लाखसम्म कारोबार हुने गरेको सञ्चालक गुरुङको दाबी छ।

रेस्टुरेन्टले स्वदेशमै कर्म गरे फल मिल्ने सन्देशसमेत दिएको छ। लगानी दुई करोड पुगिसकेको उनी बताउँछन्।

पुइमेमा हिमालीटोल आसपासबाट त ग्राहक आउँछन् नै पोखराको लेखनाथ, हेमजा, बगर, चिप्लेढुंगा, महेन्द्रपुल, विन्ध्यवासिनी, लेकसाइड, अमरसिंहकचोकलगायत क्षेत्रबाट मानिस खाजा तथा खाना खान आउने गरेका छन्। पुम्दीकोट, बौद्ध स्तूप, फेवाताल, अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, डेभिडफललगायत आसपासको पर्यटकीय क्षेत्र घुमेर मानिस यही रेस्टुरेन्टमा आइपुग्ने गुरुङ बताउँछन्।

मम, चाउमिन, पिजा, नान, तन्दुरी, बर्गर, खाजा सेट, ब्रियानीलगायत खाजाका परिकारमा बेग्लै स्वाद छ। थिचेको आलुको परिकारलाई पनि समावेश गरेर थप पहिचान पनि दिए गुरुङले। पोखरा महानगरभरि होम डेलिभरीको सुविधा रहेको उनी बताउँछन्। यहाँ करिब सय जनासम्म अट्ने छुट्टै हल छ भने फुड क्याटरिङ सुविधा छ।

विगतमा छाप्रोमा सञ्चालित फ्रेस हाउसले केही वर्षमै हेर्दाहेर्दै तीनतले घरको स्वरूप लिएको छ। भवनको पहिलो र दोस्रो तलामा रेस्टुरेन्ट छ। माथिल्लो तलामा उनको परिवार बस्छ।

केही वर्षअघि विदेशमा भौँतारिएका उनी अहिले आफैँले ठूलो संख्यामा आफूजस्तै युवालाई रोजगार दिलाउँदा सन्तुष्टि व्यक्त गर्छन्। पहिले लगानी खेर जान्छ कि भन्नेहरू उनको प्रगति देख्दा छक्क छन्।

गुरुङको सिको गर्दै त्यहीँ आसपासमै अहिले करिब एक दर्जन रेस्टुरेन्ट थपिएका छन्। व्यावसायिक प्रतिस्पर्धासँगै खानाका परिकारमा गुणस्तर कायम गर्नु अर्को चुनौती हो। उनी प्रेरणाको स्रोत बनेका छन्। नयाँ व्यवसाय गर्न चाहनेहरू अवलोकन गर्न आउने र विभिन्न जिज्ञासा राख्ने गरेको गुरुङले बताए।

व्यवसाय सिलसिलामा चुनौती देख्छन् उनी। स्वदेशमै केही गर्न चाहनेलाई सहुलियत दरमा ऋण सुविधा उपलब्ध हुनुपर्ने उनको जोड छ। ‘पुइमे’ गुरुङ समुदायको एक थर हो। अहिलेको चर्चित पुइमे बिहान ७ देखि राति १० बजेसम्म ग्राहक सेवामा तल्लीन छ।

बढ्दो रेस्टुरेन्ट ‘कल्चर’

प्रकाशित: ६ पुष २०८० ११:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 9 =