गाउँसभाबाट चार ऐन पारित, नगर प्रहरी नियुक्त गरिँदै

हिमाल प्रेस ३ पुष २०८० ८:२७
4
SHARES
गाउँसभाबाट चार ऐन पारित, नगर प्रहरी नियुक्त गरिँदै

तनहुँ- तनहुँको म्याग्दे गाउँपालिकाको पन्ध्रौँ गाउँसभाले नगर प्रहरी ऐन, वातावरण संरक्षण तथा फोहरमैला व्यवस्थापन ऐन, आर्थिक कार्यविधि नियमित तथा व्यवस्थापन गर्न बनेको ऐन र म्याग्दे गाउँपालिकाको स्वास्थ्य व्यवस्थापन तथा सरसफाइ ऐन (पहिलो संशोधन) पारित गरेको छ।

गाउँसभाबाट ऐन पारित भएसँगै नगर प्रहरी नियुक्तिका लागि बाटो खुलेको छ। गाउँपालिकामा हालसम्म नगर प्रहरीको व्यवस्था भएको थिएन। गाउँसभामा संस्थागत क्षमता विकास तथा सेवा प्रवाह समितिका संयोजक चिनीमाया थापाले पालिकाको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक, २०८० पेस गरेका थिइन्।

त्यसैगरी वातावरण समितिका संयोजक शिवबहादुर आलेले पालिकाको वातावरण संरक्षण तथा फोहरमैला व्यवस्थापन गर्न बनेको विधेयक, २०८० पेस गरेका थिए।

नगर प्रहरी व्यवस्थापन गर्न बनेको विधेयक, २०८० संस्थागत क्षमता विकास तथा सेवा प्रवाह समिति संयोजक चिनीमाया थापाले पेस गरेका थिए। गाउँसभामा न्यायिक समितिको अर्धवार्षिक प्रतिवेदन संयोजक बालकृष्ण घिमिरे, सार्वजनिक लेखा समितिको अर्धवार्षिक प्रतिवेदन संयोजक शिवबहादुर क्षेत्री, सुशासन समितिको अर्धवार्षिक प्रतिवेदन संयोजक सुनिता नेपालीले पेस गरेका थिए।

स्थानीय उत्पादन बिक्रीका लागि कोसेली घर

स्थानीय वस्तु बिक्रीका लागि जिल्लाका विभिन्न ठाउँमा कोसेली घर सञ्चालन भएका छन् । तनहुँको देवघाट गाउँपालिका र बन्दीपुर गाउँपालिकामा पालिकाको सहयोगमा कोसेली घर सञ्चालनमा भएका हुन्।

देवघाट गाउँपालिका–५ का उद्यमशील महिलाहरूले कोसेली घर सञ्चालन गरेका छन्। गाउँपालिकाको आर्थिक वर्ष २०८०÷८१ को बजेट तथा कार्यक्रमअनुसार आइतबारदेखि कोसेली घर सञ्चालनमा आएको गाउँपालिकाका उपाध्यक्ष भुवनसिंह गुरुङले जानकारी दिए।

कोसेली घरमा उद्यमशील महिलाले आफूले उत्पादन गरेको हरेक वस्तु ल्याएर बिक्री गर्न सक्नेछन्। देवघाट गाउँपालिकाले विगतमा सञ्चालन गरेका विभिन्न हस्तकला, सिलाइसम्बन्धी कुसन, दुना टपरी बनाउने तालिम प्राप्त गरेका महिलालाई लक्ष्य गरी गाउँपालिकाको स्वीकृत बजेटअनुसार कोसेली घर स्थापना गरेको हो।

कोसेली घरमा हस्तकलाद्वारा निर्मित सामग्री ल्याएर बिक्री वितरण गर्न र बाहिरबाट देवघाट घुम्न आउने पाहुना र पर्यटकलाई कोसेलीस्वरूप प्रदान गर्न सकिने गाउँपालिकाका कार्यक्रम अधिकृत कृष्णराज पन्तले जानकारी दिए।

यसैगरी बन्दीपुरमा गाउँपालिका र बन्दीपुर परिश्रमी युवा समूहद्वारा हाम्रो बन्दीपुर कोसेली घर सञ्चालनमा आएको छ। पर्यटकीय नगरी बन्दीपुर घुम्न आउने पाहुनालाई लक्षित गरी कोसेली घर सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए।

उनले भने, ‘बन्दीपुरमा स्वदेशी तथा विदेशी पर्यटक घुम्नका लागि आउँछन्। उनीहरूले बन्दीपुरको चिनारीस्वरुप स्थानीयस्तरमा उत्पादित सामग्री लैजान सक्छन्। यहाँ खाद्यान्नदेखि हस्तकलाका सामग्री बिक्री वितरणका लागि राखिएका छन्।’

जिल्लाको सदरमुकाम दमौलीमा पनि कोसेली घर सञ्चालनमा छ। नेपाल घरेलु तथा साना उद्योग महासंघ तनहुँद्वारा सञ्चालित कोसेली घर स्थानीय उत्पादन बिक्री वितरणका लागि प्रभावकारी बनेको छ।

महिलालाई उद्यमशीलतामा जोड्न कोसेली घर सञ्चालन गरिएको महिला उद्यमी संघ तनहुँका अध्यक्ष कल्पना गौलीले बताइन्। जिल्लाभरका महिलाले उत्पादन गरेका सामग्री एकै ठाउँबाट बिक्री वितरण गर्न कोसेली घर सञ्चालन गरिएको र यो प्रभावकारी बनेको उनको भनाइ छ।

कोसेली घरमा डोको, कुचो, भांग्रो, ढकिया, बाँसका सामग्री, मुढालगायतका सामग्री बिक्री वितरणका लागि राखिएको छ। महिला उद्यमीबाट खरिद गरी ल्याइएका सामग्री कोसेली घरमार्फत न्यून मूल्यमा बिक्री गरिएको गौलीले जानकारी दिइन्।

उनले कोसेली घरबाट बिक्री भएका सामानको दुई प्रतिशत नाफा उद्यमी उद्धार कोषका रूपमा राखिने जानकारी दिइन्।

कोसेली घर सञ्चालनका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पाँच लाख रुपैयाँ सहयोग गरेको थियो। उक्त रकमबाट घर सजावट गरिएको छ। त्यस्तै सोही मन्त्रालयबाट दुई लाख रुपैयाँ सहयोग भएको थियो।

उक्त रकमबाट गोदाम निर्माण गरिएको छ। कोसेली घर सञ्चालनका लागि पर्यटन तथा उद्योग कार्यालयले भवन निर्माण गरेर हस्तान्तरण गरेको छ। कोसेली घरमा आठवटा पालिकाका महिला उद्यमीले बनाएका गरेका सामग्री राखिएका छन्। रासस

प्रकाशित: ३ पुष २०८० ८:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =