उदीपुर–रिठ्ठेबगर–नौथर सेरा सडक अलपत्र

हिमाल प्रेस २ पुष २०८० १६:२२
4
SHARES
उदीपुर–रिठ्ठेबगर–नौथर सेरा सडक अलपत्र फाइल तस्बिर

लमजुङ– लमजुङस्थित दोर्दी गाउँपालिका केन्द्र जोड्ने सडक अलपत्र अवस्थामा छ। सरकारको हरेक पालिकामा गुणस्तरीय सडक पुर्‍याउने अभियानअन्तर्गत अघि बढेको यस सडकमा ठेकेदारले काम नगर्दा ६ महिनादेखि कालाेपत्रे अलपत्र परेको हो।

पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख विवेक सिग्देलका अनुसार ठेकेदार कम्पनीले आर्थिक पाटोलगायत कारण देखाउँदै काम अलपत्र पारेको छ। असारपछि सडक निर्माणको काम ठप्प छ। ठेकेदारले रोकिएको कामलाई केही दिनमा निरन्तरता दिने बताएको उनको भनाइ छ। निमित्त प्रमुख सिग्देलले भने, ‘निर्धारित समयमा काम पनि हुन सकेन अहिले सडक निर्माण सम्झौताको म्याद सकिएर थप गर्ने प्रक्रियामा छ। सडक अलपत्र रहँदा बर्खामा हिलाम्मे र हिउँदमा दुलाम्मे हुँदा स्थानीयवासीलाई समस्या हुने गरेको छ।’

स्थानीयवासी ईश्वरराज सेडाइँले सडक पूरा नहुँदै बनेको ठाउँ पनि भत्किन थालेको बताए। गाउँपालिका अध्यक्ष युवराज अधिकारीले नागरिकको दैनिक यात्रा सहज बनाउनका लागि जतिसक्दो चाँडो सडकको कामलाई निरन्तरता दिँदै सम्पन्न गर्न आफूले पहल गर्दै आएको बताए।

पूर्वाधार विकास कार्यालयका अनुसार ६० प्रतिशत भौतिक प्रगति भएको छ। गण्डकी प्रदेश सरकारको लगानीमा दोर्दी गाउँपालिकाको केन्द्र जोड्न यस उदीपुर–रिठ्ठेबगर–नौथर सेरा सडक कालोपत्र गर्न थालिएको हो। पूर्वाधार विकास कार्यालयका इञ्जिनियर राजेश अधिकारीका अनुसार अझै ४० प्रतिशत भौतिक प्रगति हुन बाँकी छ। यस सडकको ३.५ किलोमिटरको स्ट्रक्चरको काम सम्पन्न भइसककोे छ। अन्य भागमा भने स्टक्चरलगायत काम बाँकी छ। त्यस्तै ग्याबेल, ग्याबिन बाल, मेसिन वालको काम गर्न बाँकी रहेको कार्यालयले जनाएको छ। सडकको बेस बसाउने काम सम्पन्न भएको छ भने ५ किलोमिटर नाला निर्माण गरिएको छ।

सम्झौताअनुसार २०७९ असार २ गतेभित्र कालोपत्रे गरिसक्नुपर्ने भए पनि विभिन्न कारण देखाएर निर्माण कम्पनीले गत पुस महिनासम्ममा निर्माणका लागि थप म्याद पाएको थियो । तर सो समय भित्र पनि निर्माण नभएपछि पुनः म्याद थप गर्दै विसं २०८० असार २९ गतेसम्म सम्पन्न गर्ने सम्झौता गरेको थियो।

पुनः थप म्याद मङ्सिर २८ गतेसम्म रहेकोमा सो म्यादसमेत यतिबेला सकिएको छ। कन्टेक निर्माण प्राइभेट लिमिटेड काठमाडौँले गर्दै आएको यस सडकका लागि विसं २०७७ असार ३ गते ठेक्का सम्झौता भएको थियो। प्रदेश सरकारको २६ करोड २९ लाखको लागतमा ७ किलोमिटर सडक कालोपत्रे हुन लागेको छ। पूर्वाधार कार्यालयका अनुसार बेँसीसहर नगरपालिका–१ उदिपुरदेखि दोर्दी गाउँपालिका–४ मा रहेको दोर्दी गाउँपालिका जोड्ने यस सडकको अस्फाल्ट कालोपत्रे हुनेछ। सडकले बेँसीसहर नगरपालिका र दोर्दी गाउँपालिकाका बासिन्दा लाभान्वित हुनेछन्। दोर्दी गाउँपालिका केन्द्र जोड्ने यस सडकको अधिकांश भाग भने बेँसीसहर नगरपालिकाभित्र पर्दछ।

रासस

प्रकाशित: २ पुष २०८० १६:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =