सिद्धबाबा सुरुङमार्गको कामप्रति मन्त्री ज्वाला असन्तुष्ट, बहाना बनाएर ढिला नगर्न चेतावनी

हिमाल प्रेस ३० मंसिर २०८० १८:२७
54
SHARES
सिद्धबाबा सुरुङमार्गको कामप्रति मन्त्री ज्वाला असन्तुष्ट, बहाना बनाएर ढिला नगर्न चेतावनी निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको शनिबार स्थलगत निरीक्षणमा पुगेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित। तस्बिर : हिमाल प्रेस

लुम्बिनी– भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सिद्धबाबा सुरुङमार्गको काम सुस्त भएको भन्दै कामलाई तीव्रता दिन निर्देशन दिएका छन्। राष्ट्रिय गौरवको आयोजनाका रूपमा हेरिएको निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको शनिबार स्थलगत निरीक्षण गर्दै मन्त्री ज्वालाले कामको गति निकै ढिलो भएकोमा ध्यानाकर्षण गराउँदै तीव्रता दिन निर्देशन दिएका हुन्।

सिद्धबाबा सुरुङ मार्गलाई ठूलो र महँगो आयोजनाका रूपमा लिइएको बताउँदै यसको काममा कुनै पनि लापरबाही नगर्न मन्त्रीले निर्माण व्यवसायीलाई सचेत बनाए। ‘अहिले ८/९ प्रतिशत मात्रै काम काम भएको छ। कामको रफ्तार बढाउनका लागि स्थलगत निरीक्षण गरिएको हो’, मन्त्री ज्वालाले भने।

सरकारका तर्फबाट समस्या समाधान गर्न तत्पर रहेको तर बहाना बनाएर काममा ढिलाइ गर्न छुट नदिइने उनको भनाइ छ। ‘समस्या कहाँनिर छ, त्यो हामी सुन्छौँ, तर बहाना बनाएर ढिलाइ गर्न पाइँदैन’, उनले भने।

मन्त्री ज्वालाले सिद्धबाबा सुरुङमार्ग राष्ट्रिय गौरवको आयोजनाका रूपमा सरकारले उच्च प्राथमिकतामा राखेकाले यसलाई सफल बनाउन आकस्मिक रूपमा निरीक्षण गरिएको बताए। उनले निरीक्षणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै निर्माण व्यवसायीको कामप्रति सन्तुष्ट हुन सक्ने अवस्था नरहेको प्रतिक्रिया दिए। मन्त्री ज्वालाले माथिल्लो सिद्धबाबाको प्रवेशद्धारसहित ३ वटा क्षेत्रको स्थलगत निरीक्षण गरेका हुन्।

सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकअन्तर्गत बुटवलको तल्लो सिद्धबाबादेखि पाल्पाको दोभान चौकीसम्मको करिब ३ किलोमिटर सडक क्षेत्र पहिरोका कारण जोखिमयुक्त भएकाले यहाँ सुरुङमार्गको अवधारणा अघि सारिएको हो।

सुरुङमार्ग निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले १ हजार १२६ मिटर लम्बाइको सुरुङमार्गका लागि ७ अर्ब ३४ करोड सम्झौता गरेको हो। निरीक्षणमा सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले कामले गति लिन नसकेको स्वीकार गरे। उनले सुरुङमार्ग नेपालका लागि नयाँ भएकाले अहिले बाहिरी डिजाइन स्वीकृत गरेर काम भइरहेको बताए।

यस्तै मन्त्री ज्वालाले बुटवल-नारायणगढ सडकखण्डको पनि शनिबार निरीक्षण गरेका छन्। सडक निर्माण समयमा पूरा नहुँदा नागरिकले सास्ती पाएको विषयमा जनगुनासो व्यापक भएकाले आफू निरीक्षणमा आएको उनले बताए। ‘बुटवल-नारायणगढ सडकको कामको गति बढेको छैन, सन्तुष्ट छैनौँ’, मन्त्री ज्वालाले भने, ‘अहिले स्थलगत निरीक्षण गरेर समस्या के हो, त्यसको समाधान गर्ने गरी छलफलमा समेत जुट्छौँ।’

उक्त अवसरमा बुटवल-नारायणगढ पश्चिम सेक्टर आयोजना प्रमुख शशांक मिश्रले पर्याप्त मात्रामा निर्माण सामग्री नपाउँदा काममा ढिलाइ भएको बताए। उनका अनुसार नारायणगढ-बुटवल पश्चिम खण्डमा ३९ प्रतिशत भौतिक प्रगति छ। मन्त्री ज्वालासहितको टोलीले शनिबारै हुलाकी सडकखण्डको समेत निरीक्षण गरेका छन्।

प्रकाशित: ३० मंसिर २०८० १८:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =