अभिनेता शाहलाई बलात्कार मुद्दामा सफाइ दिने उच्चको फैसला सर्वोच्चले दोहोर्‍याएर हेर्ने

हिमाल प्रेस ३० मंसिर २०८० १२:०८
44
SHARES
अभिनेता शाहलाई बलात्कार मुद्दामा सफाइ दिने उच्चको फैसला सर्वोच्चले दोहोर्‍याएर हेर्ने

काठमाडौँ- नाबालिग बलात्कार अभियोग लागेका अभिनेता पूर्णविक्रम शाह ‘पल’ लाई सफाइ दिने उच्च अदालत पोखराको फैसला सर्वोच्च अदालतले दोहोर्‍याएर हेर्ने भएको छ।

उच्च अदालतका तत्कालीन कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले शाहलाई सफाइ दिएको थियो।

उक्त फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालय काठमाडौँले सर्वोच्च अदालतमा दोहोर्‍याएर हेरि पाउँ भन्दै निवेदन दिएको थियो।

उक्त निवेदनमा गत शुक्रबार (मंसिर २२ गते) सुनुवाइ गर्दै न्यायाधीश सुस्मालता माथेमा र हरि फुयाँलको इजलासले उच्चको फैसला दोहोर्‍याएर हेर्न अनुमति दिएको हो।

उच्चका न्यायाधीशले शाहको मुद्दामा प्रमाणको मूल्यांकन राम्रोसँग नगरेको, कानुनको व्याख्या त्रुटिपूर्ण गरेको र नाबालिग बलात्कारका मुद्दामा सर्वोच्चले प्रतिपादन गरेका सिद्धान्तको प्रतिकूल सफाइ दिएको भन्दै सर्वोच्चले दोहोर्‍याएर हेर्ने भएको हो।

‘पीडित नावालक रहेको देखिएकोले पीडितको बकपत्र र प्रतिवादीको बयान तथा शारीरिक परीक्षण प्रतिवेदन तथा चिकित्सकको बकपत्र, पीडित र प्रतिवादी बीचको अडिओ रेकर्ड र त्यसको प्रतिवादीबाट अदालतको बयानको स.ज.११ मा गरेको स्वीकारोक्तीसमेतका प्रमाणको समुचित मूल्यांकन नगरी भएको उच्च अदालत पोखराको फैसलामा प्रमाण ऐन तथा मुलुकी अपराध संहिताको व्याख्यात्मक त्रुटि र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तसमेतको प्रतिकूल भएकाले प्रस्तुत मुद्दा दोहोर्‍याइ हेर्ने अनुमति प्रदान गरिएको छ,’सर्वोच्चको आदेशमा भनिएको छ।

शाहले एक गीतको भिडिओ सुटिङका क्रममा बलात्कार गरेको भन्दै पीडितले २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा उजुरी दिएकी थिइन्।

प्रकाशित: ३० मंसिर २०८० १२:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =