मलेसियाली नयाँ नीतिले सवा लाख नेपालीको रोजगारी गुम्दै

रमेश भारती २९ मंसिर २०८० १२:१८
132
SHARES
मलेसियाली नयाँ नीतिले सवा लाख नेपालीको रोजगारी गुम्दै मलेसिया

काठमाडौँ- मलेसिया सरकारको नयाँ नीतिअनुसार अब नेपाली श्रमिक त्यहाँ जान नपाउने भएका छन्। त्यहाँको सरकारले गत मार्चदेखि विदेशी कामदारको नयाँ स्वीकृति रोकेपछि नेपाली श्रमिक पनि रोकिएका हुन्।

नेपालबाट मलेसिया वार्षिक एक लाख ३० हजार कामदार जाने गरेको वैदेशिक रोजगार विभागको तथ्यांक छ। विभागका अनुसार चालु आर्थिक वर्षको चार महिनामा ३५ हजारभन्दा बढी नेपाली रोजगारीका लागि मलेसिया पुगेका छन्। नयाँ नीतिअनुसार सन् २०२४ मा मलेसियाले विदेशी कामदार भित्र्याउने छैन। नयाँ नीतिका कारण मार्चयता ७० हजार नेपाली कामदार रोजगारीका लागि मलेसिया जान नपाएको वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ। यद्यपि यो नीतिले हाल त्यहाँ कार्यरत नेपालीलाई भने कुनै समस्या पर्ने छैन।

मलेसियाका मानव संशाधनमन्त्री भी शिवकुमारले १२औँ मलेसिया योजनाका आधारमा सन् २०२५ सम्ममा विदेशी कामदारको संख्या २४ लाखभन्दा माथि नबढाउने घोषणा गरेका छन्। १२औँ मलेसिया योजनाले तोकेको विदेशी कामदारको उपस्थिति मलेसियामा भइसकेको र आवश्यक कामदार अवैधानिक रूपमा बसेकालाई वैधानिक बनाएर पूरा गर्ने सरकारी घोषणा छ।

मलेसियाका अर्थमन्त्री रफिजी रामलीले सरकारको मुख्य लक्ष्य सन् २०२४ मा विदेशी कामदार घटाउनु  रहेको बताएका छन्। मलेसियाको बुकित जलिल राष्ट्रिय रंगशालामा बिहीबार सरकारको वार्षिकोत्सव कार्यक्रममा उनले उक्त कुरा बताएको मलेसिया सञ्चारमाध्यमा उल्लेख छ। रामलीले मलेसियाको श्रमबजारमा विदेशी कामदारमाथिको निर्भरतालाई क्रमशः घटाएर स्थानीय कामदारको सहभागिता बढाउने योजना रहेको जानकारी दिएका थिए।

मलेसिया सरकारको यस्तो नीतिले एक लाखभन्दा बढी नेपालीको रोजगारी गुम्ने वैदेशिक रोजगार व्यवसायी संघका पूर्वउपाध्यक्ष रामप्रसाद भन्तानाले जानकारी दिए। गत मार्चदेखि मलेसिया सरकारले विदेशी कामदारको नयाँ स्वीकृति रोक्दा ७० हजार नेपाली रोजगारीका लागि मलेसिया जान नपाएको उनले बताए।

‘मलेसियाले भविष्यमा थप विदेशी कामदार भर्ना गर्नुपर्ने आवश्यकताको समीक्षा गर्ने घोषणा गरेको छ। मलेसियाको रोजगारीमा २०७५ सालदेखि समस्या सिर्जना भइरहेको थियो,’ भन्तानाले भने, ‘नेपालमा केही समयका लागि मलेसियाबाट नयाँ कोटा आउँदैन। सरकारीस्तरमा छलफल गर्ने हो भने नेपालबाट उद्योग, सुरक्षा गार्ड र कृषिमा कामदार लिनसक्छ।’

मलेसियामा २४ लाख विदेशी कामदार कार्यरत छन्। आगामी वर्ष विदेशी कामदारको संख्या नबढाउने नीतिले नेपालको वैदेशिक रोजगारी क्षेत्रमा प्रभाव पर्ने चिन्ता म्यानपावर व्यवसायीहरूको छ।

मलेसियामा भारतीय मूलका मलेसियाली जनसंख्या २० लाखभन्दा बढी भइसकेको भन्दै सञ्चारमाध्यमबाट विदेशी कामदार भित्र्याउने सरकारी नीतिको आलोचना भएको छ।

मलेसियामा पाँच लाखभन्दा बढी नेपाली कामदार रहेको सरकारी अनुमान छ। जसमा एक लाख ५० हजारभन्दा बढी अवैधमा रूपमा बसेर काम गरिएको मलेसियास्थित नेपाली दूतावासको आकलन छ।

नेपाल आउने रेमिट्यान्समा मलेसियाको हिस्सा उच्च छ भने दर्ता रहेकामध्ये ६० प्रतिशतभन्दा बढी म्यानपावर कम्पनीले मलेसियामै कामदार पठाउने गरेका छन्। २०७५ सालमा उत्पन्न सिन्डिकेट विवादपछि म्यानपावर कम्पनीहरूले नेपाली कामदार मलेसिया पठाउन सकेका थिएनन्। त्यतिबेला बायोमेट्रिक, भीएलएन, जीएसजी, वान स्टप सेन्टर र माइग्राम्सले मलेसिया जाने कामदारलाई स्वास्थ्य परीक्षण र अन्य प्रक्रियाका नाममा ठगी गरेको भन्दै तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बन्द गरिदिएका थिए। व्यवसायीहरूले मलेसियाको रोजगारी तीन वर्षसम्म बन्द हुँदा पाँच लाख रोजगारी गुमेको  बताएका थिए।

प्रकाशित: २९ मंसिर २०८० १२:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − three =