विदेशी पर्यटकलाई लक्षित गरी सांस्कृतिक संस्थानमा ‘माटोको गीत’

हिमाल प्रेस २९ मंसिर २०८० ७:३६
16
SHARES
विदेशी पर्यटकलाई लक्षित गरी सांस्कृतिक संस्थानमा ‘माटोको गीत’

काठमाडौँ- सांस्कृतिक संस्थानले शुक्रबारदेखि ठेट नेपाली सांस्कृतिक कार्यक्रम कार्यक्रम ‘माटोको गीत’ सुरु गर्न लागेको छ।

सांस्कृतिक पर्यटनको विकासमा टेवा पुर्‍याउन, नेपालको प्रस्तुतिजन्य लोकसंस्कृति तथा सभ्यतालाई विश्वमाझ चिनाउन संस्थानले विदेशी पर्यटकलाई लक्षित गरी साप्ताहिक रूपमा ठेट नेपाली सांस्कृतिक कार्यक्रम सुरु गर्न लागेको महाप्रबन्धक अशोक प्यासी राईले जानकारी दिए।

पहिलो दिन आज दिउँसो ३ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्ने कार्यक्रम छ। महाप्रबन्धक राईले सरकारी र निजी क्षेत्रको सहकार्य र समन्वयमा हुने यस कार्यक्रमका प्रस्तुति मनोरञ्जनभन्दा बढी प्राज्ञिक, खोजमूलक र यथार्थपरक हुने बताए। उनले भने, ‘नेपालको मौलिक एवं रैथाने संस्कृति, सभ्यता, रहनसहन तथा जीवनशैली झल्कने प्रस्तुतिहरू समावेश हुनेछन्।’

कार्यक्रममा समावेश गरिने सबै प्रस्तुतिलाई दस्ताबेजीकरण गर्दै भविष्यमा डिजिटल लाइब्रेरी तयार गर्ने योजनासमेत रहेको संस्थानले जनाएको छ।

माटोको गीतमा लोकसांस्कृतिक प्रस्तुतिसहित गौतम बुद्ध,अरनिको, भृकुटी, सीतालगायत नेपालका विभूति एवं अग्रज साधकहरूलाई विश्वमाझ चिनाउन उनीहरूको जीवनीलाई संक्षिप्त रूपमा नाटकीकरण गरी प्रस्तुत गरिनेछ।

केही महिना साप्ताहिक रूपमा आयोजना हुने यो कार्यक्रमलाई नेपाली परिकारका साथ रात्रिभोजसहित दैनिक रूपमा प्रस्तुत गर्ने लक्ष्यका साथ तयारी भइरहेको संस्थानले जनाएको छ।

कार्यक्रममा समावेश गरिने प्रस्तुतिहरू समय, सन्दर्भ र ऋतुअनुसार परिवर्तन हुनेछ। पहिलो चरणमा कार्यक्रम प्रवर्द्धनका लागि विशेष छुटका साथ नेपाली नागरिकलाई प्रतिटिकट ५०० रुपैयाँ, छिमेकी मुलुक भारत र चीनका नागरिकका लागि १,००० र अन्य विदेशी नागरिकका लागि १५०० शुल्क तय गरिएको महाप्रबन्धक राईले बताए।

महाप्रबन्धक राईका अनुसार विभिन्न जातजाति, समुदाय एवं भेगमा प्रचलित प्रस्तुतिजन्य लोककलालाई प्रामाणिक, आधिकारिक र प्रभावकारी बनाउन सम्बन्धित विषय विज्ञहरूको परामर्श, मूल्यांकन तथा सुझाव लिन प्रस्तुति छनोट तथा परामर्श समिति गठन गरिएको छ।

समितिको सल्लाहकारमा डा‍.भक्त राई, प्रेमनाथ अधिकारी, धीरेन्द्र प्रेमर्षि, नारायणदेवी प्रधान छन् भने भने संयोजकमा प्राज्ञ अशोक राई तथा सदस्यहरूमा मनोज जोशी, कृष्ण गुरुङ, खड्ग बुढामगर र सुदर्शन थापा छन्।

प्रकाशित: २९ मंसिर २०८० ७:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =