चितवन कारागारका सय बढी कैदीबन्दी बिरामी, अधिकांश रक्तचापबाट पीडित

हिमाल प्रेस २९ मंसिर २०८० ६:५३
10
SHARES
चितवन कारागारका सय बढी कैदीबन्दी बिरामी, अधिकांश रक्तचापबाट पीडित

चितवन- जिल्ला कारागार कार्यालय चितवनमा एक सय ११ कैदीबन्दी बिरामी भएको पाइएको छ। उनीहरू विभिन्न रोगबाट पीडित छन्।

एक सय ११ मध्ये आधाभन्दा बढी कैदीबन्दी उच्च रक्तचापबाट पीडित छन्। अन्य जिल्लाबाट उपचारका लागि कैदीबन्दी चितवन पठाउने गरिएको कार्यालय प्रमुख कमलप्रसाद आचार्यले जानकारी दिए। उनले भने,‘कारागारमा बिरामी कैदीबन्दीको चाप बढ्दै गएको छ।’

कार्यालय प्रमुख आचार्यका अनुसार नवलपरासी, धादिङ, गोरखा, मकवानपुरलगायत जिल्लाबाट बिरामी कैदीबन्दी उपचारका लागि ल्याउने गरिएको छ।

अहिले कारागारमा मधुमेहका २६, थाइराइडका तीन, मुटुरोगी चार, एचआइभी संक्रमित चार, छारेरोगबाट पीडित चार, मानसिक रोगी पाँच, हेपाटाइटिसबाट पीडित तीन तथा अन्य रोगबाट पीडित कैदीबन्दी रहेका छन्।

जिल्लामा केन्द्रीयस्तरको सरकारी अस्पताल, क्यान्सर अस्पताल, दुई ठूला मेडिकल कलेज र २४ भन्दा बढी निजी अस्पताल रहेका कारण कैदीबन्दीलाई उपचारका लागि यहाँ पठाउने गरिएको छ। अहिले कारागारमा क्षमताभन्दा झन्डै दुई सय बढी कैदीबन्दी राखिएको छ।

कारागारमा चार सय ७५ पुरुष कैदीबन्दी राख्ने क्षमता रहेको भए पनि छ सय ७२, ३० कैदीबन्दी राख्ने क्षमता भएकामा ४१ तथा चार आश्रित बालबालिका गरी सात सय १७ कैदीबन्दी रहेका कार्यालय प्रमुख आचार्यले जानकारी दिए। रासस

प्रकाशित: २९ मंसिर २०८० ६:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − five =