कांग्रेस संस्थापन इतर पक्षको बैठक बस्दै

हिमाल प्रेस २७ मंसिर २०८० ७:४९
8
SHARES
कांग्रेस संस्थापन इतर पक्षको बैठक बस्दै डा.शेखर कोइराला

काठमाडौँ- नेपाली कांग्रेस संस्थापन इतर पक्षको बैठक आज बस्दैछ। बैठक बत्तिसपुतलीस्थित अनुपम फूडल्यान्डमा दिउँसो १ बजे बोलाइएको केन्द्रीय सदस्य मधु आचार्यले जानकारी दिए।

इतर पक्षका नेता डा‍.शेखर कोइरालाले आफ्नो पक्षको बैठक मंगलबारका लागि बोलाएका थिए। तर, बैठकमा महामन्त्री गगनकुमार थापा नजाने भएपछि बैठक आजका लागि सारिएको हो।

शेखरले सल्लाह नगरी बैठक बोलाएको इतर पक्षका नेताहरूले बताउँछन्। केही महिनादेखि गगन र शेखरबीचको तिक्तताका कारण गगन नजाने भएपछि बैठकलाई सारिएको हो।

शेखर र गगनबीच मंगलबार अर्जुननरसिंह केसीको घरमा संवाद भएर दुवैको सहमतिमा बैठक आजका लागि तय गरिएको नेता आचार्यको भनाइ छ।

बैठकमा नेता अर्जुनरसिंह केसीले दुई बीचमा तिक्तता र असहमति जसरी भएपनि अहिले बाहिर आउन नहुनेमा जोड दिएका थिए। केसीकै घरमा बसेको बैठकमा मिलेर अघि बढ्ने सहमति भएको थियो।

आजको बैठकमा शुक्रबार बस्ने कांग्रेस केन्द्रीय सम्पादनको बैठकमा कसरी प्रस्तुत हुने लगायत बारेमा छलफल गरिने जनाइएको छ।

कांग्रेसले महासमितिको बैठक तेस्रोपटक सार्ने तयारी गरेको छ। पुसका लागि निर्धारित महासमिति बैठकलाई सभापति शेरबहादुर देउवाले फागुनमा पुर्‍याउने तयारी गरेको कांग्रेसकै नेताहरूले बताउन थालेका छन्।

त्यसका लागि रणनीति बनाउन बैठक बोलाइएको इतर पक्षको दाबी रहेको छ। नीति महाधिवेशनको रूपमा हेरिएको महासमिति बैठकमा पार्टी नेतृत्व र सरकारको तीव्र आलोचना हुने सम्भावना देखिएपछि सभापति शेरबहादुर देउवा तेस्रोपटक बैठक सार्ने मनस्थितिमा पुगेका छन्।

आसन्न राष्ट्रियसभा निर्वाचनलाई कारण देखाएर देउवाले पुस १६ देखि १९ सम्मका लागि तय गरिएको महासमिति बैठकलाई सार्न खोजिरहेका छन्। आजको बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचनमा इतर पक्षको भागबन्डाका बारेमा पनि छलफल हुनेछ।

राष्ट्रियसभा निर्वाचन माघ ११ गते हुँदैछ। सत्ता गठबन्धनले भागबन्डा गरेर चुनाव लड्ने तयारी गर्दा इतर पक्षले आफ्नो दाबेदारी राख्ने जनाइएको छ।

याे पनि

टर्‍यो शेखर-गगनको फुट

प्रकाशित: २७ मंसिर २०८० ७:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 5 =