हिमाल किन कालो हुँदैछ?

हिमाल प्रेस २६ मंसिर २०८० ८:०८
10
SHARES
हिमाल किन कालो हुँदैछ? मौरिस हर्गोज पदमार्गअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ भुसकेतबाट देखिएको बराह शिखर हिमाल। समुद्र सतहदेखि तीन हजार पाँच सय मिटर उचाईमा रहेको भुसकेत अन्नपूर्ण हिमालको आधार शिविरको प्रवेशबिन्दु हो। तस्बिर : सन्तोष गौतम/ रासस

पोखरा- ‘विश्वव्यापी ताममान वृद्धिले हिमालका हिउँ पग्लँदै गए माउण्टेन क्लाइम्बिङ कुनै दिन रक क्लाइम्बिङमा फेरिन सक्छ’, विश्व वन्यजन्तु कोषका नेपाल प्रमुख एवं संरक्षणविद् डा.घनश्याम गुरुङले भने,‘जलवायु परिवर्तनको असर न्यूनीकरणका उपाय अपनाउनु र यससँग अनुकूलन हुनुको विकल्प हामीसँग छैन।’

पोखरामा जारी अन्तर्राष्ट्रिय पर्वतीय महोत्सवका अवसरमा सोमबार आयोजित ‘हिमाल किन कालो हुँदैछ? के यो परिवर्तन हाम्रो जीवनसँग सम्बन्धित छ?’ शीर्षक बाेल्दै गुरुङले माथिका कुरा भनेका हुन्।

छलफलमा उनले पृथ्वीको बढ्दो तापमानलाई रोक्न स्वच्छ ऊर्जाको प्रयोग बढाउनुपर्ने बताए। संरक्षणविद् गुरुङले अहिलेकै गतिमा हिउँ पग्लँदै गए आउँदा केही वर्षभित्रैमा हिमालहरू कालापत्थरमा परिणत हुने बताए।

पृथ्वीको तापक्रम वृद्धि र धुवाँधुलोका कारण हिमाल पग्लिरहेको उनको भनाइ छ। संरक्षणविद् गुरुङले कार्बन उत्सर्जनमा नेपालको योगदान नभए पनि जलवायु परिवर्तनको विश्वव्यापी असरबाट बच्न स्थानीय तवरबाटै योजना बनाउनुपर्ने धारणा राखे।

‘जलवायु परिर्तनमा विकसित देशको मात्र दोष छ,नेपालको केही भूमिका छैन भनेर हामी चुप लागेर बस्नु हुँदैन’,उनले भने,‘अन्तर्राष्ट्रिय समुदायमा आवाज उठाउन पनि हामीसँग नैतिक धरातल चाहिन्छ।’

कार्यक्रमका अर्का वक्ता जीविकोपार्जन तथा बसाइँसराइविद् डा.अमिना महर्जनले जलवायु परिवर्तनले नेपालमा मात्र नभएर सिंगो हिन्दूकुश क्षेत्रकै हिमाल सुक्खा बन्दै गएको बताइन्।

‘जलवायु परिवर्तनले पर्यावरण, कृषि, पर्यटन, स्वास्थ्यलगायत यावत् क्षेत्रमा प्रत्यक्ष/अप्रत्यक्ष असर पुर्‍याइरहेको छ’,उनले भनिन्,‘जलवायु परिवर्तनको प्रभाव अझ बढ्दै जान्छ, घट्दैन तसर्थ यससँग अनुकूलन हुनुबाहेक अर्को विकल्प छैन।’ पृथ्वीको तापमान वृद्धि हुँदै जानुमा नेपालको कुनै भूमिका नभए पनि यसको परिणाम भने भोग्नुपरिरहेको उनले बताइन्।

केही महिनाअघि मुस्ताङको कागबेनीमा आएको बाढी, सन् २०१२ मा हिमपहिरोका कारण सेती नदीमा आएको बाढी त्यसकै उदाहरण भएको उनले बताइन्।

छलफलमा भाग लिँदै वरिष्ठ पत्रकार कुन्द दीक्षितले जलवायु परिवर्तनलाई अब जलवायु संकट भन्नुपर्ने बेला आएको बताए। उनले जलवायु परिवर्तनलाई वातावरणीय समस्याका रूपमा मात्र नहेरेर अर्थ–राजनीतिक पाटोबाट पनि हेर्नुपर्ने धारणा राखे।

जलवायु परिवर्तन र खाद्य सुरक्षामा अनुसन्धानरत डा.जगन्नाथ अधिकारीले हिमालको सम्बन्ध नेपाली संस्कृतिसँग पनि जोडिएको बताए।

‘बिहानै हिमाल हेर्‍यो भने दिन पवित्र हुन्छ भन्ने मान्यता छ, विभिन्न देवीदेवताका नामबाट पनि हिमाललाई पुकारिन्छ,’ उनले भने,‘हिमालय क्षेत्र मानिसको जनजीवन र संस्कृतिसँग प्रत्यक्ष जोडिएको छ, हिउँ नरहे हाम्रा सांस्कृतिक परम्परा पनि हराउन सक्छन्।’ हिउँ पग्लँदै गएपछि पोखराबाट देखिने हिमालको सुन्दरता पनि विस्तारै खस्कँदै गएको डा.अधिकारीले बताए। रासस

प्रकाशित: २६ मंसिर २०८० ८:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =