कोशी टप्पुमा रम्दै पुष्पा र अञ्जली

विवेक विवश रेग्मी २५ मंसिर २०८० १०:२१
60
SHARES
कोशी टप्पुमा रम्दै पुष्पा र अञ्जली कोशी टप्पु वन्यजन्तु आरक्षमा चरिरहेका पुष्पा र अञ्जली। तस्बिर स्रोत : वीरेन्द्र गौतम।

इटहरी– असोज १० गते चितवन राष्ट्रिय निकुञ्जबाट स्थानान्तरण गरिएका दुई गैँडा यतिबेला कोशी टप्पु वन्यजन्तु आरक्षमा रमाइरहेका छन्। पुष्पा र अञ्जली नामका दुई पोथी गैँडा हात्तीसँग चरिरहेको देखिन्छ। कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतम भन्छन्, ‘हामी हात्तीको सहयोगमा जंगल क्षेत्रमा गैँडालाई चरनमा लैजान्छौँ। दिनभर चरेर आएका गैँडा रातिको समयमा नेपाली सेनासहित आरक्षका कर्मचारीको निगरानीमा रहन्छन्।’

बिहान ५ बजेदेखि आरक्ष क्षेत्रभित्र आफ्नो खुसीले चरनमा जाने पुष्पा र अञ्जली साँझमा मात्रै आफ्नो बासस्थानमा फर्कन्छन्। साँझमा फर्किएपछि पनि गैँडालाई खानेकुरा दिइन्छ। कोशी टप्पुको पर्यावरणमा दुई गैँडा अभ्यस्त हुने अभ्यासमा रहेको उनले बताए।

‘गैँडाले प्रायः घोल क्षेत्रमा भएको घाँस मन पराउँछ’, गौतम भन्छन्, ‘हामीले दिनभर चरनमा छाडे पनि बासस्थानमा फर्किएपछि डाले घाँस दिने गरेका छौँ।’ कोशी टप्पुको प्रकृतिसँग अभ्यस्त हुने अभ्यास गरिरहेका गैँडा नियाल्न पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्न थालेको छ।

दुई गैँडाका कारण पर्यटनलाई जोड्ने उपयुक्त माध्यम भएको गौतम बताउँछन्। ‘पर्यटनलाई जोड्नका निम्ति गैँडाले महत्त्वपूर्ण योगदान गरेको छ,’ उनले हिमाल प्रेस भने, ‘अहिले पर्यटनको सिजन भएका कारण पनि पर्यटक वृद्धि भइरहेका छन्।’

अञ्जली

वंश विस्तारकै लागि चितवन राष्ट्रिय निकुञ्जबाट गैँडा ल्याइएको उनले बताए। गौतमका अनुसार भाले गैँडा वन तथा वातावरण मन्त्रालयले ल्याउनेछ। अहिले आरक्षका तर्फबाट भाले गैँडा ल्याउने गृहकार्य भइरहेको गौतमको भनाइ छ। ‘गर्भधारणको उमेर भएपछि भाले गैँडा ल्याउँछाैँ’, उनले भने, ‘वंश विस्तारका लागि आरक्षले आफ्नो तर्फबाट काम गरिरहेको छ। मन्त्रालयबाट स्वीकृत भएपछि भाले ल्याउने प्रक्रिया अगाडि बढ्छ।’

गैँडालाई कोशी टप्पुमै उपयुक्त बासस्थान बनाउने अभ्यास भइरहेको गौतमले बताए। कोशी टप्पु क्षेत्रमा विज्ञहरूले यहाँको प्राकृतिक वातावरण अनुसन्धान गरी प्रतिवेदन बुझाएपछि गैँडा ल्याउने प्रक्रिया अगाडि बढाइएको थियो। विज्ञहरूको अध्ययनले आरक्षमा गैँडा प्रजनन केन्द्रसमेत बन्ने औँल्याएको थियो।

आरक्षका प्रमुख संरक्षक अधिकृत (वरिष्ठ संरक्षक अधिकृत) रमेशकुमार यादवले ती काम प्रक्रियामै रहेको बताए। उनका अनुसार भाले गैँडा ल्याउने प्रक्रिया भने अघि बढेको छ।

पुष्पा

पुष्प र अञ्जलीको स्वास्थ्य अवस्था राम्रो छ। कलिलो घाँसबाहेक पीपल, खयर, शमी, आँप र टाँकी प्रजातिका डाले घाँसमा गैँडा रमाउने यादव बताउँछन्। विभिन्न समयमा गरिएका अनुसन्धान र अध्ययनपछि गैँडा यहाँ ल्याइएको उनले बताए।

गैँडा चराउँदै आएका गोठाला दुर्गानन्द यादव भन्छन्, ‘गाईभैँसीले झैँ कलिलो भुइँघाँसमा चर्न मन पराउने पुष्पा र अञ्जली हात्तीसँगै अघिपछि गरेर चर्छन्।’ कार्यालयको पूर्वतर्फको घाँसे मैदानमा दुई हात्ती कोशीकली र कुसाहाकलीसँगै पुष्पा र अञ्जली रमाउने गरेको उनले बताए।

यादवले भने, ‘गैँडालाई बाह्रैमास उसले चाहेअनुरूपको घाँस खुवाउन सकियो भने रमाउँछ। भुइँघाँसबाहेक डाले घाँस अत्यन्त मन पराउने गैँडा आफ्नै खुसीमा रमाउँछ।’

कोशी प्रदेशको सुनसरी, उदयपुर र मधेश प्रदेशको सप्तरी जिल्लामा रहेको कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्र एक सय ७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। आरक्षमा पाँच सय ८७ प्रजातिका नदी तटीय वनस्पति, अर्ना, जंगली हात्ती, डल्फिन, सालक, चितुवालगायत ४० प्रजातिका जनावर, सात सय २६ प्रजातिका चरा, एक सय ४१ प्रजातिका माछा तथा ७७ प्रजातिका पुतलीको बासस्थान रहेको अनुसन्धानकर्ताहरू बताउँछन्।

प्रकाशित: २५ मंसिर २०८० १०:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − two =