हिमाल आरोहणका लागि १ हजार ३२९ ले लिए अनुमति

हिमाल प्रेस २३ मंसिर २०८० ७:३७
4
SHARES
हिमाल आरोहणका लागि १ हजार ३२९ ले लिए अनुमति

काठमाडौँ- शरद ऋतुमा हिमाल आरोहणका लागि एक हजार ३२९ जनाले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार शुक्रबार स्वदेशी तथा विदेशी गरी १७२ समूहका एक हजार ६९ जना पुरुष र २६० जना महिलाले आरोहण अनुमति लिएका हुन्।

विभागका निर्देशक राकेश गुरुङका अनुसार आरोहण अनुमति लिनेमा सबैभन्दा बढी अमादब्लम आरोहणका लागि अनुमति लिनेहरू रहेका छन्। उनले भने, ‘अमादब्लम आरोहणका लागि ४५ समूहका ४१२ जना पुरुष र ८० जना महिला गरी ४९२ जनाले अनुमति लिएका छन् । अहिलेसम्म ७६ देशका आरोहीले विभिन्न ५२ हिमाल आरोहणका लागि अनुमति लिएका छन्।’

त्यस्तै मनासलु आरोहणका लागि ३०१, हिमलुङ आरोहणका लागि १२५ जनाले अनुमति लिएका छन्। आरोहण अनुमति लिनेमा सबैभन्दा बढी अमेरिकाका १३०, फ्रान्सका १२९, जर्मनीका ९६, चीनका ७९, रसियाका ६७, जापानका ५१ र स्विट्जरल्यान्डका ५० जना रहेका छन्।

यो सिजनको आरोहण अनुमतिबाट सात करोड ६६ लाख ९३ हजार १२ रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ। पर्यटन विभागका अनुसार यस पटक विभिन्न छ मुलुकका २२ जनाले नेपालका हिमालबाट स्की गर्नका लागि अनुमति लिएका छन्।

स्कीका लागि सबैभन्दा अनुमति लिनेमा फ्रान्सका नागरिक रहेका छन् । उनीहरूले हिमाल आरोहणपछि स्की गर्दै आधार शिविर ओर्लिने छन्। स्कीका लागि फ्रान्सका १५, फिनल्यान्डका एक, अमेरिकाका दुई, नेपालका तीन र नर्वेका एक जनाले विभागबाट अनुमति लिएका छन्।

स्कीको अनुमति लिएकामध्ये फ्रान्सका तीन जना र एक फिनल्यान्डका एक जना महिला छन्। विभागले हिमलुङ, धवलागिरि, मनासलु, रत्नचुली, पुथा हिउँचुली, एभरेस्टलगायतका हिमालमा स्की अनुमति दिँदै आएको छ। विभागले तोकिएको हिमाल क्षेत्रमा स्की खेल्न फोहोरमैला व्यवस्थापनका लागि पाँच सय डलर र स्कीका लागि १० जनासम्मको एक समूहले हजार डलर रोयल्टी बुझाउनुपर्छ। गोरखापत्र दैनिकबाट

प्रकाशित: २३ मंसिर २०८० ७:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =