कालीगण्डकी कोरिडोर : बेगखोला-नागढुंगा खण्डको काम लयमा

हिमाल प्रेस १९ मंसिर २०८० १४:०५
2
SHARE
कालीगण्डकी कोरिडोर : बेगखोला-नागढुंगा खण्डको काम लयमा

म्याग्दी- राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत म्याग्दीको बेगखोला-भुरुङ तातोपानी खण्डको काम तीन वर्षपछि लयमा फर्किएको छ।

समुदाय, जनप्रतिनिधि र सरोकारवालाको दबाबपछि बेगखोलादेखि भुरुङ तातोपानीको नागढुंगा खण्डका निर्माण व्यवसायी काममा फर्किएर कालोपत्रको तयारी थालेका हुन्।

रघुगंगा गाउँपालिका-३ राहुघाटदेखि अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीको नागढंगासम्मको १९ किलोमिटर सडक कालोपत्र गर्न विसं २०७४ मा शर्मा युनाइटेड जेभी र बेनी-जोमसोम-कोरला सडक योजनाबीच ठेक्का सम्झौता भएको थियो।

मुख्य ठेकेदारले काम नगरेर सहायकलाई ठेक्का दिएको, प्रतिकूल भूगोल, विपद् र कोरोना महामारीका कारण यो सडक निर्माण विसं २०७७ हिउँददेखि सुस्ताएको थियो। धरौटी जफत, ठेक्का तोड्ने र कालोसूचीमा राखेर कारबाही गर्ने प्रक्रिया अघि बढाएपछि ठेकेदार काममा फर्किएका बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख ध्रुव झाले जानकारी दिए।

‘पहिरोग्रस्तस्थल र कडा पहरा फुटाउनुपर्ने भागमा बाहेक सडक विस्तार, नाली, पर्खाल निर्माण र सब बेस विछ्याउने काम सकिएको छ,’ उनले भने ‘चमेरे, वैसरी र महभिर बाहेकको सडक कालोपत्रको तयारी भएको छ।’

शर्मा युनाइटेडका इञ्जिनियर प्रशान्त तिमिल्सिनाले करिब छ किलोमिटर दूरीमा सब बेस र बेस राख्ने काम सकिएको बताए। ‘मौसमले साथ दियो भने छदेखि आठ किलोमिटर सडक यसपाली कालोपत्र गर्नका लागि मजदूर र उपकरण परिचालन गरी तयारी थालेका छौँ’, उनले भने।

यसखण्डका विभिन्न स्थानमा करिब चार किलोमिटर पहिरोस्थल भएकाले ग्राभेल गर्ने, महभिरमा कडा पहरा भएकाले आयोजनाले सुरुङ निर्माण गर्ने योजना बनाएको र तातोपानी कुण्डको केही भागमा वैकल्पिक सडक निर्माण गर्नुपर्ने भएकाले ठेक्काबाट हटाइको छ।

रघुगंगा गाउँपालिकाको राहुपारेदेखि बेगखोला खण्डको करिब छ किलोमिटर दुई वर्षअघि कालोपत्र भएको थियो। राहुघाट–बेगखोला खण्डको सडक कालोपत्र गर्ने जिम्मेवारी लिएको सहायक ठेकेदार ओमकारेश्वर कन्ट्रक्सनका सञ्चालकलाई ताकेता गरिएको शर्मा युनाइटेडका इञ्जिनियर तिमिल्सीनाले बताए।

बेगखोला-नागढुंगा खण्डको कामलाई पूर्णता दिन मूल ठेकेदार आएको छ। राहुघाट-बेगखोला खण्डको सहायक ठेकेदारले काम नगरे मूल ठेकेदारलेनै पूर्णता दिने जनाएको छ। कालोपत्र भइसकेको बैसरी र सिरुबारी क्षेत्रमा ठूलो पहिरो खसेकाले जोखिम बढाएको छ।

गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले बेनी–जोमसोम–कोरला सडक आयोजनाको म्याग्दी खण्डमा अलपत्र परेको कालोपत्र गर्ने कामलाई लयमा फर्काउन संघीय सरकारकामन्त्री, सचिव र आयोजनाका प्रमुखसँग समन्वयका साथै जिल्ला र पालिकास्तरमा समन्वय तथा सहजीकरण गरिएको बताए।

प्रकाशित: १९ मंसिर २०८० १४:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 5 =