अंग्रेजी, विज्ञान र गणित शिक्षक नपाउँदा खस्कियो नतिजा

हिमाल प्रेस १९ मंसिर २०८० ९:२८
110
SHARES
अंग्रेजी, विज्ञान र गणित शिक्षक नपाउँदा खस्कियो नतिजा

गुल्मी- गुल्मीमा अंग्रेजी, विज्ञान र गणितका शिक्षक पाउनै मुस्किल हुन थालेको छ।

विद्यालय तहमा विद्यार्थी कम उत्तीर्ण हुने विषयमा शिक्षक पाउन नसक्दा नतिजा झन् खस्किने अवस्था देखिएको छ। मालिका गाउँपालिका ८ मा रहेको मालिका माध्यमिक विद्यालयले गत चैत महिनादेखि गणित शिक्षक आवश्यकताका लागि पाँच पटकसम्म आवेदन खुलायो तर पनि गणित शिक्षक पाउन सकेको छैन।

गणित शिक्षक नहुँदा अध्ययनमा ठुलो असर परेको विद्यार्थी सुधन पौडेलले बताए। विद्यालयले शिक्षक आवश्यकताका लागि विज्ञापन खुलाएको भए पनि शिक्षक नहुँदा अध्ययनमा असर परेको पौडेलले बताए।

शिक्षकले आलोपालो गरेर अध्यापन गराए पनि स्थायी रूपमा शिक्षक नहुँदा अध्ययनमा समेत असर परेको विद्यार्थीको भनाइ छ। यस्तै चन्द्रकोट गाउँपालिका ७ मा रहेको ज्ञानोदय माध्यमिक विद्यालयले पनि असार महिनादेखि विज्ञान शिक्षक पाउन सकेको छैन।

पटक पटक शिक्षक आवश्यकताका लागि आवेदन खुलाउँदा शिक्षक पाउन नसकेको विद्यालयले जनाएको छ। शिक्षकहरू ग्रामीणस्तरमा जान रुचि नदेखाउने र सुगम रोज्ने प्रचलन समस्याका रूपमा देखिएको छ।

सदरमुकाम तम्घासमा रहेको रेसुंगा माध्यमिक विद्यालयले पनि पटक पटक आवेदन खुलाउँदा चार महिनामा बल्ल शिक्षक पाएको छ। माध्यमिक तहको राहत अंग्रेजी विषयको आवश्यकताका लागि आवेदन खुलाउँदा बल्लतल्ल चार महिनामा शिक्षक पाएको विद्यालयका प्रधानाध्यापक भागीरथ भण्डारीले बताए।

कालीगण्डकी गाउँपालिकाको भगवती माध्यमिक विद्यालयमा पनि वैशाखदेखि गणित शिक्षकको दरबन्दी खाली रहेको छ। जिल्लाका ५९ आधारभूत विद्यालयमध्ये ४० विद्यालयमा विषय शिक्षकको अभाव छ।

पछिल्लो समयमा अध्यापनमा रुचि नदेखाउनु र वैदेशिक रोजगारीमा सबैको मोह बढ्नुका कारण शिक्षकको अभाव हुने गरेको शिक्षा विकास तथा समन्वय एकाइ गुल्मीले जनाएको छ।

कतिपय शिक्षकहरू बिचैमा जागिर छाड्ने र अवकाश लिने जस्ता कारणले पनि शिक्षक अभाव देखिएको एकाइ प्रमुख लोकनाथ मरासिनीले जानकारी दिए। प्राथमिक तहमा पनि सात जना शिक्षकले जागिर छाडेकाले वैकल्पिकबाट पदपूर्ति गरिएको उनको भनाइ छ।

अंग्रेजी, गणित र विज्ञान विषयमा शैक्षिक गुणस्तर सुधारका लागि शिक्षकलाई तालिमलगायतको व्यवस्था गर्दै आएको मरासिनीले बताए।

प्रकाशित: १९ मंसिर २०८० ९:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − one =