कोशी : एमाले कहिलेसम्म पहिचानवादीको निसानामा?

रमेश भारती १७ मंसिर २०८० २१:५५
68
SHARES
कोशी : एमाले कहिलेसम्म पहिचानवादीको निसानामा? कोशी प्रदेश नामकरणको विरोधमा पहिचानवादीहरूले विराटनगरमा गरेको आन्दोलन। फाइल तस्बिर

काठमाडौँ– पछिल्लो समय कोशी प्रदेशमा एमालेका शीर्ष नेताहरू पहिचानवादी संगठनको निसानामा पर्दै आएका छन्। पहिचानवादी संगठनका नेताकार्यकर्ताले नेकपा एमालेका अध्यक्ष केपी ओली, प्रदेश सांसद र केही केन्द्रीय नेतामाथि पहिचानविरोधी भन्दै आक्रमण गरिरहेका छन्। फागुनयता एमालेका दुई दर्जनभन्दा बढी नेताहरूलाई पहिचानवादीले आक्रमण गरेको एमालेको कोशी प्रदेश कमिटीले जनाएको छ।

१७ फागुनमा प्रदेशसभाको बहुमतले ‘कोशी’ नाम पारित गरेको थियो। नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका गरी ८२ जना सांसदले कोशीका पक्षमा मतदान गरेका थिए।

एक महिनापछि १७ चैतमा विज्ञप्ति निकाल्दै नेकपा माओवादीले पहिचान पक्षधरहरूको शान्तिपूर्ण आन्दोलनप्रति ऐक्यबद्धता जनाएको थियो।

माओवादीजस्तै, जसपालागतका साना दलले समेत पहिचानवादीको आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै आएका छन्। कांग्रेसका पनि आदिवासी नेताले प्रदेशको नाम पहिचानका आधारमा राख्नुपर्ने माग राख्दै आएका छन्। एमालेले मात्र कोशी प्रदेशको नाम भौगोलिक आधारमा ठिक भएको धारणा राखेको छ। सोही कारण पनि एमालेका नेताहरूमाथि पहिचानवादी संगठन आक्रोशित छ।

कोशी प्रदेशको नाम खारेजी माग गर्दै अहिले प्रदेशभर ‘प्रदेश नम्बर १ पुनः नामाकंन संयुक्त संघर्ष समिति’ को जोडबलमा आन्दोलन चलिरहेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले बताए। प्रदेशको नामाकंन परिवर्तन गर्न तीन चरणको आन्दोलन भइसकेको छ। अब चौथो चरणको आन्दोलन गरी कोशी प्रदेशको नाम किराँती प्रदेश बनाएरै छाड्ने दाबी छ। कोशी प्रदेशमा एमाले धेरै पहिचानविरोधी देखिएको उनको आरोप छ।

‘कोशी’ नाम खारेजी गरी पहिचानका आधारमा पुनः नामकरण हुनुपर्ने माग राख्दै पहिचान पक्षधरहरूले निरन्तर आन्दोलन गर्दै आएका छन्। आन्दोलनमा ४२ वटा जातीय संगठन सलंग्न छन्। पहिचानवादीको आन्दोलनमा गत वैशाखमा पदम लिम्बू लाजेहाङको मृत्यु भएको थियो।

एमालेमाथि आक्रमणको शृंखला

एमाले स्थायी कमिटी सदस्य हिक्मत कार्की नेतृत्वको प्रदेश सरकारले ‘कोशी’ प्रदेश नामांकन गरेपछि एमालेविरुद्ध पहिचानवादी पार्टीहरू आक्रामक भएका थिए। गत वर्ष कोशी प्रदेश नामांकन भएपछि फागुन २१ मा तत्कालीन मुख्यमन्त्री कार्कीमाथि नै सुनसरीको इटहरीमा पहिचानवादीका कार्यकर्ताले पहिलोपटक आक्रमण गरेका थिए। उनीहरूले मुख्यमन्त्री कार्कीलाई कालो झन्डा देखाउँदै गाडीमै ढुंगा प्रहार गरे। त्यसपछि पहिचानवादीहरूले कोशीमा एमालेका शीर्ष नेता सहभागी हुने प्रायः कार्यक्रममा अवरोध गर्दै आएका छन्।

पहिचानवादी संगठनका नेताकार्यकर्ताहरूले दुई दर्जनभन्दा बढी एमालेका नेतामाथि आक्रमण गरेको कोशी प्रदेशका महासचिव राजकुमार भण्डारीले जानकारी दिए। कोशीमा पहिचानवादी संगठनले एमालेमाथि आक्रमण जारी राखेको उनले बताए।

पहिचानवादीहरूले वैशाख १३ गते एमाले अध्यक्ष केपी ओलीविरुद्ध झापाका विभिन्न कार्यक्रममा कालो झन्डा मात्रै देखाएनन्, ढुंगामुढासमेत गरे। उनीहरूले त्यतिबेला ओली सहभागी झापाका तीनवटा कार्यक्रममै आक्रमण गरेका थिए। यस्तै ओलीलाई वैशाख १४ गते इलाम सदरमुकाममा कालो झन्डा देखाउँदै ढुंगामुढा गरे। इलाममा पहिचानवादीले गरेको आन्दोलनमा ओलीलाई जोगाउन प्रहरीले गोली चलाउनुपरेको थियो।

दुई साताअघि एमाले सचिव योगेश भट्टराईलाई ताप्लेजुङमा पहिचानवादीका कार्यकर्ताले आक्रमण गरी गाडी तोडफोड गरिदिए। कोशी प्रदेश सबैको हितका लागि एमालेको पहलमा नामांकन भए पनि गणतन्त्र विरोधीहरूले आक्रण गरिरहेको भट्टराई बताउँछन्। उनी भन्छन्, ‘कतिपय गणतन्त्रविरोधीहरूले यसलाई मुख्य मुद्दा बनाएर एमालेमाथि आक्रमण गरिरहेका हुन्।’

एमालेलाई पहिचानविरोधी देखाएर अन्य राजीतिक दल, विभिन्न संघसंस्था र केही व्यक्तिले फाइदा लिन खोजिरहेको आरोप उनको छ। तर उनले त्यस्ता राजनीतिक दल, संघसंस्था र नेताको नाम भने बताएनन्।

‘पहिचानवादीका नाममा कसले आन्दोलन गरिरहेको छ भन्ने प्रस्ट छ। अहिले भइरहेको आक्रमण एमालेमाथि होइन, गणतन्त्रमाथि हो,’ भट्टराईले हिमालप्रेससँग भने, ‘एमाले पहिचानविरोधी होइन। जातीय पहिचानको समर्थन र संरक्षण गर्ने पार्टी हो। २०३६ सालमा पहिलोपटक पहिचानको मुद्दा उठाउने पार्टी एमाले नै हो।’

एमालेसँग कार्यक्रम जुधाउँदै

एमाले यति बेला ‘झुलाघाट-चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ मा छ। एमालेको त्यो यात्रा मंसिर अन्तिमतिर कोशी प्रदेशमा पुग्नेछ। पहिचानवादीले एमालेसँग जुध्ने गरी आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।

पहिचानवादीले २६ र २७ गते मध्यपहाडी मार्गमा पर्ने घुर्मी-च्याङ्थापु सडक बन्दको आह्वान गरेका छन्। यस्तै उनीहरूले एमालेले उदयपुरको घुर्मीमा मंसिर २६ गते गर्ने कार्यक्रमको तालिकामै जुधाएको छ। पहिचानवादी घुर्मी-ओखलढुंगा-सोलु सडकलाई ‘बलबहादुर राई’ मार्गको नामाकंन गरेका छन्। ओलीले भने पहिचानवादी र राजावादी एकै हुन् भनेर आलोचना गर्दै आएका छन्।

माओवादीले ‘जनयुद्ध’ का बेला मेचीका पहाडी जिल्लालाई लिम्बुवान प्रदेश घोषणा गरेको थियो। लिम्बुवानको चर्को आन्दोलन छेडिएको जिल्ला पाँचथर र ताप्लेजुङ हुन्। अहिले यिनै जिल्लामा धेरै पहिचानवादी नेता छन्।

एमालेका नेताहरूले पहिचानका विरोधमा बोल्दै हिँडेका कारण उनीहरूमाथि पहिचान पक्षधर जनताले आक्रोश पोखेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनको दाबी छ। चुनावका बेला एमालेका नेताहरूले प्रदेश-१ किराँतीको धेरै जनसंख्या भएको क्षेत्र हो भन्दै भोट मागेको लिङ्देनको आरोप छ।

पहिचानवादी आन्दोलनलाई पार्टीकै साथ

२०७४ सालको प्रदेशसभाले टुंगो लगाए पनि प्रदेश १ को नाम राख्न राजनीतिक दल असफल भएका थिए। त्यति बेला सरकार बनाउन-गिराउन निकै सक्रिय दलहरूले प्रदेशको नाम भने टुंग्याउन सकेनन्।

२०७६ सालमा स्थायी राजधानी विराटनगर तोकिए पनि प्रदेशको नामकरण गरिएन। २०७९ को निर्वाचनबाट दोस्रोपटक प्रदेशसभा गठन गरिएलगत्तै फागुन १७ गतेको प्रदेशसभा बैठकबाट प्रदेशको नाम ‘कोशी’ अनुमोदन भयो। त्यसै दिनदेखि प्रदेशका १४ जिल्ला पहिचानवादीले आन्दोलन गर्दै आएका कारण कोशी अशान्त छ।

गत साउन २४ गते अन्तर्राष्ट्रिय आदिवासी दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै प्रदेशको नामकरण जातीय पहिचानका आधारमा हुनुपर्ने अभिव्यक्ति दिएका थिए। प्रचण्डले कोशीमा गरेको आफ्नो गल्ती सच्चाइसकेको भन्दै पहिचानवादीको पक्षमा बोलेका थिए। कांग्रेसका आदिवासी नेताहरूले पनि कोशी प्रदेशको नाम परिवर्तन गर्नुपर्ने धारणा राख्दै आएका छन्।

सत्तारुढ माओवादी मात्र होइन, चार दलीय समाजवादी मोर्चा पनि पहिचान पक्षधरको जनमत बटुल्ने रणनीतिमा लागिपरेको छ। कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा, लोसपा र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेताहरूले विभिन्न जिल्लामा पुगेर पहिचानवादीको माग सम्बोधन गर्नुपर्ने धारणा राख्दै आएका छन्। यसै गरी हिन्दू राज्यको माग राख्दै नागरिक बचाउ महाअभियान चलाएका मेडिकल व्यवसायीले समेत पहिचानवादीको आन्दोलनलाई साथ दिएका छन्। सोही कारण पनि पहिचानवादीको आन्दोलन तत्काल निष्कर्षमा पुग्न नसक्ने एमालेका नेताहरू बताउँछन्।

प्रकाशित: १७ मंसिर २०८० २१:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − four =