कोशी नामकरणको आन्दोलनमा विदेशीले सहयोग गरे : मुख्यमन्त्री कार्की

हिमाल प्रेस ७ असोज २०८० ९:०४
4
SHARES
कोशी नामकरणको आन्दोलनमा विदेशीले सहयोग गरे : मुख्यमन्त्री कार्की हिक्मत कार्की। फाइल तस्बिर।

इटहरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोशी’ नामकरणको समर्थनमा सिंगो एमाले जुरुक्क उठ्न नसकेको बताएका छन्। प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संघ (पीपीएलए) को कोशी प्रदेशको प्रथम अधिवेशन उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले सो कुरा बताएका हुन्।

मुख्यमन्त्री कार्कीले भने, ‘कोशी नामकरणका विषयमा सिंगो एमाले जसरी जुरुक्क उठ्नुपर्थ्यो, त्यसरी उठेन। बरु एमालेका कतिपय कार्यकर्ता नामकरणको विरोधमा लेख्ने र बोल्ने काममा सहभागी भएको पाइयो।’ तत्कालीन प्रदेश नं १ को कोशी नामकरण ठिक भएको र यसबाट डराउनुपर्ने अवस्था नरहेको पनि उनले बताए।

कोशी नामकरणविरुद्ध जबरजस्ती आन्दोलन उठाइएको बताउँदै स्थानीय स्तरबाट आन्दोलन उठ्न नसकेपछि अहिले विदेशीको सहयोगमा काठमाडौँदेखिका मानिस ल्याउन थालिएको उनको दाबी छ।  केही शक्तिले भारतको मणिपुरमा जस्तै जातीय र साम्प्रदायिक दंगा भड्काउन खोजिरहेको आरोप मुख्यमन्त्री कार्कीले लगाए।

मुख्यमन्त्री कार्कीले कोशी नामकरणका विषयमा पुराना सबै राजनीतिक दलहरूले आआफ्नो धारणा सार्वजनिक गरे पनि राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा प्रस्ट नआएकोमा आश्चर्य व्यक्त गरे।

एमालेका अगाडि धेरै समस्या नरहेको प्रस्ट पार्दै उनले एमाले अरूका कारण नभएर आफ्नै खुट्टामा अल्झिएर लड्ने गरेको बताए। मुलुकमा एमाले हार्ने सिट संख्या थोरै मात्रमा रहेको दाबी उनको छ। उनले धेरै ठाउँमा एमालेले नै एमालेलाई हराएको पनि बताए । ‘त्यसैले अब एक पटक हरेक मोर्चामा एमाले जिताऔँ अभियान चलाउन हो भने मात्र पार्टीले चलाएको मिसन ८४ सफल हुन्छ’,मुख्यमन्त्री कार्कीले भने।

प्रकाशित: ७ असोज २०८० ९:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + twenty =