लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान विशेष

हिंसापीडितको साथी विमला

विनोद परियार १७ मंसिर २०८० १६:५८
1.1k
SHARES
हिंसापीडितको साथी विमला

लुम्बिनी– विमला घिमिरे राति सधैँ सिरानीमै मोबाइल राख्छिन्। उत्तिकै चनाखो पनि। कत्तिखेर फोन आउँछ पत्तै हुँदैन। दिनभर त उनी प्रायः फोनमै व्यस्त हुन्छिन्। तत्काल ‘रेस्पोन्स’ गर्नुपर्छ। कतिपय ठाउँमा पुग्नैपर्छ। नपुगे पीडितको जिउज्यान तलमाथि पर्न सक्छ। सञ्चार सम्पर्कमा रहिरहने त्यो बानीले उनी जिम्मेवार व्यक्तित्वका रूपमा रहेकी छन्। यही कार्यले उनलाई अधिकारकर्मीको पहिचान दिलाएको छ।

साथी संस्था कपिलवस्तुकी संयोजक भएर काम गरिरहेकी घिमिरेका लागि रातबिरात आउने सूचना कहिलेकाहीँ निक्कै संवेदनशील हुन्छ। हिंसा, दुर्व्यवहार र शोषण प्रभावित बालिका, युवती र महिलाको जीवन जोखिममा हुन्छ। त्यस बेला तत्काल पुगेर उद्धार गर्नकै लागि रातदिन नभनी काममा खटिएकी हुन्छिन् विमला।

साथीले सदरमुकाम तौलिहवामा हिंसा प्रभावित महिलाका लागि आश्रय गृह सञ्चालन गरेको छ। त्यहाँ काखे नानीदेखि महिलासम्म आश्रित छन्। हिंसामा परेका, साना उमेरमै प्रेममा परेर भागेका र जबरजस्ती करणीलगायतका प्रभावित किशोरी/युवती पनि आश्रय गृहमा बस्छन्। प्रहरीले यस्ता प्रकृतिका महिलालाई साथीमै पठाउँछ। यस्तालाई सुरक्षित साथ राख्न निकै गाह्रो हुन्छ। सीमित स्रोतसाधनलाई अधिकतम उपयोग गर्दै कानुनी प्रक्रिया रहँदा वा अभिभावकले सुरक्षित राख्ने वातावरण नबन्दासम्म आश्रयगृहमा राखेर न्यायमा पहुँच पुर्‍याउने गरेको उनले बताइन्।

२०४० सालमा गुल्मी वीरवासमा जन्मिएकी घिमिरे ६२ सालमा विवाहपछि कपिलवस्तुमा छिन्। विवाहलगत्तै सामाजिक कार्यमा लागेकी उनले २०६५ सालदेखि महिलाका मुद्दासँग नजिक रहेर काम सुरु गरेकी हुन्। उनी ६ वर्षदेखि साथी संस्थाको संयोजकका रूपमा महिला, बालबालिका र हिंसा प्रभावितहरुको उद्धार, संरक्षण र कानुनी उपचारमा सहजीकरण गरिरहेकी छन्।

पढाइ एकतिर छ अर्कै व्यवसाय गर्दा पनि आत्मसन्तुष्टि मिलेको उनी बताउँछिन्। बीबीएस र बीएड उत्तीर्ण उनी स्वयंसेवी रूपमा काम गदागर्दै हिंसा, दुर्व्यवहार, कुटपिट, जबरजस्ती करणी र शोषण प्रभावित बालिका, युवती र महिलाको पीडा देखेर यो काम लागेकी हुन्। ‘रुँदै, कराउँदै, घाउचोट र पीडा लिएर आउँछन्। कहिलेकाहीँ बडो दर्दनाक अवस्थामा आउँछन्। त्यो देखेर मन मान्दैन। कसरी हुन्छ उनीहरूको अनुहारमा खुसी ल्याउन योजना बनाउन थाल्छु’, उनले भनिन्।

उनले आफ्नो सम्पर्कमा आएकाहरूलाई सम्झाई-बुझाई गरेर हुन्छ कि स्थानीय पालिका, प्रहरी प्रशासनको सहयोग लिएर समाधान गर्दै आएकी छन्। ‘कतिपय अवस्थामा कानुनी रूपमा अदालतमा मुद्दा गरेर पनि प्रभावितलाई न्याय र अधिकार दिलाएका छौँ। न्याय पाउँदा मनै आनन्दित हुन्छ। खुसीको सीमा हुँदैन’, उनले भनिन्।

हिंसा प्रभावित बालिकालाई सुरक्षाका लागि आश्रयगृहमा राख्दा र पीडितको हकमा राम्रो मनसायले काम गर्दागर्दै जिल्लादेखि सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणका चार मुद्दा संस्था र आफ्नो नाममा परेको अनुभव उनीसँग छ। ‘बन्दी प्रत्यक्षीकरणका मुद्दामा जवाफ पठाएर बिना कुनै जरिबाना फरफारक भएका छन्’, घिमिरेले भनिन्। न्याय र अधिकारका क्षेत्रमा काम गर्दा पीडकबाट डर, त्रास र धम्की आएको उनले सुनाइन्। ‘कहिलेकाहीँ ठूला नेता र मन्त्रीसम्मले केस मिलाउन फोन गरेर दबाब दिन्छन्। कतिपयले प्रलोभन पार्न खोज्छन्। तर अहिलेसम्म कुनै दबाब, प्रभावमा परेर काम गरिनँ’, उनले भनिन्, ‘सत्यका लागि डराउँदिनँ।’

घिमिरेले लैंगिक हिंसामा परेका बालबालिका र महिलाको उद्धार गर्दाका केही तिता अनुभव पनि सुनाइन्। आठ वर्षअघि आफ्नै बुवाले छोरीलाई बारम्बार बलात्कृत गरेपछि आठ वर्षीया छोरीलाई संरक्षण गर्न घिमिरेले मानसिक रुपमा निकै तनाव झेल्नुपरेको थियो। ‘बलात्कृत बालिकालाई उद्धार गरेर हामीले आवास गृहमा ल्यायौँ, त्यसपछि मुद्दा चल्यो’, उनले भनिन्, ‘मलाई पीडक पक्षबाट ज्यान मार्नेसम्मको धम्की आयो। म पछि हटिनँ। न्याय दिलाएरै छाडियो।’ उनले काम गरेको यस अवधिमा निकै कहालीलाग्दा हिंसाका घटना देख्नुपरेको छ।

अलपत्र र बेवारिसे अवस्थामा फेला परेका बालबालिका र किशोरीको जन्मदर्ता र नागरिकता बनाउन निकै सकस हुन्छ। यसैका लागि ठूलै पैरवी गर्नुपरेको उनको अनुभव छ। जन्मदर्ता र नागरिकता नहसदा उनीहरूले राज्यका आधारभूत सुविधा पाउँदैनन्।

पालिकादेखि प्रशासनसम्मका स्थानीय अधिकारीसम्मले पीडा बुझे भने समस्या समाधान हुन्छ। नभए कानुनको अभाव भन्दै थन्किँदा पीडितले थप पीडा भोग्नुपर्छ।

घिमिरेले स्थानीय तहसँग सहयोग जुटाई समन्वय गरेर आश्रय गृह चलाएकी छिन्। अहिले त्यहाँ बालबालिका र महिला गरी १० जना आश्रित छन्। बेवारिसे र अभिभावक नभएका ससाना तीन बालिकालाई काठमाडौँको एक विद्यालयमा पढाउन पनि पठाएकी छन्। घिमिरेले स्थानीय पालिकासहित अन्य सरकारी निकायले अझै पनि लैंगिक हिंसा न्यूनीकरणका लागि संवेदनशील भएर काम गर्न नसकेको बताइन्।

घिमिरे यस क्षेत्रमा लागेको १२ वर्ष भयो। यस अवधिमा एक हजार तीन सय ३८ लैंगिक हिंसा प्रभावितलाई न्यायमा पहुँच दिलाएको उनले बताइन्। तीमध्ये भारत र बंगलादेशका ३४ जना छन्। त्यस्तै ११३ जना जिल्ला बाहिरका छन्।

साथी संस्थाले आर्थिक सहयोग गरेपछि १६ जनाले जीविकोपार्जनमा संलग्न भएका छन्। हिंसा प्रभावित सात बालिकालाई उच्चशिक्षा अध्ययन अध्यापन गराउन भूमिका खेलेकी छिन्। १३ जना हिंसा प्रभावितलाई नयाँ र उपयुक्त ठाउँमा पुनर्स्थापना  गराउन सहयोग गरेकी छिन्। हिंसा प्रभावित महिलाका आफन्त कोही नहुँदा संरक्षणकर्ता साथी संस्था भएर ६ जना महिलाका तर्फबाट मुद्दा दायर गरेर न्याय दिलाएको घिमिरेले बताइन्। उनले भनिन्, ‘सामान्य परामर्श दिएको महिलाको संख्या त एक हजार ५ सय बढी भइसकेका छन्।’

हाडनाता करणी भएको भनेर छोरीले भन्दाभन्दै परिवार र समाजले कानुनी प्रक्रियामा जान हुँदैन भनी बयान परिवर्तन गरेर मुद्दा कमजोर बनाउँदा निकै दुःख लाग्ने गरेको उनकमो गुनासो छ।

‘मुद्दा कमजोर हुँदा अपराध र आपराधिक मनोवृत्ति बढेर समाज नराम्रो दिशातिर अघि बढिरहेको छ’, उनले भनिन्। लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला घिमिरेले हिंसा नसहन सुझाव दिन्छिन्।

बर्सेनि ५० हजार महिलाको तस्करी, खाडी र मलेसियामा मात्रै दुई लाख अवैध

प्रकाशित: १७ मंसिर २०८० १६:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + thirteen =