लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान विशेष

बर्सेनि ५० हजार महिलाको तस्करी, खाडी र मलेसियामा मात्रै दुई लाख अवैध

रमेश भारती १७ मंसिर २०८० १२:०८
52
SHARES
बर्सेनि ५० हजार महिलाको तस्करी, खाडी र मलेसियामा मात्रै दुई लाख अवैध विभिन्न देशबाट उद्धार गरेर फर्काइएका पीडित महिलालाई मानव बेचबिखनविरुद्ध सचेतना तालिम दिँदै माइती नेपालका अधिकारीहरू। तस्बिर साभार : माइती नेपाल

खाडी मुलुक र मलेसियामा नेपाली घरेलु महिला कामदारका लागि प्रतिबन्धित रहे पनि तस्करहरूले ती देशमा महिलालाई अवैध बाटो भएर लैजाने क्रम रोकिएको छैन। मोटो रकम लिएर पठाइएका महिलाले ती देशहरूमा शारीरिक एवम् मानसिक यातना सहँदै आएका छन्।

काठमाडौँ– नुवाकोट विदुर नगरपालिकाकी विदुरदेवी (नाम परिवर्तन) दुई वर्षअघि वैदेशिक रोजगारीका लागि कुवेत पुगिन्। उनलाई एजेन्टले कुवेतको एक कम्पनीभित्र राम्रो रोजगारीमा लगाइदिने प्रलोभन देखाएर त्यहाँ पठाएका थिए। ती महिला घरेलु काममा बिक्री भएकी थिइन्।

विदुरदेवीले भनिन्,‘कुवेतको एक कम्पनीमा काम लगाइदिने प्रलोभन देखाएर काभ्रेका कवीर तामाङले १ लाख ५० हजार रुपैयाँ लिएर पठाएका थिए। कुवेत पुगेपछि एक जना जुत्ता व्यापारीको घरमा काम गर्न पुर्‍याइयो। त्यहाँ दुई वर्ष शारीरिक र मानसिक यातना सहेर फर्किएँ।’

उनलाई वैदेशिक रोजगारीसम्बन्धी काम गर्ने एक संस्थाले उद्धार गरेर दुई महिनाअघि स्वदेश फर्काएको हो। हाल उनी त्यही संस्थाको सहयोगमा सिलाइ-बुनाइ तालिम लिँदैछिन्। श्रीमान्‌ले अर्की महिलासँग बिहे गरेपछि छोराछोरी पढाउन वैदेशिक रोजगारीमा जानुपरेको विदुरदेवीले बाध्यता सुनाइन्। श्रीमान् र परिवारबाट हेपिएपछि काठमाडौँमा ज्यामी गर्दै बसेकी उनलाई त्यतिबेला भारतको बाटो भएर कुवेत पुर्‍याइएको थियो। उनी भन्छिन्, ‘मलाई तस्करीले झुक्याएर बिक्री गरेका रहेछन्। कुवेत पुगेपछि मात्रै थाहा पाएँ।’

सात कक्षासम्म मात्र पढेका कारण आफू तस्करीको फन्दामा परेको उनको भनाइ छ। घरमा काम गर्दा विभिन्न यातना भोग्नुपरे पनि तबलचाहिँ मालिकले समयमा दिएको उनले जानकारी दिइन्।

विदुरदेवीलाई घर छाड्नुपर्दा एकातिर पारिवारिक समस्या थियो भने अर्कोतिर तस्करीले झुक्याएर कुवेतमा घरेलु रोजगारीमा बेच्यो। ‘मेरा लागि योभन्दा ठूलो दुःख के होला’, उनले दुःखेसो पोखिन्।

दाङकी घोराहीकुमारी (नाम परिर्वतन) को दुःख पनि विदुरदेवीको जस्तै छ। घोराहीकुमारीलाई पनि एजेन्टले यूएई हुँदै कुवेत रोजगारीमा पुर्‍याएको थियो। यूएईको होटलमा सरसफाइको काम भनेर एजेन्टले कुवेत पुर्‍याएको उनले जानकारी दिइन्। ‘तीनजुरे म्यानपावर कम्पनीले यूएई हुँदै कुवेत घरेलु कामदारमा पठाएको थियो। एयरपोर्टमै सेटिङ मिलाएर म्यानपावर सञ्चालकले यूएई पठाएर कुवेत पुर्‍याए’, उनले भनिन्, ‘आफूमाथि यौनशोषण भएपछि कुवेतबाट साहुको घर छाडेर भोगेँ।’ उनी काठमाडौँ फर्किए पनि घर जान सकेकी छैनन्। ‘विदेशमा भोगेको पीडा घरमा कसरी सुनाउनु र कसरी मुख देखाउनुजस्तो भएको छ’, घोराहीकुमारीले भनिन्।

यूएई जाँदा म्यानपावरलाई २ लाख २० हजार रुपैयाँ तिरेको उनी बताउँछिन्। कक्षा १० को अध्ययन पूरा गरेर काठमाडौँको एक पसलमा काम गर्दा-गर्दै उनी वैदेशिक रोजगारीमा गएकी थिइन्। वैदेशिक रोजगारीका लागि भन्दै तस्करको फन्दामा परेका यी दुई प्रतिनिधि पात्र मात्र हुन्। उनीहरू जस्ता धेरै महिला वैदेशिक रोजगारीको नाम मानव बेचबिखनको सिकार बनेका छन्।

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको निर्देशनपछि २०७२ साल चैतदेखि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया र खाडीमा घरेलु रोजगारीमा जाने महिला कामदारका हकमा श्रम स्वीकृति जारी गरेको छैन। खाडी देश र मलेसियामा घरेलु रोजगारीमा गएका नेपाली महिला कामदारमाथि चरम आर्थिक, मानसिक र शारीरिक शोषण भएको भन्दै संसदीय समितिले रोक लगाए पनि अवैध बाटो भएर महिला कामदार ती देश रोजगारीमा गइरहेका छन्।

प्रतिबन्ध रहे पनि नेपाली महिला कामदार इराक, युक्रेन, लिबियालगायतका देशमा अवैज्ञानिक र असुरक्षित रूपमा घरेलु रोजगारीमा गइरहेको श्रम मन्त्रालयको वार्षिक प्रतिवेदनमा उल्लेख छ।

वार्षिक ५० हजार तस्करी

मानव तस्करले सेटिङमार्फत दैनिक दुई सय जना महिलालाई रोजगारीका लागि भन्दै कुवेत, ओमान, यूएई, कतार, बहराइन, युएई र मलेसियालगायतका देशमा पठाइरहेका छन्। उनीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित भारत, श्रीलंका र बंगलादेशको बाटो हुँदै नेपाली महिलालाई खाडी मुलुकमा पठाउने गरेको श्रम मन्त्रालयका अधिकारीहरू बताउँछन्।

महिला घरेलु कामदारको श्रम स्वीकृतिमा निरन्तर प्रतिबन्ध लगाउँदा विमानस्थलमा सेटिङ गर्ने गिरोह, बिचौलिया र मानव तस्करहरूलाई फाइदा भइरहेको महिला अधिकारवादी संस्थाहरूको सञ्जालको अध्ययनमा उल्लेख छ। महिलालाई अझै जोखिमपूर्ण, तनावपूर्ण तथा अनावश्यक अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यात्मक अवस्था रहेको म्यानपावर व्यवसायीले औँल्याउँदै आएका छन्। वार्षिक ५० हजारभन्दा बढी महिला तस्करीमा पर्ने गरेको सञ्जालले राष्ट्रिय महिला आयोगमा बुझाएको अध्ययन प्रतिवेदनमा उल्लेख छ।

नेपाल प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोले पनि वार्षिक २० हजारभन्दा बढी महिला घरेलु रोजगारीका लागि भारत, बंगलादेश, म्यानमार र श्रीलंका हुँदै अवैध रूपमा खाडीका देश तस्करी भइरहेको बताउँदै आएको छ।

वैदेशिक रोजगारीका नाममा मानव तस्करी र असुरक्षित बाटो हुँदै महिला कामदार खाडीका देश मानव तस्करीले पुर्‍याइरहेको घरेलु कामदार सरोकार समाज नेपालका अध्यक्ष किसन प्रधानले जानकारी दिइन्।

वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउँदै रोजगारीका नाममा भइरहेको मानव तस्करी नियन्त्रण गर्न सरकारले तत्काल आवश्यक कदम चाल्नुपर्ने उनले बताइन्। ‘महिला भएकै कारण रोजगारी र स्वतन्त्रतापूर्वक आवागमनको संविधान प्रदत्त अधिकार उपभोगमा अंकुश लगाउने कार्य न्यायोचित होइन। ससंद्ले सविधानमाथि बसेर जनताको रोजगार अधिकार हनन गर्नु हुँदैन’, उनले भनिन्।

महिला अधिकारवादी संस्थाहरूले वैदेशिक रोजगारअन्तर्गत घरेलु कामदारको श्रम स्वीकृति नदिने सरकारी निर्णय परिवर्तनका लागि राष्ट्रिय महिला आयोगमार्फत आग्रह गर्दै आएका छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारीहरू भने ससंदीय समितिले गरेको निर्णय भएका कारण महिला घरेलु रोजगारीको प्रतिबन्ध फुकाउन समस्या भइरहेको बताउँदै आएका छन्। रोजगारदाता देशसँग श्रम मन्त्रालयले ससंदीय समितिको निर्णयपछि श्रम सम्झौता भएका देशसँग घरेलु महिला कामदार पठाउने विषयमा दुई पक्षीय श्रम सम्झौता वा समझदारीसमेत श्रम मन्त्रालयले गरेको छैन।

वैदेशिक रोजगारमा घरेलु महिला कामदार पठाउने अनुमति दिन सक्ने व्यवस्था छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारी भने एक दशकयता महिला कामदार पठाउने विषयमा रोजगारदाता देशसँग दुई पक्षीय श्रम सम्झौताको पहल नभएको बताउँछन्। सरकारले प्रतिबन्ध लगाएका देशमा महिला कामदारको माग भइरहेको छ। श्रम मन्त्रालयले श्रम सम्झौता नगरी पठाउन नसकिने जवाफ दिँदै आएको उनले बताए।

हाल मानव तस्करीमा परेका महिलालाई विदेशी महिला आयोग, गैरसरकारी संस्था तथा महिला अधिकारवादी संस्थाहरुको पहलमा उद्धार गरी स्वदेश फकाइने गरिएको छ।

दुई लाख महिला अवैध

विभिन्न देशमा करिब १२ लाख महिला कामदार रोजगारीमा कार्यरत रहेको श्रम मन्त्रालयको अनुमान छ। जसमा चारदेखि ५ लाख महिला विभिन्न देशमा घरेलु रोजगारीमा कार्यरत छन्।

श्रम अनुमतिको अवधि सकिए पनि करिब दुई लाख महिला घरेलु रोजगारीमा कार्यरत नेपाली महिला कामदार विभिन्न देशमा कार्यरत रहेको श्रम मन्त्रालयको तथ्यांक छ।

उनीहरू सम्बन्धित देशमा अवैध रुपमा रोजगारदाता कम्पनीमा शरण लिएर काम गरेर बसिररहेको श्रम मन्त्रालयको अनुमान छ।

साउदीमा ५५ हजार, मलेसियामा ५० हजार, कतारमा ४५ हजार, कुवेतमा ३०, यूएईमा ३० हजार, ओमानमा १५ हजार र बहराइनमा १० हजार अवैध रूपमा बसेर घरेलु क्षेत्रमा काम गरिरहेको श्रम मन्त्रालयले जनाएको छ। यो श्रम मन्त्रालयले तथ्यांक रोजगारदाता देशमा रहेको दूतावासबाट लिएको तथ्यांक हो।

द्विपक्षीय श्रम सम्झौता भएको खाडीकै देश जोर्डनमा भने घरेलु महिला कामदार रोजगारीमा गइरहेका छन्। गत आर्थिक वर्षमा करिब सात सय महिला घरेलु कामका लागि जोर्डन गएको विभागको तथ्यांक छ। दक्षिण कोरियामा करिब एक दशकदेखि ईपीएस प्रणालीमार्फत महिला कामदार वैदेशिक रोजगारीमा गइरहेका छन्।

रोजगारीसँगै अन्य सुरक्षाको ग्यारेन्टी भए मात्र सरकारले घरेलु रोजगारीमा महिला कामदार पठाउन सहज हुने श्रम मन्त्रालयका सहसचिव रविज पोखरेलले बताए। उनले भने, ‘महिला कामदार वैदेशिक रोजगारीमा पठाउने विषय संवेदनशील हो। त्यही भएर सरकारले पनि गम्भीर अध्ययन गर्नुपर्छ।’ दुई देशको हित हुने गरी सम्झौता भए मात्र महिला कामदार पठाउन सहज हुने उनको भनाइ छ। महिला कामदारले पनि अन्तर्राष्ट्रिय मापदण्डअनुसार सम्झौता गर्नुपर्छ।

अवैध रुपमा बसेका महिला कामदारलाई फर्काउने श्रम मन्त्रालय रोजगारदाता देशमा रहेका दूतावासबाट पुनः श्रम स्वीकृति लिनसक्ने व्यवस्था सुरु गरेको छ। तर यो कानुनी व्यवस्थामा अवैध भएर बसेका महिला कामदार सहभागी नभएको वैदेशिक रोजगार विभागले जनाएको छ।

गत वर्ष श्रम मन्त्रालयले करार अवधि सकिएर रोजगारदाता देशमै काम गर्दै बसेका महिला कामदारलाई स्वदेश फर्किन पुनः श्रम स्वीकृति खुलाएको थियो। फेरि वैदेशिक रोजगारीमा जान नपाउन डरले धेरै महिला स्वदेश फर्किएनन्।

महिला घरेलुु कामदारको श्रम स्वीकृति रोक्दा खुला रहेको अवधि २०६७ देखि २०७१ सालसम्म गएका घरेलु महिला कामदार नेपाल आएर पुनः जान नपाउने भएपछि धेरै महिला कामदार स्वदेश फर्किएका छैनन्। उनीहरूलाई स्वदेश फर्काउन सरकारले कार्यक्रम ल्याए पनि ती महिला रोजगारदाता देशमा लुकेर काम गर्दै बसेको श्रम मन्त्रालयकै अधिकारीहरु बताउँछन्।  पछिल्लो समय म्यानपावरले विभिन्न कम्पनीको नक्कली वर्किङ भिसामा समेत घरेलु रोजगारीमा महिला कामदार खाडी देश पुर्‍याउने गरेका छन्।

प्रकाशित: १७ मंसिर २०८० १२:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − five =