सतिशलाल आचार्य भन्छन्– एनसेल थप परिष्कृत भएर आउने छ

हिमाल प्रेस १७ मंसिर २०८० १३:४२
32
SHARES
सतिशलाल आचार्य भन्छन्– एनसेल थप परिष्कृत भएर आउने छ

काठमाडौँ– स्पेक्ट्रलाइट यूके लिमिटेड र आजियाटा यूके लिमिटेडबीच एनसेलको सेयर कारोबारका लागि सम्झौता भएको छ। यो सम्झौता बमोजिम स्पेक्ट्रलाइट यूकेले आजियाटाको सेन्टस् कीटस् एन्ड नेभीसमा रहेको रेनोल्डस् होल्डिङ् लिमिटेडको १०० प्रतिशत स्वामित्व लिनेछ। एनसेलको ८० प्रतिशत स्वामित्व रेनोल्डस् होल्डिङ्सँग रहेको छ। स्पेक्ट्रलाइटले एनसेलका सेवाहरूको दायरा विस्तार गर्दै गुणस्तर अभिवृद्धि गर्न र डिजिटल आविष्कारहरूका साथ एनसेललाई अगाडि बढाउन प्रतिबद्ध रहेको जनाएको छ।

स्पेक्ट्रलाइट यूकेका लगानीकर्ता सतिशलाल आचार्य हुन्। उनी सिंगापुरमा रहेका नेपाली मुलका व्यवसायी हुन्। उनी भन्छन् ‘एनसेलको सेयर होल्डिङको लागि यो सम्झौताको घोषणा गर्न पाएकोमा स्पेक्ट्रलाइट निकै खुसी छ। दूरसञ्चार क्षेत्रको मेरो वृहत अनुभवका साथ एनसेल व्यवस्थापनसँगको सहकार्यमा इनोभेसन र लगानीसँगै नेपालमा रहेका करोडौँ ग्राहकलाई विभिन्न परिस्कृत सेवा प्रदान गर्न हामी प्रतिबद्ध छौँ।’

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, ‘एनसेलको स्वामित्वमा आगामी दिनमा हुने परिवर्तनदेखि हामी खुसी छाैँ र नयाँ लागानीकर्तासँग काम गरी एनसेललाई डेटा र सञ्चार पूर्वाधारको एक नेपाली कम्पनीका रूपमा अघि बढाउन हामी तत्पर छौँ। आगामी दिनमा कम्पनीको परिष्कृत योजनाहरु घोषणा गर्दै सेवाहरूको दायरा फराकिलो बनाइने छ जसले यो कम्पनीलाई एक प्रमुख डिजिटल सेवा प्रदायक तथा डेटा सेवा प्लेटफर्म बनाउनेछ।’

एनसेल नेपालको पहिलो निजी मोबाइल सेवाप्रदायक कम्पनी हो। सन् २००४ मा स्थापना भइ २००५ देखि यस कम्पनीले सेवा प्रदान गर्दै आएको छ। एनसेल नेपालको सबैभन्दा धेरै कर तिर्ने कम्पनीमध्येकाे एक हो। स्थापनादेखि गत आर्थिक वर्ष २०७८/७९ सम्म एनसेलले कर तथा अन्य शुल्क गरी विभिन्न शीर्षकमा २ खर्ब ८३ अर्ब रुपैयाँभन्दा बढी कर तिरेको छ। त्यसैगरी एनसेलले जिम्मेवार कर्पोरेटका रूपमा व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरणलगायतका विभिन्न क्षेत्रमा १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ।

प्रकाशित: १७ मंसिर २०८० १३:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + ten =