भाइरल भिडियोका कारण हैरान रश्मिका

हिमाल प्रेस २४ कार्तिक २०८० १३:२५
14
SHARES
भाइरल भिडियोका कारण हैरान रश्मिका

काठमाडौँ- भारतीय अभिनेत्री रश्मिका मन्दाना यतिखेर निकै चर्चामा छिन्। कारण हो, एउटा भिडियो। जो केही दिनयता सामाजिक सञ्जालमा भाइरल छ। भिडियोमा उनी लिफ्टबाट हाँस्दै बाहिर निस्किरहेकी छन्।

भिडियो डिपफेक हो। आर्टिफिसियल इन्टेलिजेन्सको मद्दतले बनाइएको सो भिडियोमा देखिएकी महिला रश्मिका होइनन्। भारतीय मूलकी बेलायती नागरिक जारा पटेलको हुन्। उनको अनुहारमा रश्मिकाको अनुहार राखेर भिडियो भाइरल गरिएको हो।

आफ्नो डिपफेक भिडियो भाइरल भएपछि रश्मिकाले त्यसबारे बहस हुनुपर्ने भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेकी छन्। ‘भाइरल भएको डिपफेक भिडियोबारे कुरा गर्नुपर्छ,’ उनले लेखेकी छन्, ‘यो प्रविधिको दुरुपयोग हो। यो मेरा लागि मात्र नभई प्रत्येकका लागि डरलाग्दो विषय बनेको छ। हामी सबै जोखिममा छौँ।’

भारत सरकारले इन्स्टाग्राम, एक्स र फेसबुकमा सेयर भएको रश्मिकाको डिपफेक भिडिओ २४ घण्टाभित्र हटाउन निर्देशन दिएको थियो।

‘एक्सप्रेसन क्विन’का नामले प्रख्यात रश्मिकालाई कर्नाटकमा ‘नेसनल क्रस’ भनिन्छ। सन् २०१६ मा अभिनयमा डेब्यु गरेकी उनले अहिलेसम्म लगभग २० वटा फिल्ममा काम गरेकी छन्। चारपाँच वटामा बाहेक उनका सबै फिल्म सफल नै भएका छन्।

करियरको छोटो अवधिमै उनी निकै चर्चित भएकी छन्। इन्स्टाग्राममा उनका लगभग ४० मिलियन फलोअर छन्। २० वर्षको उमेरदेखि फिल्म क्षेत्रमा काम सुरु गरेकी उनले ‘अंजनीपुत्र’, ‘चमक’, ‘गीत गोविन्दम’, ‘सुल्तान’लगायत फिल्ममा काम गरेकी छन्। सन् २०२२ मा अल्लु अर्जुन अभिनीत ‘पुष्पा : द राइज’बाट उनको चर्चा झनै चुलिएको छ। फिल्ममा श्रीवल्लीको भूमिका निर्वाह गरेकी उनको अभिनयको सबैले प्रशंसा गरेका थिए।

२०२२ मा फिल्म ‘गुडबाय’बाट उनले बलिउडमा डेब्यु गरिन्। त्यसमा बलिउडका महानायक अमिताभ बच्चनसँग काम गरिन्। तर, फिल्मले सफलता हात पारेन। त्यसपछि रश्मिका बलिउड फिल्म ‘मिसन मजनू’मा देखिइन्। फिल्ममा उनीसँगै अभिनेता सिद्धार्थ मल्होत्रा थिए। छिट्टै उनी अभिनेता रणवीर कपुरसँग फिल्म ‘एनीमल’मा देखिनेछिन्। फिल्म आगामी डिसेम्बर १ मा प्रदर्शनमा आउनेछ।

प्रकाशित: २४ कार्तिक २०८० १३:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =