प्रधानमन्त्रीले गरे वैज्ञानिकहरूको प्रशंसा

हिमाल प्रेस २३ कार्तिक २०८० ११:२०
4
SHARES
प्रधानमन्त्रीले गरे वैज्ञानिकहरूको प्रशंसा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को ४६ औँ प्राज्ञसभामा बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड।

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ४० वर्षमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले चार अर्बको बजेटबाट गरिएका विज्ञान, प्रविधि र प्रवर्धनात्मक कार्यहरू प्रशंसनीय रहेको बताएका छन्। उनले भने, ‘तर पर्याप्त छैन। राज्यको ध्यान अझै विज्ञान र प्रविधिमा केन्द्रित हुन सकेको छैन, प्राज्ञिकहरूको सुझाव र सल्लाह एवं बन्दै गरेको विज्ञान, प्रविधि र नवप्रवर्तनसम्बन्धी विधेयकअनुसार देशको रूपान्तरणका लागि हातेमालो गर्दै काम गर्दै जान निर्देशित गर्दछु।’

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका कुलपतिसमेत रहेका ‘प्रचण्ड’ ले बिहीबार नास्टको ४६ औँ प्राज्ञसभामा सम्बोधन गर्दै उक्त कुरा बताएका हुन्। प्रधानमन्त्रीले देशमा विज्ञान तथा प्रविधिको विकासका लागि हरतरहले सहयोग गर्न उत्सुक रहेको आश्वासन दिएका छन्। नवीनतम र उदीयमान प्रविधि विकासको अपरिहार्यतालाई आत्मसात् गर्दै राष्ट्रको ध्यान यसतर्फ आकर्षित गर्न वैज्ञानिकहरूले गरेको सत्प्रयासको प्रधानमन्त्रीले सराहना गरेका छन्।

उनले भने, ‘विज्ञान र प्रविधिको अनुसन्धानमा सक्रिय रहेर, अनुसन्धानकर्तालाई सहयोग र सहकार्य गरेर, विज्ञान र प्रविधिको विस्तारलाई प्रवर्धन गर्दै जेजति गर्नुभएको छ, नास्ट र यसका सहयात्री संस्थाहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछु।’

वर्तमान परिस्थितिमा सहकार्यको माध्यमबाट नै सफलताको सिँढी उक्लन सहज हुने देखिएकाले यसतर्फ सचेत भई अगाडि बढ्न पनि उनले ध्यानाकर्षण गराए। उनले भने, ‘म आफैँ पनि विज्ञानको विद्यार्थी भएकाले विज्ञान तथा प्रविधिका क्षेत्रमा नेपाली वैज्ञानिक प्राविधिज्ञहरूको क्षमता र तपाईंहरूले पुर्‍याउनुभएको योगदानको बारेमा अनभिज्ञ छैन।’

नवप्रवर्तनलाई प्राथमिकता दिई स्वदेशी प्रविधिको विकासमा धेरै काम गर्न नसके पनि अभिलेखीकरण गर्न र प्रयोगशाला स्थापनाका लागि गरेका प्रयास अनुकरणीय रहेको उनको भनाइ छ। उनले भारतीय अन्तरिक्ष अनुसन्धान संस्थाकाे सहकार्यमा मुनाल स्याटेलाइट प्रक्षेपण गर्ने तयारीमा युवा वैज्ञानिकहरूलाई समेट्दै वैज्ञानिकहरू जुटेको थाहा पाउँदा खुसी लागेको बताए।

प्रधानमन्त्रीले वैज्ञानिकहरूप्रति नेपाली जनताको बढी नै अपेक्षा रहेकाले यदाकदा गरिएका गुनासा स्वाभाविकझैं लाग्ने पनि बताए। उनले भने, ‘विश्वास छ, ती गुनासालाई तपाईंहरूले विश्वास र भरोसामा रूपान्तरण गर्नु हुनेछ र देशका लागि अनुसन्धान र नवप्रवर्तनमार्फत उपयुक्त प्रविधि विकास एवं परिमार्जनमा परिमाणात्मक प्रभाव देखाउन सक्षम हुनुहुनेछ भन्ने विश्वास पनि मैले लिएको छु।’
नेपाल सरकारले वैज्ञानिकहरूबाट चमत्कार मात्रै नखोजी जीवनमा सुधार ल्याउन, स्रोत र साधनलाई केन्द्रमा राखेर अनुसन्धानका विषय बनाउने चाहेको प्रधानमन्त्रीले बताए।

प्रकाशित: २३ कार्तिक २०८० ११:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − eight =