उपनेता चुन्न सजिलो छैन ओलीलाई

किरण पौडेल २२ कार्तिक २०८० १६:४७
52
SHARES
उपनेता चुन्न सजिलो छैन ओलीलाई एमाले अध्यक्ष केपी शर्मा ओली। फाइल तस्बिर

काठमाडौँ– भदौ २७ मा उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवास नेम्वाङको निधनपछि नेकपा एमालेलाई अपूरणीय क्षति पुगेको छ। नेम्वाङ संसदीय राजनीतिमा अनुभवी र कानुनका पनि ज्ञाता थिए। शालीन र बौद्धिक व्यक्तित्व भएकाले एमालेबाहिर समेत उनको लोकप्रियता थियो। एमाले संसदीय दल त नेम्वाङ एक्लैजसोले चलाएको नेताहरू स्मरण गर्छन्।

अध्यक्ष केपी शर्मा ओलीका विश्वासिला पात्र भएकाले पनि संसदीय फाँटमा नेम्वाङको प्रभाव थियो। कानुनी समस्या आउँदा पार्टीमा नेम्वाङ नै अघि सर्थे। एमालेमा संसदीय दलको उपनेता र पार्टी उपाध्यक्ष दुवै पद रिक्त छन्। उनी बितेको दुई महिना बित्दा पनि पार्टीले संसदीय दलको उपनेता पाउन सकेको छैन। यति बेला पार्टीमा उपाध्यक्षभन्दा पनि उपनेताको अभाव रहेको नेताहरू बताउँछन्।

नेम्वाङ पहिलोपल्ट पार्टीको उपनेता भएका थिएनन्। दुई तिहाइ नजिकको तत्कालीन नेकपा रहँदा पनि पार्टी संसदीय दलको उपनेतामा थिए। नेकपापूर्व विभाजित बनेको एमाले र गत मंसिरमा भएको निर्वाचनपछि पनि नेम्वाङ उपनेता बने।

नेम्वाङलाई उपनेता बनाउँदा अध्यक्ष ओलीलाई पनि फाइदै थियो। उनी पार्टीका तर्फबाट सशक्त आवाज संसद्‌मा उठाउन सक्थे भने सभामुखदेखि अन्य पार्टीका नेताले पनि उनको आवाज राम्ररी सुन्थे। ‘उहाँ (नेम्वाङ) को अभाव त पूर्ति हुँदैन। तर सधैँ पद (उपनेता) खाँचो गराएर पनि भएन’, एमाले उपमहासचिव प्रदीप ज्ञवाली भन्छन्, ‘पार्टीको क्रियाकलापमा पनि उहाँको अभाव छ। देशले नै असल नेता गुमाएको छ। एमालेलाई समस्या नपर्ने कुरै भएन।’

अध्यक्ष ओली नेम्वाङको ठाउँमा कसलाई ल्याउने भन्ने अन्योलमा छन्। पार्टीको संसदीय दलको नेता ओली आफैँ छन्। पदमा भए पनि ओलीले खास संसदीय गतिविधिमा ध्यान पुर्‍याउँदैनथे। बारम्बार सिंहदरबार गइरहने, नेताहरूसँग बाक्लो भेटघाट गरिरहने भएकाले नेम्वाङले सबै जिम्मेवारी सम्हाल्थे।

अहिले पार्टी संसदीय दलको उपनेता को बन्छ भन्ने चासोको विषय बनेको छ। पार्टी नेताहरू संसदीय मामिलामा अनुभवी नेताको अभाव रहेको बताउँछन्। पार्टीका ‘सिनियर’ नेताले चुनाव हारेका कारण एमाले समस्यामै छ। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे र महासचिव शंकर पोखरेल संसद्‌मा छैनन्।

उपाध्यक्षमध्येका रामबहादुर थापा ‘बादल’, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्यले चुनाव उठ्नै पाएनन्। उपाध्यक्ष विष्णु पौडेलले मात्रै चुनाव जितेका छन्।
उपमहासचिवमध्ये प्रदीप ज्ञवालीले चुनाव हारे। अर्का उपमहासचिव विष्णु रिमाल चुनाव लडेनन् भने उपमहासचिव पृथ्वीसुब्बा गुरुङले चुनाव त जिते तर उनी ओली निकट मानिँदैनन्।

सचिवमध्ये लेखराज भट्ट र पद्‌मा अर्यालले चुनाव हारेका छन्। गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा र रघुवीर महासेठ प्रतिनिधिसभा सदस्य छन्। तर उनीहरूमाथि ओलीले विश्वास नगर्ने नेताहरू बताउँछन्। यही कारण अब ओलीलाई उपनेता चुन्न सहज छैन। एमाले नेताहरूका अनुसार उपनेताका सम्भावित व्यक्ति उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव गुरुङ हुन्।

पछिल्लो समय उपनेतामा पौडेलको सम्भावना बढी रहेको एमाले नेताहरू सुनाउँछन्। पार्टीका सिनियर नेता भएकाले पनि पौडेलले सोही भूमिका खोजेको उनी निकट नेताहरूको भनाइ छ। एमाले-माओवादी गठबन्धनबाट मन्त्री बन्दासमेत पार्टीबाट पौडेलले नेतृत्व गरेका थिए। ओलीका निकट नेता नभए पनि पौडेलले उपनेताको जिम्मेवारी निर्वाह गर्न सक्ने सम्भावना छ।

उपाध्यक्षमा पनि त्यस्तै

एमालेको उपाध्यक्ष पद रिक्त छ। एमालेमा अन्य उपाध्यक्ष रहे पनि नेम्वाङको भूमिका अभाव रहेको एमाले नेता विष्णु रिजाल बताउँछन्। उनी भन्छन्, ‘नेम्वाङको ठाउँमा कसलाई ल्याउने भन्ने अन्योल नै छ।’

उपमहासचिव ज्ञवालीका अनुसार उपाध्यक्ष मनोनीत गर्न सकिन्छ। तर मनोनीत गर्ने वा नगर्ने भन्ने कुरा अध्यक्षमा भर पर्ने विषय हो। ‘उपनेता जस्तो महत्त्वपूर्ण पद उपाध्यक्ष होइन। किनभने अन्य उपाध्यक्षहरू पनि हुनुहुन्छ’, ज्ञवाली भन्छन्।

एमाले निकट स्रोतका अनुसार अध्यक्ष ओली तत्काल उपाध्यक्ष मनोनीत गर्ने पक्षमा छैनन्। अधिकांश नेताले दाबी गरिरहेका कारण अध्यक्ष ओलीले झन्झट मोल्न नचाहेको एमालेका एक नेताले बताए।

नेम्वाङको निधनपछि एमालेको एक प्रत्यक्ष निर्वाचित सांसदसमेत घटेको छ। इलाम-२ बाट निर्वाचित नेम्वाङको निधनपछि त्यहाँ उपनिर्वाचन हुँदैछ। एमालेले उपनिर्वाचनमा लड्ने उपक्युत उम्मेदवारसमेत भेट्टाएको छैन। २०७९ को निर्वाचनमा झिनो मतले जितेका नेम्वाङको स्थानमा चुनाव जित्न पार्टीलाई सहज छैन।

प्रकाशित: २२ कार्तिक २०८० १६:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 4 =