च्याम्पियन्स लिग : सिटीसँगै लाइपजिग नकआउटमा, बार्सिलोना र पीएसजी रोकिए

हिमाल प्रेस २२ कार्तिक २०८० ७:४८
6
SHARES
च्याम्पियन्स लिग : सिटीसँगै लाइपजिग नकआउटमा, बार्सिलोना र पीएसजी रोकिए

काठमाडौँ- गत सिजनको च्याम्पियन म्यानचेस्टर सिटी र जर्मन क्लब आरबी लाइपजिग यसपालिको च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेका छन्। यी दुई टिमले समूह ‘जी’ बाट नकआउट चरणमा स्थान पक्का गरेका हुन्।

समूह चरणमा एकै खेल नहारेको सिटीले मंगलबार राति स्विटजरल्यान्डको योङ ब्वोइजलाई ३–० ले स्तब्ध बनायो। उता लाइपजिगले सर्बियाली क्लब रेडस्टार बेलग्रेडमाथि २–१ को जित दर्ता गर्‍यो।

सिटी चार खेलबाट १२ अंक बटुलेर समूह विजेता बन्दा नौ अंक भएको लाइपजि उपविजेता बनेको हो। यो समूहका बाँकी दुई टिम रेडस्टार र योङ ब्वोइजसँग एक–एक अंक मात्र छ।

इत्तिहादमा सिटीलाई विजयी बनाउन एर्लिङ हालान्डले दुई गोल गरे। उनले योङ ब्वोइजसँगको पहिलो लेगमा पनि दुई गोल नै गरेका थिए। सिटीको अर्को गोल फिल फोडनको नाममा रह्यो।

सिटीले पहिलो गोल पेनाल्टीमा गरेको थियो। पाहुना टिमका मिडफिल्डर सान्द्रो लाउपरले माटिएस नुनेजलाई लडाएपछि सिटीले पेनाल्टी पाएको थियो। पेनाल्टीमा हालान्ड चुकेनन्। र, सिटी पहिलो हाफको २३ औँ मिनेटमा अघि बढ्यो। केही मिनेटपछि उनै लाउपरले रातो कार्ड पाउँदा योङ ब्वोइज १० खेलाडीमा सीमित भयो।

पहिलो हाफ सकिनै लाग्दा सिटीले अग्रता दोब्बर बनायो। ज्याक ग्रिलिसको लामो पास नियन्त्रणमा लिएका फोडन योङ ब्वोइजका राइटब्याक उलिसे गार्सियालाई बिट गर्दै पेनाल्टी क्षेत्रमा प्रवेश गरेका थिए। त्यसपछि उनले बायाँ खुट्टाबाट गरेको प्रहार सुन्दर गोलमा परिणत भएको थियो।

दोस्रो हाफको ५१ औँ मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो गोल गरे। उनले १८ यार्ड बक्सबाहिरबाट शक्तिशाली प्रहार गर्दै सिटीको तेस्रो गोल गरे।

समूह चरण पारे गरेपछि सिटीका प्रशिक्षक पेप ग्वार्डिओला प्रसन्न देखिए। ‘मान्छेहरु भन्छन्, समूह चरण त सजिलो हुन्छ। तर यो पनि पार गर्नु त पर्‍यो नि होइन? अपेक्षा गरिए अनुसारको प्रदर्शन नगरी त हुँदैन,’ ग्वार्डिओलाले भने।

सिटीलाई पछ्याएको लाइपजिगका लागि जाभी सिमोन्सले सुरुवाती गोल गरेका थिए। सर्बियाली राजधानी बेलग्रेडमा पहिलो गोल आठौँ मिनेटमा गरेको लाइपजिगले दोस्रो गोल ७७ औँ मिनेटमा गर्यो। यो गोल गर्ने खेलाडी थिए, लोइस ओपान्डा। यही सिजन लाइपजिग पुगेका उनले गरेको यो १० औँ गोल हो।

सन् १९९१ मा युरोपियन कप (त्यसबेलाको च्याम्पियन्स लिग) जितेको रेडस्टारले ८१ औँ मिनेटमा गोल अन्तर घटायो। भलै गोल लाइपजिगका बेन्जामिन हेनरिचले आफ्नै पोस्टमा गरेका थिए।

उता बार्सिलोनासँग पनि नकआउटमा पुग्ने अवसर थियो। तर बार्सिलोना शाख्तार डोनेस्कटसँग १–० ले पराजित भयो। शाख्तारका डानिलो सिकानले पहिलो हाफको ४० औँ मिनेटमा गरेको गोल बार्सिलोनाको पराजयका लागि पर्याप्त भयो।

‘यो साह्रै मिठो जित हो। म मेरा खेलाडीको प्रदर्शनमा गर्व गर्छु। खेलाडीसँगै यो क्लबका हरेकले मेहनत गरेका छन्। उनीहरु सबैले मलाई अत्यधिक समर्थन गरेका छन्। यो जित हामी सबैको प्रयासको फल हो,’ शाख्तारका प्रशिक्षक मारिनो पुसिचले भने।

युक्रेनको शाख्तारले च्याम्पियन्स लिगका खेल जर्मनीमा खेलिरहेको छ। युद्धका कारण युरोपका अरु टिम युक्रेन जान नसक्ने भएपछि शाख्तारले आफ्ना जर्मनीको ह्याम्बर्ग सहरस्थित भोल्क्सपार्कलाई घरेलु मैदान बनाएको छ।

हारपछि बार्सिलोना दुई खेलअगावै अन्तिम १६ मा पुग्नबाट वञ्चित भयो। बार्सिलोना रहेको समूह ‘एच’ को अर्को खेलम मंगलबार राति नै एफसी पोर्टोले बेल्जियमको रोयल एन्टवेर्पलाई २–० ले पन्छायो। अब बार्सिलोना र पोर्टोको चार–चार खेलबाट नौ–नौ अंक भएको छ।

घरेलु मैदानमा पोर्टोलाई ब्रजिलेली फरवार्ड इभानिल्सनले अग्रता दिलाएका थिए। पहिलो हाफमा पेनाल्टी गोलमार्फत अघि बढेको पोर्चुगाली क्लबलाई दोस्रो हाफमा झन् सहज भयो। किनभने एन्टवेर्पका योर्गन एक्केलेक्याम्प दोस्रो हाफको सुरुवातमा रातो कार्ड खाँदै मैदानबाट बाहिरिन बाध्य भए।

इन्जुरी समयमा पोर्टोले अग्रतो दोब्बर बनाएको थियो। यसपल्ट गोल पेपेले गरे। उनी अब च्याम्पियन्स लिगको इतिहासकै पाका गोलकर्ता बनेका छन्। उनी ४० वर्ष २५४ दिनका छन्। यसअघि यो कीर्तिमान इटालेली फरवार्ड फ्रान्सिस्को टोटीको नाममा थियो।

बार्सिलोनाको जस्तै पेरिस सेन्ट जर्मेन (पीएसजी) र न्युकासल युनाइटेडको पनि नकआउट चरणमा पुग्ने लक्ष्य तत्कालका लागि पूरा भएन। सानसिरोमा पहिलो गोल गरे पनि पीएसजी एसी मिलानसँग २–१ ले पराजित भयो। उता न्युकासललाई बोरुसिया डर्टमन्डले जर्मनीमा २–० ले हरायो।

पीएसजीले नवौँ मिनेटमा अग्रता लिएको थियो। मिलानको सहरी प्रतिद्वन्दी इन्टर मिलानका पूर्वरक्षक मिलान स्क्रििनियरले हेडर गोल गर्दै पीएसजीलाई अघि बढाएका थिए।

तर तीन मिनेटपछि नै मिलान खेलमा फर्कियो। ओलिभर जिरुडले गरेको प्रहार पीएसजीका गोलरक्षक जियानलुइजी डोनारुमाले ब्लक गरेका थिए। तर रिबाउन्ड बल क्लियर नभएपछि राफाएल लिआओले ‘एक्रोब्याटिक सट’ प्रहार गरे र खेल बराबरीमा पुर्याए। दोस्रो हाफ सुरु हुनसाथ जिरुडले मिलानको दोस्रो गोल गरे। थियो हर्नान्डेजको कर्नरबाट आएको बललाई जिरुडले हेडरमार्फत जाली चुमाएका थिए।

हारका बाबजुद पीएसजी समूह ‘एफ’ को दोस्रो स्थानमा छ। पीएसजीको चार खेलबाट ६ अंक छ भने पहिलो स्थानको डर्टमन्डसँग सात अंक छ। मिलान पाँच अंकसहित तेस्रो र चार अंक भएको न्युकासल पुछारमा छन्।

न्युकासलमाथि लगातार दोस्रो जित दर्ता गर्न डर्टमन्डका निकलस फ्ल्कबर्ग र जुलियान ब्रान्ड्टले एक–एक गोल गरे।

‘हामीले तीन दिनअघि यही मैदानमा चार गोल खाएका थियौँ। यसकारण आज गोल नखाएर जित्ने लक्ष्य थियो। त्यसमा सफल भइयो,’ गोलकर्ता ब्रान्ड्टले भने। गत शनिबार डर्टमन्ड आफ्नै मैदानमा बायर्न म्युनिखसँग ४–० ले हारेको थियो।

समूह ‘बी’ को खेलमा स्पेनको एट्लेटिको म्याड्रिडले सेल्टिकमाथि ६–० को जित दर्ता ग¥यो। आधुनिक च्याम्पियन्स लिगमा एट्लेटिकोले हालसम्म हासिल गरेको यो सर्वाधिक अन्तरको जित हो। पहिलो हाफको २३ औँ मिनेटमा डाइजन मेइडाले रातो कार्ड पाएपछि १० खेलाडीमा झरेको सेल्टिकविरुद्ध एन्टोइन ग्रिजमन र अल्भारो मोराटाले दुई–दुई गोल गरे। बाँकी दुई गोल सामुएल डियास लिनो र साउल निगेजले गरे।

समूह चरणमा दोस्रो पटक विजयी भएपछि एट्लेटिकोसँग चार खेलबाट आठ अंक भएको छ। लाजियो दोस्रो स्थानमा छ। मंगलबार राति फियोनार्डलाई २–० ले हराएको लाजियोसँग सात अंक छ। पराजित फियोनार्डले हालसम्म ६ अंक बटुलेको छ भने पुछारको सेल्टिकको पोल्टामा एक अंक छ।

प्रकाशित: २२ कार्तिक २०८० ७:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =