राष्ट्रपतिद्वारा अन्तर्राष्ट्रिय उद्योगी व्यापारीलाई लगानीका लागि आह्वान

हिमाल प्रेस २० कार्तिक २०८० १२:१९
4
SHARES
राष्ट्रपतिद्वारा अन्तर्राष्ट्रिय उद्योगी व्यापारीलाई लगानीका लागि आह्वान
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगाानीका लागि अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई आह्वान गरेका छन्।एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ (क्यासी) र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को संयुक्त आयोजनामा दुई दिनसम्म चल्ने ३७औँ क्यासी सम्मेलनको आज यहाँ उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सो आह्वान गरेका हुन्।

‘नेपालमा लगानीका क्षेत्र बढ्दै गएका छन् र लगानी सहज बनाउनका लागि कानुन निर्माण भइरहेका छन्, म कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगाानीका लागि अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई आह्वान गर्दछु’, राष्ट्रपति पौडेलले भने।

राष्ट्रपति पौडेलले आर्थिक विकासको तीव्र चाहना बोकेको हाम्रो देशमा रहेको कृषि, जलस्रोत, पर्यटनजस्ता प्रचुर प्राकृतिक स्रोत र साधनलाई अन्तर्राष्ट्रिय जगतसँंग जोड्न लगानी र व्यापारका क्षेत्रमा धेरै अवसर रहेको धारणा व्यक्त गरे।

‘नेपाली विद्युत्को बजार अब भारत र बंगलादेश पनि बन्दैछ, विद्युत् व्यापारका क्षेत्रमा पछिल्ला दिनमा भएका प्रगतिले जलविद्युत्मा लगानी गर्न चाहने उद्यमीका लागि महत्वपूर्ण अवसर खुलेको छ। म नेपालको जलविद्युत्को क्षेत्रमा लगानी गर्न तपाईंहरू सबैलाई आह्वान गर्दछु’, उनले भने।

सो अवसरमा राष्ट्रपति पौडेलले शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भइ गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको घटनाप्रति मानवीय भावसहित पीडितलाई सहयोग गर्न सबै उद्यमी, व्यवसायीलाई अपिल पनि गरे।

उनले साना र मझौला उद्यम हाम्रो अर्थतन्त्रको मेरुदण्ड भएको धारणा राखे। ‘आधुनिक युगमा दिगोपन एक शब्दजाल मात्र होइन, यो हाम्रो भविष्यको आधारशीला पनि हो। साना र मझौला उद्यम अर्थतन्त्रका मेरुदण्ड हुन्। तिनीहरूले  वृद्धि, नवीनता र रोजगारी सिर्जना गर्छन्’, उनले भने।

राष्ट्रपति पौडेलले उद्यमशीलता भनेको व्यवसाय सुरु गर्नु मात्र होइन, यो नवप्रवर्तनलाई अँगाल्ने, विविधतालाई सघनीकरण गर्ने र हाम्रा समुदायले सामना गर्ने ठूला चुनौती समाधान गर्ने सबैभन्दा बलियो आधार भएको बताए।

‘तपाईंहरुले यो भावनालाई अगाडि बढाइरहनुभएको छ र बढाइरहनुहुनेछ भन्ने विश्वास व्यक्त गर्दछु’, उनले भने।

राष्ट्रपति पौडेलले दिगो उद्यमशीलता र व्यापार वास्तवमै समृद्ध र दिगो भविष्यका आधारशिला र अर्थतन्त्रको महत्वपूर्ण हिस्सा भएको बताए। ‘यसले आर्थिक वृद्धिलाई  मात्र होइन, सीमापार सम्बन्ध निर्माण र कायम राख्न ऊर्जा प्रदान गर्दछन्’, राष्ट्रपति पौडेलले भने, ‘व्यवसाय क्षेत्रका संगठनहरुले व्यापार सहज बनाउन प्रदान गर्ने मध्यस्थता, प्रक्रियाको डिजिटलाइजेसन र सञ्जालीय अवसरलगायतका सेवा व्यवसायलाई संसारसँग जोड्ने औँजार हुन्।’

उनले उद्यमशीलता र व्यापारले विश्वव्यापी बहुपक्षीयतावादलाई सवलीकरण गर्न योगदान गर्ने र पारस्परिक लाभदायक सम्बन्धमार्फत् विश्वव्यापी शान्तिलाई बलियो बनाउन योगदान पुर्‍याउनेमा विश्वास व्यक्त गरे।

नेपाल भौगोलिक रुपमा चीन र भारतबीच हुनु व्यापारका लागि रणनीतिक फाइदा भएको भन्दै उनले यो स्थितिले नेपाललाई ती विशाल उपभोक्ता बजारमा पहुँच स्थापित गर्न खोज्ने व्यवसायका लागि प्राकृतिक प्रवेशद्वार बनाउने बताए।

प्रकाशित: २० कार्तिक २०८० १२:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =