[अन्तर्वार्ता]

सुनचाँदीको मूल्य अझै बढ्छ : गणेशप्रसाद लकान्द्री

रमेश दवाडी १४ मंसिर २०८० ९:५५
590
SHARES
सुनचाँदीको मूल्य अझै बढ्छ : गणेशप्रसाद लकान्द्री

गणेशप्रसाद लकान्द्री सुनचाँदी व्यवसायका क्षेत्रमा तीन दशकदेखि क्रियाशील छन्। नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चको अध्यक्ष र नेपाल सुनचाँदी रत्नआभूषण महासंघको केन्द्रीय सहकोषाध्यक्षको भूमिकामा रहेर जिम्मेवारी निर्वाह गरेको अनुभव उनको छ। सुनचाँदी क्षेत्रको समसामयिक अवस्था, सुनचाँदीको मूल्य, मौलिक गरगहनाको अवस्थालगायतका विषयमा लकान्द्रीसँग गरिएको कुराकानी :

एक वर्षदेखि नेपालले आर्थिक मन्दी बेहोरिरहेको छ। यसले सुनचाँदी व्यवसायमा कस्तो असर गरेको छ?

आर्थिक मन्दीले उपभोक्तासँग कम पैसा छ। घरजग्गाको किनबेच घटेको छ। वैदेशिक रोजगारीमा जाने नेपाली युवाले धेरै पैसा पठाउन सकेका छैनन्। त्यसकारण सुनचाँदी मात्र नभएर अन्य व्यवसाय पनि संकटमा छ। सुनचाँदीको कारोबारमा अघिल्ला वर्षको तुलनामा ७० प्रतिशतले गिरावट आएको छ।

सुनको मूल्य लगातार बढ्नुको कारणचाहिँ के होला?

सुनको मूल्य बढ्नुको मुख्य कारण रुस र युक्रेन युद्ध एक हो। जहाँ युद्ध रोकिएको छैन। धेरै देशले युद्ध लम्बिने डरले सुन होल्ड गरे। पछिल्लो समय इजरायल र हमास द्वन्द्वले पनि सुनको मूल्यमा प्रभाव पारेको छ। सुनको मूल्य अझै बढ्छ। सुनको मूल्य प्रतितोला १ लाख २५ हजार रुपैयाँसम्म पुग्ने आकलन छ।

गरगहना निर्यात पनि हुन्छ कि?

अमेरिका, क्यानडा, हङकङमा पनि नेपाली दाजुभाइ दिदीबहिनी छन्। उनीहरूले नेपाली मौलिक गहनाको माग गर्छन्। त्यसबाट नेपाललाई राम्रो आम्दानी भइरहेको छ। नेपालबाहिर हाम्रा उत्पादिन सामग्री जाँदा सुनचाँदी व्यवसाय त्यति खस्केको छैन। मध्यम रूपमा चलिरहेको छ। यतिखेर सुनको प्रयोग गरगहनामा मात्र प्रयोग भएको छ। विदेशमा नेपाली परम्परागत शैलीका गरगहनाको माग उच्च थियो।

नेपालमा सुन बढी खपत हुने महिना कुन हो?

नेपालमा विभिन्न चाडपर्व छन्। बिहेका महिना छन्। मंसिरमा सुनको माग उच्च हुन्छ। गाउँमा भन्दा सहरमा गहनाको माग उच्च छ। नेपालमा सुनको बढीमाग हुने अन्य महिना असोज र कात्तिक हुन्।

दैनिक कति किलो सुनको माग छ?

दैनिक ४० देखि ४५ किलोसम्मको माग छ। सिजनमा दैनिक ५० देखि ६० किलोसम्म पनि खपत हुन्छ। हामीले उपभोक्ताको माग पूरा गर्न सकेका छैनौँ। नेपाल राष्ट्र बैंकले बल्लतल्ल २० किलो सुन दिन्छ।

सुनचाँदीलाई विलासिताको वस्तु पनि भनिन्छ। यसको व्यवसायबाट राज्यलाई कसरी फाइदा भइरहेको छ?

सुनचाँदी व्यवसाय क्षेत्रले २०औँ हजार नेपालीलाई रोजगारी दिएको छ। सीप भएका व्यक्ति बिदेसिनु परेको छैन। यहीँ कलात्मक गहना बनाएर बसेका छन्। सुनचाँदी विलासिताको वस्तु होइन। विलासिताको वस्तु त गाडी हो। गाडी धेरै मूल्य र कर तिरेर ल्याइन्छ। कुदाइन्छ। सकिन्छ। विदेशबाट ल्याइएको कच्चा पदार्थलाई हामीले मौलिक गरगहना बनाएर निर्यात गरेका छौँ। त्यसबाट राज्यलाई पैसा आइरहेको छ। त्यो हेर्नुपर्‍यो नि!

सुनचाँदी पसलमा विदेशी कालिगढको बाहुल्य देखिन्छ, नेपाली कालिगढ नभएर हो?

रत्न आभूषण महासंघअन्तर्गत सीप विकास तथा प्रवद्र्धन समिति छ। त्यसको संयोजक मै हुँ। समितिमा हामी नौजना छौँ। सातै प्रदेशमा तालिम केन्द्र खोल्न संघीय र प्रदेश सरकारलाई प्रस्ताव पठाएका छौँ। हातमा सीप नभएकाहरूलाई सुन व्यवसायमा आबद्ध गराउन तालिम दिने योजना छ। उनीहरूलाई सीप सिकाएर आत्मनिर्भर बनाउन लागिपरेका छौँ।

सक्कली र नक्कली सुन कसरी चिन्ने?

सुन चिन्नकै लागि सामग्री चाहिन्छ। प्रयोग गरेर देखाउनुपर्छ। राज्यको निर्देशनमा बसेपछि व्यवसायीले इमानदार भएर काम गर्नुपर्छ। सुन शुद्धताको दृष्टिकोणमा आजभन्दा पाँच वर्षअगाडि रसायनका सामान चल्थे। शुद्ध सुन नरम हुन्छ। गिलो हुन्छ। चुँडियो भन्दैमा अशुद्ध सुन भन्ने हुँदैन। २२ क्यारेटको बनाउँदा ८ प्रतिशत तामा हाल्नुपर्छ। त्यसको छुट्टै प्रक्रिया हुन्छ। राज्यले दिने ९९.५ शुद्ध सुन हुन्छ। जोडजाडमा जिंक लाग्ला। बाँकी शुद्ध सुन हुन्छ। हाम्रो नारा पनि ‘स्वच्छ व्यवसायी, सम्मानित व्यवसायी’ बनौँ हो। सुनमा ठग्छन्, मिसावट दिन्छन् भन्ने आरोपमा हामी सजग छौँ।

जर्दी भनेको के हो?

गाडी गुडाउँदा तेल खर्च भइरहेको हुन्छ। सुन बनाउँदा पनि टुक्रेर केही भाग हराएर जान्छ। सुनको ढिक्कै त उपभोक्तालाई दिने कुरा भएन। बनाएरै दिनुपर्छ। काटकुट गर्नुपर्छ। यसमा हुने खर्च जोडेर त्यसलाई जर्दीका रूपमा व्याख्या गरिएको हो।

सुनको सुरक्षा कसरी गर्ने?

पहिलो कुरा त मैले के किनेँ भनेर थाहा पाउनुपर्‍यो। सुन मूल्यवान् हुन्छ। त्यसैले सम्मान र माया गरेर लगाउनुपर्छ। भाँडा मस्काउँदा पनि सुन लगाउने होइन। नुहाउँदा पनि सुन लगाउन हुँदैन। त्यसरी सुरक्षा भएन। कतिखेर लगाउने, कतिखेर नलगाउने भन्नेमा ध्यान दिनुपर्छ। सुनलाई कुनै पनि रासायनिक पदार्थले असर गर्दैन।

सुनचाँदी व्यवसायीको हकहितका लागि थुप्रै संघसंस्था खुलेका छन्। धेरै संघसंस्था किन चाहियो?

एकजना मानिस उभिनु र १० जना मानिस उभिनुमा फरक पर्छ। राज्य संयन्त्र नै त्यसरी चलेको छ। बलियो छैन। आन्दोलन नगरी आफ्नो माग सुनुवाइ हुँदैन। सुनचाँदी व्यवसायीका पनि धेरै समस्या छन्। अहिलेसम्म निर्देशिका बनेको छैन। उपभोक्ता ठगिनु हुँदैन, व्यवसायी कानुनी दायरामा आउनुपर्छ भनेर राज्यले सोच्नु पर्दैन?

निर्देशिका बनाउन सरकारलाई तपाईंहरूले दबाब दिनुभएको छैन?

रत्न आभूषण महासंघ र सुनचाँदी व्यवसायी महासंघको संयुक्त पहलमा हामीले तीनचार महिनाअगाडि राष्ट्रिय भेला राख्यौँ। हाम्रो छुट्टै कार्यदल छ। कार्यदलमार्फत आएका सुझाव वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलगायतलाई ध्यानाकर्षण गरायौँ। अन्तरक्रिया पनि गरियो। उहाँहरू निर्देशिका ल्याउँछौं भन्नुहुन्छ तर आउँदैन। आमव्यवसायीले निर्देशिका मागेको छ।

तपाईंहरूले सुनचाँदी व्यवसायका लागि सुरक्षा पनि माग गर्नुहुन्छ। सुरक्षा आवश्यक छ र?

बैंक तथा वित्तीय संस्थालाई सुरक्षा निकायले आफ्नो ढंगले सुरक्षा दिएको हुन्छ। राज्यले सुनचाँदी व्यवसायीहरूलाई पनि सुरक्षा दिनुपर्छ। बैंक तथा वित्तीय संस्थाभन्दा फरक होइन। सुनचाँदी व्यवसायमा पनि आर्थिक कारोबार हुन्छ। त्यस कारण विशेष सुरक्षा योजना बनाएर हामीलाई सुरक्षा दिनुपर्‍यो। राज्यलाई कर तिरेपछि शान्तिपूर्ण वातावरणमा ढुक्कले व्यवसाय गर्न पाउनुपर्छ।

मञ्चसँग जोडिएका व्यवसायीलाई निवर्तमान अध्यक्षको हैसियतले के भन्नुहुन्छ?

म नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चको निवर्तमान अध्यक्ष हुँ। हाल विशिष्ट सदस्य छु। पाँच वर्ष लगाएर मैले जे जसरी संस्था बनाएको थिएँ, एउटा उचाइमा पुर्‍याउँछु भनेर दृढताका साथ व्यवसायीको हकहितका लागि सक्रिय थिएँ। त्यसमा केही साथीहरूले स्वार्थका लागि ममाथि हिलो छ्याप्ने काम गर्नुभयो। तर उहाँहरू आफैँ बढारिएर जानुभयो। वर्तमान अध्यक्ष डम्मर बराइली हुनुहुन्छ। उहाँले राम्रैसँग संस्थाको नेतृत्व गरिरहनुभएको छ। त्यसमा मैले साथ दिइराखेको छु। आफूले जन्माएको संस्था भएको हुँदा नेतृत्व गर्न आउने साथीहरूलाई मेरो सधैँ सहयोग हुन्छ। व्यवसायीका जुनसुकै समस्यामा पनि डम्मर बराइलीलगायत सबै लागेका छौँ।

पाँच वर्षसम्म म अध्यक्ष हुँदा उहाँहरूको साथ,सहयोग र विश्वासले संस्थालाई यो ठाउँमा ल्याएको थिएँ। बीचमा संस्था अप्ठेरोमा परेको छ भन्ने उहाँहरूलाई पनि थाहा छ। आगामी दिनमा गणेश लकान्द्री त्योभन्दा दोब्बर तरिकाले व्यवसायीका अधिकारका लागि निरन्तर रूपमा लाग्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + nine =