कोरियाले अर्को वर्ष १४ हजार कामदार लैजाने, सेवा क्षेत्र पनि थपियो

रमेश भारती १२ मंसिर २०८० ९:३१
344
SHARES
कोरियाले अर्को वर्ष १४ हजार कामदार लैजाने, सेवा क्षेत्र पनि थपियो वैदेशिक रोजगारीका लागि कोरिया हिँडेका नेपाली युवा त्रिभुवन विमानस्थलमा। फाइल तस्बिर

काठमाडौँ- दक्षिण कोरियाले आगामी वर्षदेखि पाँच क्षेत्रमा नेपाली कामदार लैजाने भएको छ। सन् २०२४ देखि कोरियाले नेपालबाट सेवा क्षेत्रको रेष्टुरेन्ट, होटल, हस्पिटल, वन पैदावारलगायत अन्य क्षेत्रमा नेपाली कामदार लैजाने भएको ईपीएस कोरिया शाखाले जनाएको छ।

सन् २००८ मा श्रम सम्झौता गरेको दक्षिण कोरियाले हालसम्ममा कृषि क्षेत्र तथा पशुपालन र उत्पादनमूलक क्षेत्रमा मात्र कामदार लिँदै आएको थियो। कोरियाले आगामी दिनमा निर्माण र सेवा क्षेत्रमा पनि कामदार लैजाने सम्झौता गरेको हो। आगामी वर्ष कोरियाले नेपालबाट ५ वटा क्षेत्रमा कामदार लैजाने बाटो खुलेको शाखाले जानकारी दिएको छ।

गत वर्ष सीप बिल्डिङमा कामदार लैजाने आवेदन खुलाएर परीक्षा गराएको थियो। यसको नतिजा सोमबार सार्वजनिक भएको छ। ३२ हजार सहभागी भएको सीप बिल्डिङ परीक्षामा ४ हजार ९८ जना मात्र उत्तीर्ण भएको शाखाले जनाएको छ। कोरियाले ५ हजार संख्यामा आवेदन खुलाएको थियो।

सरकारले आगामी साता उत्पादनमूलक क्षेत्रका लागि आवेदन खुलाउने तयारी गरेको छ। अबको एक हप्तामा उत्पादनमूलक क्षेत्रमा भाषा परीक्षाका लागि आवेदन खुलाउने तयारी भइरहेको शाखाका निर्देशक गुरुदत्त सुवेदीले जानकारी दिए।

कोरिया सरकारले सन् २०२४ मा करिब १४ हजार कामदार लैजाने तय भएको उनले बताए। ‘कोरियाले आगामी वर्षदेखि कृषि र उत्पादनमूलक क्षेत्रसहित अन्य थप तीन वटा क्षेत्रमा कामदार लैजाने गरी आवेदन खुलाउने भएको छ। नेपालले पनि सोहीअनुसार तयारी गरिरहेको छ,’ उनले भने, ‘नेपालबाट लैजाने गरेको दुई क्षेत्रबाहेक अन्य तीन क्षेत्र थपमा नेपाली कामदार लैजाने घोषणा गरेको छ। उक्त क्षेत्र थप गरेसँगै रोजगारीको दायरा बढेको छ।’

कोरियाले एक महिनामा ३ हजारभन्दा बढी नेपाली कामदारको भिसा जारी गरिरहेको उनको भनाइ छ। कोरियामा श्रमिकको चरम अभाव भएसँगै दक्ष विदेशी श्रमिकका लागि आरक्षण गरिएका सेवा, निर्माण क्षेत्रमा नेपाली कामदार समेत परेको शाखाको दाबी छ।

२०२४ मा ईपीएसअन्तर्गत कोरिया ल्याउने आप्रवासी श्रमिकको संख्या १ लाख ६५ हजार निर्धारण गरेको छ। यो संख्या कोरियाले ईपीएस प्रणालीअन्तर्गत १६ वटा देशबाट लैजाने भएको हो। कोरिया ईपीएसमार्फत नेपालबाट धेरै कामदार लैजाने गरेको छ। सन् २०२३ मा कोरियाले नेपालबाट ११ हजार कामदार कृषि र उत्पादन क्षेत्रमा लागेको शाखाको तंथ्याकमा छ।

कोरिया आगामी वर्ष उत्पादनमूलक क्षेत्रमा ९५ हजार, कृषि क्षेत्रमा १६ हजार, बिल्डिङमा ५ हजार, निर्माण क्षेत्रमा ६ हजार, सेवा क्षेत्रमा १३ हजार र अन्य आवश्यक क्षेत्रमा मागअनुसार २० हजार विदेशी कामदार लिने कोटा निर्धारण गरेको छ। अहिलेसम्म छुट्याएको कोटामध्ये नेपालबाट कुन क्षेत्रमा कति कामदार लैजाने भन्ने कोटा नछुट्याएको शाखाले जनाएको छ।

कोरियाले सेवा तथा उत्पादन क्षेत्रका विभिन्न उप-क्षेत्रमा विदेशी श्रमिकलाई रोजगारी गर्न नपाउने कानुनी व्यवस्थालाई यही वर्ष संशोधन गरेको थियो। संशोधन कानुनमा रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गतका आएका विदेशी कामदारलाई ५ वटा क्षेत्रका ई-भिसाको सुविधासमेत दिएको छ।

कोरियाले आगामी वर्षदेखि ई-९ भिसावाहक विदेशी श्रमिकलाई डीथ्री (डर्टी, डिफिकल्ट र डेन्जर) क्षेत्रभन्दा बाहेक निर्माण, पानीजहाज, सेवा, रेष्टुरेन्ट, होटल, हस्पिटल, वन पैदावारलगायत क्षेत्रमा काम गर्ने सुविधा थपेको छ।

हाल कोरियामा ३५ हजार नेपाली रोजगारीमा कार्यरत छन्। ईपीएसमार्फत ७० हजार नेपाली रोजगारीका लागि कोरिया पुगेको शाखाको तथ्यांकमा उल्लेख छ।

प्रकाशित: १२ मंसिर २०८० ९:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + sixteen =