बजेट पूर्ण रूपमा कार्यान्वयन हुन्छ, शंका गर्नु पर्दैन : कोशी मुख्यमन्त्री

हिमाल प्रेस १० मंसिर २०८० १८:५४
6
SHARES
बजेट पूर्ण रूपमा कार्यान्वयन हुन्छ, शंका गर्नु पर्दैन : कोशी मुख्यमन्त्री

इटहरी- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभामा प्रतिस्थापन विधेयकबाट आएको बजेट पूर्ण रूपमा कार्यान्वयन हुने बताएका छन्। आइतबार आर्थिक मामिला तथा योजना मन्त्रालयमा आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले बजेट कार्यान्वयनमा कुनै शंका नगर्न आग्रह गरेका हुन्।

बजेट भौतिक विकासमा मात्र केन्द्रित नरहेको उल्लेख गर्दै प्रतिस्थापन विधेयकले मानवीय विकासलाई समेत जोड दिएको उनले बताए। ‘प्रस्तुत कार्यक्रमहरू विधेयक पास भएको भोलिपल्टदेखि कार्यान्वयनमा जान्छ। समुन्नत प्रदेशका लागि हामीले पाइला चालिसकेका छौँ,’ उनले भने।

मुख्यमन्त्री कार्कीले व्यक्तिगत स्वार्थका योजना तथा कार्यक्रम पेस नगर्न आग्रह समेत गरे। उनले थपे, ‘यो पटकबाटै हामीले सुरुवात गरिसकेका छौँ। व्यक्तिगत रूपमा योजना ल्याएर बजेट कनिकासरी छर्ने काम अब हुन्न। अब योजना आयोगले तय गरेका कामहरू प्राथमिकता र योजनाबद्ध तवरले हुनेछन्। त्यसका लागि आयोगले पनि काम सुरु गरिसकेको छ।’

आर्थिक मामिला तथा योजना मन्त्रीको समेत जिम्मेवारीमा रहेका मुख्यमन्त्री कार्कीले शनिबार आर्थिक वर्ष २०८०/८१ को बजेटसम्बन्धी अध्यादेश प्रतिस्थापन गर्ने विधेयक प्रदेशसभामा पेस गरेका थिए।

विधेयकमा १० वर्षसम्मका बालबालिकाको निःशुल्क उपचार गर्ने, तमोरको पानी धरान ल्याउने, धुलो दूध र घ्यू निर्यातमा अनुदान दिने, हात्तीमैत्री जंगल बनाउने, इटहरीमा प्रादेशिक जलन अस्पताल निर्माण गर्ने, विराटनगरमा सैलजा आचार्य हृदय रोग उपचार केन्द्रको व्यवस्था मिलाउने, प्रत्येक जिल्लामा निःशुल्क कानुनी उपचार केन्द्रको व्यवस्था मिलाउने, भूमिहीन तथा सुकुमबासीले घडेरी खरिद गर्ने प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जाको ब्याज मिनाहा गर्नेलगायतका कार्यक्रम समावेश गरिएका छन्।

प्रकाशित: १० मंसिर २०८० १८:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 16 =