केपी ओली कप क्रिकेट : एपीएफको जितमा अरुण ऐरीको ५ विकेटको योगदान

हिमाल प्रेस ९ मंसिर २०८० २०:२०
6
SHARES
केपी ओली कप क्रिकेट : एपीएफको जितमा अरुण ऐरीको ५ विकेटको योगदान

पोखरा– पोखरा रंगशालामा जारी केपी ओली कप टी-२० क्रिकेट प्रतियोगिताको तेस्रो दिनको खेलमा विभागीय टिम एपीएफ क्लब र कर्णाली प्रदेश विजयी भएका छन्।

मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत एपीएफले लुम्बिनीलाई ८४ रनले पराजित गरेको हो। १५२ रनको लक्ष्य पछ्याएको लुम्बिनी निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ६७ रनमै समेटिन पुग्यो।

लुम्बिनीलाई सस्तैमा समेट्न एपीएफका अरुण ऐरीले ५ विकेट हात पारे। भुवन कार्कीले २, अभिनाश बोहरा र अमर रौतालाले समान १-१ विकेट लिए। लुम्बिनीका मिर्नल गुरुङले सर्वाधिक १४ रन जोड्दा रोशन गुप्ताले अविजित १३ रन बनाउनुबाहेक अन्यले दर्शनीय प्रदर्शनी गरेनन्।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५१ रन बनाएको थियो। लोकेश बमले विस्फोटक पारी खेल्दै १३ बलमा ३ चौका, ३ छक्काको मद्दतमा ३२ रन बनाउँदा एपीएफले सम्मानजनक स्कोर गरेको थियो।

गण्डकीसँग एक खेल गुमाएको एपीएफलाई सेमिफाइनल प्रवेशका लागि अनिवार्य जित निकाल्नुपर्ने दबाब थियो। एपीएफका कप्तान ऐरीले ३०, अरुण ऐरीले २५, पुरन विकले २३, सुमित महर्जनले १८ र असिफ सेखले १३ रनको योगदान दिए।

लुम्बिनीका रमेश कुर्मी र अभिषेक गौतमले समान २-२ विकेट लिँदा मोहमद हुसेनले १ विकेट हात पारे।

समूह ‘बी’ को एपीएफ सेमिफाइनलमा पुग्ने सम्भावना बलियो छ। एकएक खेल जित्दै एपीएफ र गण्डकीको समान २-२ अंक छ। सेमिफाइनलको टुंगो आइतबार हुने गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको खेलबाट लाग्नेछ।

शनिबारकै अर्को खेलमा मदन भण्डारी स्पोर्टस् एकेडेमी रातोलाई ४ विकेटले हराउँदै कर्णालीले जित निकालेको छ। ११० रनको लक्ष्य पछ्याएको कर्णालीका लागि म्यान अफ दि म्याच दीपन्द्र रावतले उत्कृष्ट प्रदर्शन गरे। नटआउट रहँदै उनले ३१ बलमा २ चौका र ३ छक्काको मद्दतमा ४३ रनको इनिङ खेले। कर्णालीले १८.१ ओभरमा ६ विकेट गुमाउँदै १११ रन बनायो।

त्यसअघि आयोजक मदन भण्डारीको टिम पूरै २० ओभर खेल्दै ६ विकेट गुमाउँदै १०९ रन बनाएको थियो। चार बल सामना गरेका कप्तान अमर मिश्र १ रन बनाउँदै अनुज चनाराको बलमा रवीन्द्र शाहीबाट क्याच आउट हुन पुगे।

आयोजकका लागि निर्मल थापाले ३१ बलमा १७, अंकित बीएमले १८, निश्चल ज्ञवालीले १९, रोशन गौतमले २० बलमा ३० र सहजाद अलामले १६ रनको योगदान दिए। सस्तैमा समेट्न कर्णालीका लागि प्रकाश जैसीले २ विकेट हात पार्दा दिनेश अधिकारी र दिवान पुनले समान १-१ विकेट लिए।

कर्णालीका लागि दीपेन्द्रले ४३ सहित प्रकाश जैसीले १९ र निश्चल रावलले १५ रनको योगदान दिए। आयोजक रातोका लागि विप्राशन केसी र सन्तोष यादवले समान २/२ विकेट लिँदा सन्द्रश पराजुली र सुमित थापाले १/१ विकेट लिए । समूह ‘ए’ का यी दुवै टिम अन्तिम चारबाट भने बाहिरिन पुगेका छन्।

बागमती लगातार २ खेल जित्दै सेमिफाइनल प्रवेश गरिसकेको छ। आइतबार समूह ‘बी’ मा रहेका गण्डकी र लुम्बिनी प्रदेश तथा समूह ‘सी’ अन्तर्गत नेपाल पुलिस क्लब र मधेश प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। १५ मंसिरसम्म चल्ने प्रतियोगिता विजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछ।

प्रकाशित: ९ मंसिर २०८० २०:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =