काठमाडौँमा १८ मुलुक सम्मिलित सम्मेलन, समानान्तरसहित नेपालका चार निर्माण व्यवसायी सम्मानित

हिमाल प्रेस ८ मंसिर २०८० १८:३२
1.5k
SHARES
काठमाडौँमा १८ मुलुक सम्मिलित सम्मेलन, समानान्तरसहित नेपालका चार निर्माण व्यवसायी सम्मानित

काठमाडौँ– एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीको छाता स‌ंगठन (ईफाप्का)को ४६औँ सम्मेलनको अवसरमा नेपालका चार निर्माण कम्पनीलाई सम्मानित गरिएको छ। ईफाप्का सम्मेलनमा बिल्डिङ कन्स्ट्रक्सन विधामा उत्कृष्ट घोषित गर्दै समानान्तर निर्माण सेवा प्रालिलाई स्वर्ण पदक प्रदान गरिएको छ। यही विधामा न्यू टेक्निकल इन्फ्रा प्रालिले रजत पदक दिइएको छ। सिभिल इन्जिनियरिङ विधामा कालिका कन्स्ट्रक्सन प्रालिले स्वर्ण पदक हासिल गर्‍यो भने त्यही विधामा जय विष्णु निर्माण सेवा प्रालिले रजत पदक हात पारेको छ।

उनीहरूको कामकोे रफ्तार, गुणस्तर, व्यवस्थापन र कार्यशैलीलाई नियालेर पदक उपलब्ध गराइएको हो। १८ मुलुकका चार सय भन्दा बढी निर्माण व्यवसायीको माझ उक्त पदक र सम्मानपत्र ईफाप्का अध्यक्ष रवि सिंह र महासचिव वीरेन्द्रराज पाण्डेले उपलब्ध गराएका हुन्।

भवन निर्माणमा चर्चित समानान्तरका अध्यक्ष अच्युत खरेलले आफ्नो कम्पनीलाई स्वर्ण पदक उपलब्ध गराएर थप काम गर्ने हौसला निर्माण व्यवसायीहरूबाटै मिलेको बताए। विदेशी निर्माण व्यवसायीहरूले पनि नेपालमा यसरी काम गर्ने व्यवस्थित प्रचलन रहेको भन्दै आफूहरूलाई सधैँ प्रशंसा गरिरहँदा नेपाली निर्माण व्यवसायीहरूले पनि यसमा समर्थन गर्दै सम्मान गर्दा समानान्तर ग्रुप दंग छ। ‘टिमवर्कको सफलता हो,’ उनले भने, ‘हामी मिलेर काम गर्दा जति पनि गर्न सक्छौँ भन्ने सन्देश हो। विल्डर कम्पनीप्रति समाजमा नकारात्मक सन्देश गइरहँदा त्यसलाई चिर्न हामीमा नै यो संस्कार बस्न जरुरी छ।’

त्यस्तै दशौँ पटकसम्म ईफाप्का सम्मेलनमा सहभागी भएका ईफाप्का पूर्वअध्यक्ष गणेशलाल श्रेष्ठ र ईफाप्काका महासचिव वीरेन्द्रराज पाण्डेलाई ईफाप्का अध्यक्ष सिंहले सम्मान गरेका थिए। पाँचौ पटकसम्म ईफाप्का सम्मेलनमा सहभागी महासंघका निवर्तमान अध्यक्ष विष्णुभाइ श्रेष्ठ, मानार्थ सदस्य तथा पूर्वअध्यक्ष जीप छिरिङ लामा शेर्पा, महासचिव रोशन दाहाल लगायतलाई सम्मान गरिएको ईफाप्काले जनाएको छ।

मंगलबारदेखि सुरु भएको सम्मेलनको आयोजक नेपाल हो। नेपाल निर्माण व्यवसायी महासंघले अध्यक्षता गरेर यो सम्मेलन काठमाडौँमा गरेको हो। यसपछि यसको नेतृत्व सिंगापुरले लिनेछ। ‘दिगो पूर्वाधारमा साझेदारी’ भन्ने नारासहित काठमाडौँको ईफाप्का सम्मेलन सुरु भएको थियो।

मंगलबार सुरु भए पनि राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार बिहान उद्घाटन गरेको उक्त कार्यक्रम भोलि शनिबारसम्म सञ्चालन हुने नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ। ईफाप्का फोरमको उद्घाटन भने प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार गरेका थिए।

प्रधानमन्त्री दाहालले नेपालले सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्यमा ल्याउने अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाएको भन्दै विकास निर्माणका काम पनि त्यहीअनुसार गरिरहेकोमा खुसी व्यक्त गरेका थिए। दिगो पूर्वाधार विकासको लागि सरकारको प्रमुख प्राथमिकतामा रहेको बताएका थिए। पूर्वाधार निर्माणले हरितगृह उत्सर्जनमा नेपालको ठूलो योगदान रहेको उनले बताउँदै भने, ‘दिगो पूर्वाधार विकासको लागि आर्थिक तथा नीतिगत सुधार गर्न आवश्यक पहल गर्नेछु।’

उक्त सम्मेलनमा १८ देशबाट २४२ सहित ४ सयभन्दा बढीको सहभागिता रहेको महासंघले जनाएको छ। ईफाप्का सम्मेलन नेपालको पर्यटन क्षेत्रको विकास र अर्थतन्त्रलाई चलायमान गर्न राम्रो अवसर बन्न सक्ने महासंघका अध्यक्ष सिंहले बताए। ‘सम्मेलनमा सदस्य मुलुकका जति पनि व्यवसायी सहभागी हुनुहुनेछ। उनीहरूबाट कम्तीमा पनि १० लाख डलर बढी नेपालको पर्यटन क्षेत्र वा अर्थतन्त्रलाई भाइब्रेन्ट गर्न खर्च गरिनेछ,’ उनले भने, ‘हामीले त्यो विदेशी मुद्रा प्राप्त गर्ने र नेपालको पर्यटन क्षेत्रको विकासको लागि यो एउटा राम्रो उपलब्धि हुनेछ।’

उनले नेपालमा कृषि, पर्यटन जलविद्युत् लगायतका विविध क्षेत्रमा लगानीको गर्न आग्रह गरेको जानकारी पनि दिए। नेपाल आएका विदेशी निर्माण व्यवसायीहरुले भक्तपुर, वसन्तपुर, स्वयम्भू लगायत क्षेत्रको अवलोकन गरेका छन्। उनीहरू कतिपयले नेपाली निर्माण कम्पनीसँग नेपाल र विदेशमा समेत मिलेर काम गर्ने प्रतिबद्धतासमेत जनाएका छन्।

नेपालले सन् १९९९ मा ३०औँ ईफाप्का सम्मेलन आयोजना गरेको थियो । निर्माण उद्योगसँग सम्बन्धित समसामयिक विषयमा सम्मेलनमा महत्त्वपूर्ण छलफल भएको जानकारी दिइएको छ। यसै सम्मेलनमार्फत गत एक वर्ष अघिदेखि ईफाप्का अध्यक्षको कार्यभार सम्हालिरहेका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहले ईफाप्का अध्यक्षको जिम्मेवारी सिंगापुरलाई हस्तान्तरण गर्नेछन्।

सम्मेलनमा ईफाप्कामा अस्ट्रेलिया, दक्षिण कोरिया, इन्डोनेसिया, मलेसिया, सिंगापुर, भारत, माल्दिभ्स, बंगलादेश, श्रीलंका थाइल्याण्डलगायत मुलुकका प्रतिनिधिहरूको सहभागिता छ ।

प्रकाशित: ८ मंसिर २०८० १८:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =