यिऊमा नेपालीको जमघट, ‘स्थानीय तहको विकासमा नमुना बन्न सक्छ यिऊ’

अजय अलौकिक ५ मंसिर २०८० ११:३५
12
SHARES
यिऊमा नेपालीको जमघट, ‘स्थानीय तहको विकासमा नमुना बन्न सक्छ यिऊ’

बेइजिङ- चीनको यिऊ सहर भ्रमणमा पुगेका नेपालीले चाडबाड मनाउन नपाए पनि संघसंस्थाको वार्षिकोत्सव, सभा, सम्मेलनका साथै मेलामा सहभागिता जनाएर मनाएका छन्। नेपालका विभिन्न स्थानीय तहबाट नवौँ युनाइटेड सिटिज एन्ड लोकल गभरमेन्ट्स एसिया प्यासिफिक (यूसीएलजी एएसपीएसी) २०२३ सम्मेलनमा आएका जनप्रतिनिधिले यतै चाडपर्व मनाएका हुन्।

सम्मेलनका लागि महानगर, उपनगर तथा नगरपालिका र गाउँपालिकाका गरी ३२ जनाको टोली चीन आएको थियो। सोही समयमा विभिन्न मेला तथा प्रदर्शनी पनि यिऊमा जारी थियो। त्यहाँ नेपाली व्यापारीले आफ्ना स्टल राखेका थिए भने नेपालको पेभेलियन ‘नेपाल मण्डप’ स्थापना गरिएको थियो।

नेपाली टोलीको स्वागतार्थ आयोजित कार्यक्रममा नेपाल चेम्बर अफ कमर्स चीनका लागि पूर्वी क्षेत्रीय प्रतिनिधि राजकुमार खड्काले चीनमा बसोबास गर्दै आइरहेका नेपाली देशको विकास गर्न सदासर्वदा लागिपरेको बताए। आफूहरू देश विकासका लागि स्थानीय तहसँग काम गर्न इच्छुक रहेको उनको भनाइ छ। उनले भने, ‘देशवासीसरह विदेशी भूमिमा रहेका नेपालीको पनि मातृभूमिको विकास गर्ने उत्कट चाहना छ। हामी देश विकासमा पुल बन्न तयार छौँ।’

नेपालको स्थानीय तहका जनप्रतिनिधिहरूले यिऊका नेपालीबाट न्यानो स्वागत पाएको बताउँदै यिऊको विकासबाट नेपालले धेरै कुरा सिक्न सक्ने बताएका थिए।

गाउँपालिका महासंघकी अध्यक्ष लक्ष्मी पाण्डेले गाउँको विकासका लागि यिऊबाट सिकेर कार्यान्वयन गर्नुपर्ने बताइन्। विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरलाई नेपालको औद्योगिक र व्यापारिक केन्द्रका रूपमा विकास गर्न यिऊले महत्त्वपूर्ण भूमिका खेल्नसक्ने औँल्याए। उनले यिऊको अन्तर्राष्ट्रिय यातायात सञ्जालको प्रशंसा गरे।

कागेश्वरी नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले आफ्नो सहरलाई पनि नमुना बनाउन अघि सर्ने बताएका थिए।

यूसीएलजी एएसपीएसीका अध्यक्ष तथा धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्यान्जू श्रेष्ठले यूसीएलजी एएसपीएसी महत्त्वपूर्ण प्लेटफर्म भएकाले स्थानीय तहको विकासमा सहकार्य गर्दै यसले समयसापेक्ष विकासको लहरमा लम्कन साथ दिने बताए। उनले भने, ‘विदेशमा बस्ने नेपालीको सीप र ज्ञानले देश विकासमा टेवा पुग्नेछ।’ उनले चीनको उदाहरण दिँदै नेपालीको बिदेसिने निराशालाई आशामा बदल्न सक्ने प्रशस्त आधारहरू रहेको ‌औँल्याए।

नेपाल चीन उद्योग वाणिज्य संघ यिऊ कार्यालय आयोजक रहेको उक्त कार्यक्रमको व्यवस्थापन ग्लोबल कलश लजिस्टिक्स तथा यिऊका नेपाली व्यापारी परिवारहरू, सूर्यप्रताप राजवंशी, बिन्द्रकुमार माली, राम दुमरू र जेनिका धोजुले गरेका थिए।

कार्यक्रम सभापति विष्णुप्रसाद दुमरूले विश्वकै ठूलो होलसेल बजार सहर यिऊको परिचय दिँदै त्यहाँ नेपालीको २५ वर्ष लामो इतिहासको चर्चा गरे। उनले यिऊको विकास मोडेल नेपाललाई उपयुक्त हुने बताए। साथै उनले नेपालका विभिन्न सहरसँग भगिनी सम्बन्ध स्थापना तथा नेपालको समग्र विकासमा निरन्तर सेवा गर्ने बाचा गरे।

कार्यक्रम सञ्चालक जीवन मैनालीले नेपालको नेपाली प्रतिनिधिलाई विशेष स्वागत गर्दै नेपालीको महान् चाड तिहार, नेपाल संवत् ११४४ तथा छठ पर्वको शुभकामना आदानप्रदान गरेका थिए।

जिल्ला समन्वय समिति राष्ट्रिय महासंघका अध्यक्ष राजन मेहेता तथा नेपाल नगरपालिका संघका महासचिव र दाङ घोराही नगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले तिहारको बेला यिऊको भ्रमण गर्दा पनि आफ्नै ठाउँमा भएको महसुस भएको बताएका थिए।

यिऊ भ्रमणमा रहेका नेपाली टोलीले यिऊमा जारी चाइना यिऊ इम्पोर्टेड कमोडिटिज फेयर, चच्याङ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण सहरको आदानप्रदान प्रदर्शनी तथा यूसीएलजी एएसपीएसी प्रदर्शनीस्थलको अवलोकनसँगसँगै चिनियाँ बजारमा नेपाली वस्तुको सम्भाव्यता अध्ययन गरेको थियो।

नेपाल चीन उद्योग वाणिज्य संघ यिऊ शाखा कार्यालय चौथो वर्षमा प्रवेश

नेपाल चीन उद्योग वाणिज्य संघ यिऊ शाखा कार्यालयले लक्ष्मीपूजाका दिन तेस्रो वार्षिकोत्सव मनाएको छ। चीन उद्योग वाणिज्य संघ यिऊ शाखा कार्यालयको उद्घाटन चीनका लागि तत्कालीन राजदूत महेन्द्रबहादुर पाण्डेले सन् २०२० नोभेम्बर १२ मा गरेका थिए। वार्षिकोत्सव समारोहमा नेपाली प्रनिधिमण्डल, नेपाली व्यापारी र यिऊ सहरमा बस्दै आएका नेपालीको उल्लेख्य उपस्थिति थियो।

नेपाल चीन उद्योग वाणिज्य संघ यिऊ शाखाका मुख्य प्रतिनिधि विष्णुप्रसाद दुमरूले नेपाल चीन उद्योग वाणिज्य संघ यिऊ शाखा कार्यालयले दुई देशको सांस्कृतिक आदानप्रदान गर्दै आएको बताए। उनका अनुसार संघले चिनियाँ उद्यमीका साथै सरकारी स्तरमै नेपालमा लगानी तथा पर्यटन प्रवर्द्धन गर्न र प्राकृतिक प्रकोपको अवस्थामा सो संस्थाले काम गर्दै आएको छ।

‘यिऊ सरकारद्वारा सञ्चालित कार्यक्रममा भाग लिएर सांस्कृतिक आदानप्रदान र सरकारी स्तरमा समेत नेपालमा लगानी भित्र्याउन र पर्यटन प्रवर्द्धनमा सो संस्था लागिरहेको छ’, उनले भने।

उनले प्राकृतिक प्रकोप तथम कोभिड महामारीमा चन्दा संकलन सँगसँगै आवश्यक स्वास्थ्य सामग्री तथा उपकरण नेपालमा पठाउन संघको ठूलो योगदान रहेको स्मरण गरे।

संघले साङहाई एक्स्पोलगायत अन्य धेरै चिनियाँ व्यापार मेलामार्फत जडीबुटीलगायत नेपाली उत्पादनलाई चीनमा प्रवर्द्धन गर्दै आएको छ। यस्तै सीमा नाका सञ्चालन गर्न, ट्रान्जिट प्रणाली र नयाँ बन्दरगाह खोल्नेजस्ता व्यावसायिक समस्या समाधानका लागि संघले दुवै सरकारसँग पुलको काम गरिरहेको दुमरूले बताए।

‘तीन वर्ष अवधिमा हामीले सियान, लान्चौ, छिङहाई, ल्हासा, छङ्तुलगायतका स्थानीय सरकारसँग नेपालमा दक्षिण एसियाको कार्गो रेल प्रवर्द्धनका लागि सम्बन्ध स्थापित गरेका छौँ’, उनले भने।

प्रकाशित: ५ मंसिर २०८० ११:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + four =