बाबुराम र महेन्द्रबीच पनि फुट!

रमेश दवाडी ३० कार्तिक २०८० १५:१८
258
SHARES
बाबुराम र महेन्द्रबीच पनि फुट!

काठमाडौँ– नेपाल समाजवादी पार्टी (नेसपा) मा नेकपा माओवादी केन्द्रसँग एकता गरिहाल्नुपर्ने र वैकल्पिक राजनीति अगाडि बढाउनुपर्ने विषयमा संघर्ष चलेको छ। गत वर्ष ४ मंसिरमा सम्पन्न चुनावमा नेसपाले माओवादी केन्द्रसँग चुनावी तालमेल गरेदेखि यता एकता र वैकल्पिक शक्तिको संघर्ष चलेको हो।

पार्टी बैठकमा डा.बाबुराम भट्टराईले नेपालमा नयाँ भनिएका दलमा पनि वैकल्पिक शक्तिको छनक नदेखिएको र स्पष्ट विचार (भिजन) नभएकाले नेसपा सही अर्थमा वैकल्पिक शक्ति बन्न सक्नेमा जोड दिँदै आएका छन्।

माओवादीसँग एकता चाहनेहरू भने भट्टराईसँग सहमत छैनन्। उनीहरू माओवादीसँग एकता गरेपछि माओवादीलाई नै वैकल्पिक शक्तिमा रूपान्तरण गर्न सकिने तर्क गर्छन्। यही दुई लाइन संघर्षका कारण भट्टराईको राजनीति फेरि एकपटक संकटमा डिलमा पुगेको बुझाइ जानकारहरूको छ। यसले फेरि नेसपा फुट्ने त हैन भन्ने बहस हुन थालेको छ।

२०५२ सालमा माओवादीले थालनी गरेको ‘जनयुद्ध’ का प्रमुख सूत्राधारमध्येका एक भट्टराई संविधानसभाबाट संविधान जारी भएपछि माओवादीबाट बाहिरिएका थिए। माओवादीबाट अलग भएपछि भट्टराईले नयाँ शक्ति, संघीय समाजवादी पार्टी, जनता समाजवादी र नेपाल समाजवादीको नेतृत्व गरिसकेका छन्। दशकको बीचमा यति धेरै पार्टीको नेतृत्व गर्दा पनि समकालीन राजनीतिमा भट्टराई निकै कमजोर संगठनकर्ताका रूपमा परिचित छन्।

 पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादी पार्टी अब रूपान्तरण हुन नसक्ने भन्दै २०७२ असोजमा बाहिरिए पनि भट्टराईको राजनीतिक निकटता भने माओवादीसँगै रहँदै आएको छ। यतिसम्म कि भट्टराईले आफूले निर्वाचन जित्दै आएको गोरखा-२ प्रचण्डलाई नै छाडिदिए। त्यसपछि पनि नेसपा र माओवादीबीच एकता विषयमा छलफल हुँदै आएको थियो।

मंसिरको चुनावलगत्तै कार्यगत एकता र पछि पार्टी एकता विषयमा नेसपा र माओवादीबीच सहमति भएको थियो। पार्टी एकताका लागि नेसपाबाट सहअध्यक्ष गंगानारायण श्रेष्ठ र माओवादी केन्द्रबाट कृष्णबहादुर महराको संयोजकत्वमा संवाद समिति बनाइएको थियो।

एकताका लागि माओवादीले नेसपालाई पत्र नपठाएको पनि होइन। तर अध्यक्ष भट्टराई भारत भ्रमण रहेका बेला अर्का अध्यक्ष महिन्द्र राय यादवका नाममा भदौ ३० मा पत्र काटिएको थियो। उक्त पत्रले नेसपामा खैलाबैला भयो किनभने नेसपामा दुई अध्यक्ष भए पनि बहुसंख्यक नेताकार्यकर्ता भट्टराईलाई अध्यक्ष मान्दै आएका छन्।

पत्रलाई भट्टराई पक्षले सीधै अस्वीकार गर्‍यो। उनी पक्षका एक नेताले भनेका थिए, ‘माओवादी वैचारिक र नैतिक रूपमा गिर्दै भट्टराईबाट आतंकित भएको छ। एकताको निम्ति पत्राचार हुन्थ्यो भने वार्ता समितिका नाममा गर्नुपर्थ्यो।’ त्यसरी पत्राचार भइरहेकै बेला माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, विप्लव नेतृत्वको नेकपालगायतका दल भने समाजवादी मोर्चाका नाममा देशव्यापी अभियानमा जुटे। समाजवादी केन्द्रको अवधारणा अघि सार्दै आएका भट्टराई भने त्यसमा अटाएनन्। उता एकताको कुरा पनि त्यत्तिकै थन्किएको छ।

केन्द्रीय समिति बैठकले गर्ला छिनोफानो?

पार्टीभित्र मतभेद बढेपछि नेसपाले ६ र ७ मंसिरमा केन्द्रीय समिति बैठक बोलाएको छ। बैठकमा वैकल्पिक शक्ति र पार्टी एकता विषयमा छलफल हुने नेसपा स्रोतले जानकारी दियो। बैठकमा तत्काल माओवादीसँग एकता चाहने र वैकल्पिक शक्ति निर्माणमा लाग्नेहरूबीच सवालजवाफ हुनेछ।

सहअध्यक्ष श्रेष्ठ भन्छन्, ‘केन्द्रीय समिति बैठकमा पार्टी एकता गर्ने या नगर्ने विषयमा छलफल हुनेछ।’ नेसपालाई वैकल्पिक शक्तिका रूपमा प्रचार गरिरहेका भट्टराईको विचारसँग श्रेष्ठ सहमत छैनन्।

लामो समय भट्टराईको विचारमा सहमत भएर एउटै पार्टीमा रहेका श्रेष्ठले वैकल्पिक हराइसक्यो समेत भन्न भ्याए। ‘वैकल्पिक हराइसक्यो। महन्थ ठाकुरसँग पार्टी एकता गरेर भट्टराई चार नम्बरमा बसेपछि वैकल्पिक भइन्छ?’ श्रेष्ठले प्रश्न गरे।

सांसद परिचयपत्रमा पार्टीको नाम फरक

जनता समाजवादी पार्टी (जसपा) विभाजनको डिलमा थियो। अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष भट्टराई छुट्टाछुट्टै भेला गर्थे। त्यतिबेला कुन नेता कसको पक्षमा लागे भनेर चर्चा हुन्थ्यो।

असार २८ मा भट्टराई पक्षको भेलामा टुप्लुक्क पुगे यादव। यादवको उपस्थितिले भट्टराई पक्षमा केही ऊर्जा थपिदियो। त्यसकै जगमा भट्टराई र यादव अध्यक्ष तथा श्रेष्ठ सहअध्यक्ष हुनेगरी नेपाल समाजवादी पार्टी निर्माण भयो।

मंसिर ४ मा नेसपाले माओवादीसँग चुनावी गठबन्धन गरेपछि यादवसहित केही नेताहरू माओवादीतिर ढल्किए। त्यसको एउटा कारण भट्टराईले लगातार तीनपटक संसदीय चुनाव जितेको गोरखा-२ प्रचण्डलाई छाडेपछि हो।

सर्लाही-२ बाट चुनाव जितेका यादव अहिले खानेपानीमन्त्री छन्। यादवको सांसद परिचयपत्र पनि माओवादीबाटै छ। निर्वाचन आयोगको नियमअनुसार निर्वाचन फाराम भर्दा सम्बन्धित पार्टीमा चिह्न लगाउनुपर्छ। तर यादवले माओवादी केन्द्रमा लगाए। गंगानारायण श्रेष्ठको पनि सांसद परिचयपत्रमा नेकपा माओवादी छ। नेसपा स्रोत भन्छ, ‘यो सच्याउन सकिन्थ्यो तर उहाँहरूले चाहनुभएन।’

श्रेष्ठ बागमती प्रदेशका सांसद तथा कानुनमन्त्री हुन्। ‘उहाँहरूले सचेततापूर्वक माओवादी केन्द्रको नाम राखेजस्तो छ,’ एक नेताले भने। उता गण्डकी प्रदेश सांसद फणीन्द्र देवकोटाको सांसद परिचयपत्रमा नेपाल समाजवादी पार्टी छ।

नेता नेसपाको, काम माओवादीको

महिन्द्र राय यादवलाई नेसपा अध्यक्ष भने पनि उनको कार्यशैली फरक छ। पार्टी गतिविधिमा उनको कम संलग्नता छ। गृहजिल्ला सर्लाहीमा उनको भेटघाट, बैठक माओवादी केन्द्रका नेताहरूसँग हुने गरेको छ।

‘महिन्द्र राय यादव नेसपा अध्यक्ष हो तर जिल्लामा उहाँले कहिल्यै नेसपा उच्चारण गर्नुहुन्न। उहाँको माओवादी नेताहरूसँग छलफल हुन्छ। नेसपा नेताकार्यकर्ता भेटघाट हुँदैन,’ राय निकट एक नेताले भने। त्यसो त खानेपानीमन्त्री यादवको कामबाट नेसपामा आलोचना हुने गरेको छ।

नेसपाभित्र राजनीतिमा लामो समय बिताएका नेताकार्यकर्ता छन्। जो अहिले आफ्नो राजनीतिक इतिहासबारे मात्र वर्णन गर्न रुचाउँछन्। त्यस्ता मानिसहरू माओवादीमा जान खोजेको र भित्रभित्रै माओवादीकै काममा लागेको स्रोतको दाबी छ।

भट्टराईलाई पुगेको क्षति

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन, सुशासन, संघीयता, समावेशिता, आर्थिक विकासजस्ता एजेन्डा लिए पनि एउटै दलमा टिक्न नसक्दा भट्टराईको विचारमै क्षति पुगेको बहस पार्टीभित्र हुन थालेको छ। उनी पक्षधर एक नेता अब पार्टी विघटन गरेर पार्टीभन्दा माथि रहेर विकास र समृद्धको बहस चलाउनुपर्ने तर्क गर्छन्।

‘पार्टीका नेताकार्यकर्तालाई जुन पार्टीमा जाने हो खुला छोडिदिने र पार्टी विघटन गरेर उहाँले राजनीतिक श्वेतपत्र जारी गर्दै दुई वर्ष विकास र समृद्धिको आफ्नो भिजनबारे बहस चलाउनुपर्छ। त्यो बहस कर्मचारी, राजनीतिज्ञ, मिडिया, विश्वविद्यालयमाझ हुँदा ठिक हुन्छ,’ ती नेताले भने, ‘त्यसो गर्न सकियो भने भट्टराईको विचार नीति निर्माण तहममा पुग्न सक्छ। पार्टीभन्दा माथि उठेर यो बहस चलाउँदा जनताले पनि उहाँको विचार बुझ्न सक्छन्।’

दुई वर्ष बहस चलाएपछि चुनाव आउनु एक वर्षअगाडि पार्टी निर्माण गर्दा ठीक हुने ती नेताले बताए। भट्टराई उचित स्थानमा नभए उनको ‘भिजन डेथ’ हुने उनी बताउँछन्।

भट्टराई भने अझै १० वर्ष वैकल्पिक राजनीतिको अभियान चलाउन चाहन्छन्। उनी भन्छन्, ‘युवा साथीहरू निराश हुन जरुरी छैन। म अझै १० वर्ष वैकल्पिक शक्तिको अभियानमा लाग्छु। संस्कार, सोच, कार्यशैलीमा र व्यवहार भएको नयाँ पार्टी हामीलाई चाहिएको हो। पुराना पार्टी सुध्रिँदैनन्, ‘नयाँ’ भनिएका पार्टीमा देश विकासको प्रस्ट एजेन्डा छैन।’

राजनीति कलाविहीन भट्टराई!

पार्टी क्रमशः खिइँदै र भट्टराई शक्तिहीन हुँदै जानुले उनी अस्तित्वको संकटमा रहेको राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटरको बुझाइ छ। भट्टराईलाई कसैले बुझ्न नसक्दा र उनले अरूलाई बुझ्न नसक्दा समस्या बढेको पिटरले बताए। भन्छन्, ‘बाबुरामजी अस्तित्वको संकटमा हुनुहुन्छ। उहाँलाई कसैले बुझ्न सकेनन् र उहाँले पनि कसैलाई बुझ्न सक्नुभएन।’

विश्लेषक पिटर भट्टराईलाई युगअनुसार चिन्तन राख्नसक्ने तर त्यसलाई साथमा लिएर जान नसक्ने नेताका रूपमा टिप्पणी गर्छन्। शक्तिको राजनीति गर्नसक्ने कला बाबुराममा नभएको पिटरको भनाइ छ। ‘पढाइमा सधैँ प्रथम भएकाले राजनीतिमा पनि प्रथम हुनुपर्छ भन्ने उहाँमा सोच रह्यो तर राजनीतिमा सधैँ प्रथम भइँदैन। उहाँ युगअनुसार चिन्तन राख्नसक्ने तर त्यसलाई साथमा लिएर जान नसक्ने नेता हुनुहुन्छ। शक्तिको राजनीति गर्न सक्ने कला उहाँसँग छैन।’

विश्लेषक पिटरले बाबुरामलाई अब दार्शनिक मात्र भएर बस्न सुझाव दिए। उनी भन्छन्, ‘भट्टराई अब दार्शनिक मात्र भएर बसे भयो। अहिले उहाँलाई शक्तिको स्थान दिन सक्ने अवस्था छैन। भावनाले कविता लेख्न सकिन्छ। राजनीति चल्दैन।’

प्रकाशित: ३० कार्तिक २०८० १५:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 8 =