हिजाब नलगाउँदा इरानी अभिनेत्रीलाई काममा प्रतिबन्ध

हिमाल प्रेस २५ कार्तिक २०८० १३:२८
हिजाब नलगाउँदा इरानी अभिनेत्रीलाई काममा प्रतिबन्ध प्रसिद्ध अभिनेत्री तरानेह अलीदुस्ती। तस्बिर : रोयटर्स

इरानमा सार्वजनिक स्थलमा हिजाब नलगाउने अभिनेत्रीहरूमाथि काम गर्न प्रतिबन्ध लगाइएको छ।  त्यहाँ महिलाले सार्वजनिक रूपमा निस्किँदा टाउको छोपेको हुनुपर्छ। सामान्य महिलाले त अनिवार्य बुर्का, हिजाब लगाउनैपर्छ। अब सेलिब्रिटी पनि त्यस घानमा परेका छन्। उनीहरूले पनि हिजाब लगाउनुपर्छ भन्ने सरकारको आदेश छ। अभिनेत्रीहरू त्यसको विरोध गरिरहेका छन्।

अक्टोबर अन्तिमतिर इरानको मिनिस्ट्री अफ कल्चर एन्ड इस्लामिक गाइडेन्सले सार्वजनिक स्थलमा टाउको नढाक्ने अभिनेत्रीहरूको सूची तयार गरेको थियो।  मन्त्रालयसँग आबद्ध इरानको सिनेमा अर्गनाइजेसनले सार्वजनिक रूपमा त्यसरी देखापर्ने अभिनेत्रीहरूलाई फिल्ममा काम गर्न रोक लगाउने घोषणा गरेको छ।

‘हिजाब कानुन पालना नगर्ने अभिनेत्रीले काम गर्न पाउने छैनन्,’ मन्त्रालयका मन्त्री मोहम्मद मेहदी इस्माइलले भनेका छन्। मन्त्रालयले तयार पारेको सूचीमा २० जना अभिनेत्रीको नाम छ। त्यसमा प्रसिद्ध अभिनेत्री तरानेह अलीदुस्ती पनि छिन्। सर्वश्रेष्ठ विदेशी फिल्मका लागि अस्कर अवार्ड जित्ने फिल्म ‘द सेल्सम्यान’ मा उनले काम गरेकी छन्।

असगर फरहादीको लेखन र निर्देशन रहेको ‘द सेल्सम्यान’ सन् २०१६ मा प्रदर्शनमा आएको थियो। जसमा अलीदुस्ती मुख्य भूमिकामा छिन्। पहिले उनी सार्वजनिक कार्यक्रममा शिर ढाकेर आउँथिन्। देशबाहिर हुँदा पनि उनले टाउको सधैँ छोेपेकी हुन्थिन्। तर पछिल्लो समय उनी बदलिएकी छन्। उनले हिजाब लगाउन छाडेकी छन्।

यो बदलाव सन् २०२२ मा महसा अमिनीको मृत्युपछि आएको हो। हिजाब नलगाएकै कारण प्रहरीले २२ वर्षीया महसा अमिनीलाई सार्वजनिक स्थलबाट पक्राउ गरेको थियो। इस्लामिक ड्रेस कोडको पालना नगरेको भन्दै प्रहरीले अमिनीलाई पक्राउ गर्‍यो। गिरफ्तारीको केही समयपछि प्रहरी हिरासतमा उनको मृत्यु भयो।

अमिनीको मृत्युपछि इरानी महिलाहरूले सरकारविरुद्ध आन्दोलन सुरु गरे। उनीहरू सडक आन्दोलनमा उत्रिए। अलीदुस्तीले पनि त्यही बेला इन्स्टाग्राममा एउटा तस्बिर पोस्ट गरेकी थिइन्। जसमा उनले शिर छोपेकी थिइनन्। इरानी महिला अधिकार र सरकारविरोधी आन्दोलनको समर्थन गर्दै उनले ‘महिला, जिन्दगी, आजादी’ लेखेको ब्यानर समातेकी थिइन्।

तस्बिर पोस्ट भएको केही बेरमै उनलाई पक्राउ गरिएको थियो। त्यसको दुई सातापछि उनी जमानतमा छुटेकी थिइन्। अलीदुस्तीयसपटक पनि मुखर भएकी छन्। काममा लगाइएको प्रतिबन्धबारे सामाजिक सञ्जालमा लेखेकी छन्। ‘हिजाब लगाउनेछैन, त्यसकै कारण इरानी महिलाहरूको रगत बग्दैछ।’

इरानमा सार्वजनिक स्थलमा शिर नढाक्नु अपराधजस्तै हो। जसको मूल्य १७ वर्षीया अर्मिता गारावान्दले पनि आफ्नो जीवन दिएर चुकाइन्। उनी बिनाहिजाब स्कुल जाँदैथिइन्। नैतिक प्रहरीले तेहरान मेट्रोमा उनीमाथि आक्रमण गर्‍यो। उनी बेहोस भइन्। टाउकोमा गम्भीर चोट लाग्यो। अस्पताल पुर्‍याउँदा चोटका कारण उनी कोमामा पुगिन्। केही समयपछि चिकित्सकले उनलाई मृत घोषित गर्‍यो। अक्टोबर २९ मा उनलाई गाडियो। हरेक दिन आफ्नो जीवन जोखिममा पारिरहेको इरानी महिलाको भनाइ छ।
गत अक्टोबरमा इरानी निर्देशक दारिउस मेहरजुई र उनकी श्रीमती वाहीदेश मोहम्मदिफार आफ्नो घरमा मृत भेटिए। चक्कु प्रहार गरी उनीहरूको हत्या गरिएको थियो। प्रहरीले यसलाई चोरीको घटना भन्यो। तर धेरैले प्रहरीको त्यस बयानमा शंका गरे।

मेहरजुई सरकारविरुद्ध बोल्ने फिल्मकर्मी थिए। मार्च २०२२ मा उनको फिल्म ‘अ माइनर’ सेन्सरमा परेको थियो। रिसाएका यी निर्देशकले इरानको संस्कृति मन्त्रालयलाई चिठी लेखे, ‘मलाई मार। जे गर्नु छ गर। बर्बाद गर। तर मलाई मेरा अधिकार चाहिए।’

उनको मृत्यु संस्कारका बेला त्यहाँ उपस्थित सबै अभिनेत्रीले टाउको ढाकेका थिए। तर मेहरजुईकी १६ वर्षीया छोरीले हिजाब लगाएकी थिइनन्। एक इरानी अभिनेत्रीले भनेकी छन्, ‘मलाई लाग्छ युवा पीढीले हामीलाई धिक्कार्नेछ। हाम्रो पुस्ता रूढिवादी छ। अबका युवा र बहादुर केटीहरूलाई थाहा छ, उनीहरूलाई के चाहिएको छ। आजादी र अन्यायबाट मुक्ति।’

अमिनीको मृत्युपछि हिजाबबिना सार्वजनिक कार्यक्रममा देखापर्ने प्रख्यात सेलिब्रिटीको संख्या बढेको छ।

प्रकाशित: २५ कार्तिक २०८० १३:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − fourteen =