महाकविबारे रोचक किस्सा र रचना वाचनमा गुञ्जियो साहित्य सदन

हिमाल प्रेस २५ कार्तिक २०८० ८:३५
146
SHARES
महाकविबारे रोचक किस्सा र रचना वाचनमा गुञ्जियो साहित्य सदन

काठमाडौँ- नेपाली भाषाका महाकवि लक्ष्मीप्रसाद देवकोटाका बारेमा अनेक किस्सा सुनाउँदै स्रष्टाहरूले बिहीबार उनको ११५ औँ जन्मजयन्ती मनाएका छन्। प्राध्यापक कोषराज न्यौपानेले देवकोटाको चिउरामासु मोहबारे चर्चा गरे भने अर्का प्राध्यापक जगत् उपाध्याय ‘प्रेक्षित्’ ले केही व्यक्तिले भन्ने गरेजस्तो देवकोटालाई राज्यका तर्फबाट कुनै दुःख नदिइएको यथार्थ प्रस्तुत गरेका थिए।

कुनै काममा बसेपछि अर्थोक सबै कुरा भुल्ने देवकोटाको लहडी स्वभावको चर्चा गर्दै न्यौपानेले भने, ‘एकपटक पुतलीसडकको खाजा पसलमा मासुचिउरा खान बसेका देवकोटाले त्यति बेलाको मूल्यअनुसार १६५ रुपैयाँको खाजा खाइसक्दा पनि नपुगेपछि ६ वटा अण्डाको अम्लेट बनाउन लगाए खाएछन्।’ उनले देवकोटाको जीवनमा खाने र दिने कुरामा कुनै ‘कोटा’ नरहेको बताए।

लहडी स्वभावका देवकोटाका जीवनका धेरै विषयलाई किंवदन्तीजस्तो बनाइएको प्राध्यापक उपाध्यायको भनाइ छ। नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्यसचिवसमेत रहेका उपाध्यायले देवकोटाका जीवनमा कतिपय विषयमा अझै भ्रम सिर्जना गर्ने काम भइरहेको भन्दै तथ्यमा अडिएर मात्रै यस्ता धारणा राख्नुपर्ने बताए।

देवकोटाले जीवनको उत्तरार्धमा राज्यबाट कुनै सहुलियत नपाएको भन्ने विषय गलत रहेको उनले प्रस्ट पारे। देवकोटाको ११५ औँ जन्मजयन्तीका अवसरमा शुक्रबार साहित्य सदन नेपालले सदनको हल रामहिटीमा आयोजना रचना वाचन र प्रमाणपत्र वितरण कार्यक्रममा उपाध्यायले भने, ‘आधिकारिक दस्ताबेजअनुसार कतिपय कुरामा देवकोटा आफैँले प्रचलित कानुनी प्रावधानलाई पूरा नगर्दा उनले सुविधा नपाएका हुन्। बिन्दास स्वभावका भएकाले पनि यस्तो हुनु स्वाभाविकै हो। देवकोटालाई राज्यले कुनै कुन्जुस्याइँ  गरेको भेटिँदैन।’

उनले देवकोटाको आर्थिक अवस्था पनि त्यति कमजोर नरहेको बताए। नेपाल प्रज्ञा प्रतिष्ठान र त्रिभुवन विश्वविद्यालय स्थापना र नेपाली भाषा पठनपाठन अनिवार्य बनाउने देवकोटाको योगदान चिरकालसम्म रहिरहने उनको भनाइ थियो। देवकोटाले धोती फेरेर खाना खाँदा भोगेको एउटा रोचक प्रसंग उपाध्यायले सुनाए।

अर्का स्रष्टा मित्रलाल पंज्ञानीले देवकोटाको कवित्वका विविध आयामबारे चर्चा गरेका थिए। उनले देवकोटा मानवतावादी, समाजवादी र क्रान्तिकारी स्रष्टा रहेको बताए।

कार्यक्रममा उपस्थित स्रष्टाहरूले रचना वाचन गरेका थिए। अधिकांश स्रष्टाले देवकोटाको कवित्व, व्यक्तित्व र उनले नेपाली साहित्यमा दिलाएको योगदानमा आधारित रहेर कविता, गीत, साइनो प्रस्तुत गरेका थिए। केही कविले समसामयिक सामाजिक, राजनीतिक, सांस्कृतिक विकृति र विसंगतिमा आधारित कविता वाचन गरेका थिए।

कवि विश्वनाथ तामाङले तामाङ भाषामा रचित कविता वाचन गरे। भारतको गुवाहाटीबाट आएकी स्रष्टा सिर्जना शर्मा उप्रेतीले देवकोटाले टिस्टाका विषयमा रचना गरेको कविता वाचन गरी उनको सम्झना गरिन्।

पूर्वराजदूतसमेत रहेका स्रष्टा रमेशप्रसाद खनालले नशा विषयमा आधारित कविता वाचन गरेर समसामयिक जीवन चरित्रमाथि प्रकाश पारेका थिए। स्रष्टा छायादत्त न्यौपाने कविताको नवीन विधा ‘साइनो’ का केही पङ्क्तिहरू वाचन गरेर सहभागीहरूको ध्यान केन्द्रित गर्न सफल भए। रामप्रसाद नेपालले सातआठ महिनाकी छोरीका विषयमा रचना गरेको कविता निकै रोचक थियो।

कार्यक्रममा वरिष्ठ कवि कोषराज न्यौपानेले आफ्नो आशुकवित्वलाई फेरि एकपटक प्रस्तुत गरे। तिहार, नेपाल संवत् नयाँ वर्ष र छठको शुभकामनाबारे उनले प्रस्तुत गरेको छोटो तर मिठो कविताले दर्शकश्रोताको ताली पाएको थियो। यस्तै उनले केही कविता पंक्तिमार्फत देवकोटाको साहित्यिक व्यक्तित्वमाथि थप प्रकाश पारे।

कवि जगत् उपाध्याय ‘प्रेक्षित्’ ले बुद्धविषयक कविता वाचन गरेका थिए। अर्का कवि प्रह्लाद पोखरेलले महाकवि देवकोटाको महाकाव्यका केही अंश वाचन गरेर दर्शकश्रोतालाई उनको रचना कौशलको आस्वादन दिलाए। अनि उनले कविता पंक्तिमार्फत नै नजिकै आइरहेका चाडपर्वको शुभकामना दिए। यसैगरी कृष्ण सुवेदी ‘मित्र भारद्वाज’ ले देउवकोटाको प्रिय झ्याउरे लयमा रचित कविता वाचन गरेका थिए।

रचना वाचन गर्ने अन्य स्रष्टाहरूमा कर्णाद महर्षि, सीता भट्टराई, रत्ननिधि रेग्मी, दिव्यलक्ष्मी पोखरेल, अनुक्रमा पौडेल, माधवलाल श्रेष्ठ, घनश्याम प्रसाईं, विमल अर्याल, त्रिलोचन आचार्य, आलोक चालिसे, गोविन्द घिमिरे, गीता त्रिपाठी, तोयनाथ तिवारी, रामचन्द्र खतिवडा, सुशीला प्रधानांग थिए।

नयाँ कार्यसमितिका पदाधिकारीलाई प्रमाणपत्र

कार्यक्रममा प्रा. उपाध्यायले साहित्य सदन नेपालको नयाँ कार्यसमितिका पदाधिकारीहरूलाई प्रमाणपत्र प्रदान गर्दै अनुसन्धान, रचनावाचन, प्राज्ञिक, बौद्धिक, र सिर्जनात्मक कार्यलाई अझ उचाइमा लैजान शुभकामना दिए। त्यस अवसरमा

अध्यक्ष हेमनाथ पौडेल, उपाध्यक्ष मित्रलाल पंगेनी, सचिव प्रह्लाद पोखरेल, सहसचिव कृष्ण सुवेदी ‘मित्र भारद्वाज’, कोषाध्यक्ष वसन्त रिजाल, कार्यसमिति सदस्यहरू विमल अर्याल, सीता भट्टराई, नवराज चालिसे, मणिराज लामिछाने, गीता त्रिपाठी, केशव सिलवाल, रमेश खनाल, त्रिलोचन आचार्य, माधवलाल श्रेष्ठ, पशुपति खतिवडा, सुनिता बुढाथोकी र विश्वनाथ तामाङलाई प्रमाणपत्र वितरण गरिएको थियो। कार्यसमिति गत महिना चयन भएको थियो।

अध्यक्ष पौडेलले सबैलाई जनस्तरमा स्थापित साहित्य सदनलाई गतिशील बनाउने आफूहरूले सक्दो प्रयास जारी राख्ने बताए। उनले यसका लागि विज्ञ सल्लाहकारहरूसमेतको सहकार्यमा चाँडै योजना बनाई अघि बढ्ने प्रतिबद्धता जनाए। कार्यक्रमको सञ्चालन सदनका सचिव प्रह्लाद पोखरेलले गरेका थिए भने उपस्थित स्रष्टालाई सहसचिव कृष्ण सुवेदी ‘मित्र भारद्वाज’ ले शब्दमार्फत स्वागत गरेका थिए।

काठमाडौँ महानगरपालिका-६ बौद्ध, रामहिटीमा रहेको साहित्य सदन नेपाल जनस्तरमा स्थापित प्रज्ञा प्रतिष्ठान हो। यसको स्थापना २०४३ सालमा भएको थियो।

प्रकाशित: २५ कार्तिक २०८० ८:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + nine =