कोशीमा मन्त्रिपरिषद् विस्तार गर्न सकस

विवेक विवश रेग्मी ११ कार्तिक २०८० १४:२९
12
SHARES
कोशीमा मन्त्रिपरिषद् विस्तार गर्न सकस कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की।

इटहरी– संविधानको धारा १६८ (५) बमोजिम एमालेको सहयोगमा मुख्यमन्त्री बनेका केदार कार्कीलाई मन्त्रिपरिषद् विस्तार गर्न सकस परेको छ। केन्द्रीय गठबन्धनको निर्णय लत्याउँदै एमाले समर्थनमा मुख्यमन्त्री बनेका कार्कीलाई सरकार विस्तारमा सकस परेको हो। कार्की कांग्रेस नेता डा. शेखर कोइराला समूहका हुन्।

मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसके पनि उनले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन्।

केन्द्रीय सत्ता गठबन्धनका शीर्ष नेताहरूको निरन्तरको दबाबका कारण उनले कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार गर्न नसकेको कार्की निकट एक नेताले बताए। कार्की दसैँअगाडि नै मन्त्रिपरिषद् विस्तारको तयारीमा थिए। ‘शीर्ष नेताहरूको दबाबका कारण मन्त्रिपरिषद् विस्तारमा विलम्ब भएको छ’, ती नेताले भने। मुख्यमन्त्री नियुक्त भएलगत्तै कार्कीले एमालेका राम राना र कांग्रेसका शमशेर राईलाई मन्त्री नियुक्त गरेका छन्। उनीहरूको मन्त्रालय भने तोकिएको छैन।

एमालेले सरकार विस्तारमा विलम्ब नगर्न आग्रह गर्दै आएको छ। मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको सत्ता सहयात्री एमालेसँग मन्त्रिपरिषद् विस्तारका लागि समय माग गरेका छन्। उनीमाथि एमालेसँगको सहकार्य तोड्न निरन्तर केन्द्रबाट दबाब आएको ती नेताले बताए। सोही विषयमा शीर्ष नेताहरूसँग छलफल गर्न मुख्यमन्त्री कार्की काठमाडौँ गएका छन्।

कार्कीले एमालेको माग र सर्तभन्दा विपरीत गएर मन्त्रिपरिषद् विस्तार नगर्ने प्रतिबद्धता जनाएका छन्। केही दिनअघि एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीसँगको भेटमा मुख्यमन्त्री कार्कीले एमालेसँगको सहकार्य तोड्न नसक्ने भन्दै नेताहरूसँग छलफलका लागि समय माग गरेका थिए। एमाले भने माओवादीलाई सरकारमा सामेल गराउन नहुने पक्षमा छ।

एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले भने, ‘मन्त्रिपरिषद् विस्तारमा माओवादीलाई पनि सामेल गराइए हामी सरकारमा बस्दैनौँ।’

उनले मुख्यमन्त्री कार्की काठमाण्डौँबाट फर्किएपछि थप छलफल गरेर मन्त्रिपरिषद् विस्तारको टुंगो लाग्ने बताए। एमालेले माओवादीलाई सरकारमा सहभागी नगराउन माग राख्दै आएको छ। तर कोशी प्रदेशमा राप्रपाबाहेक सबै दलले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिएका छन्।

प्रकाशित: ११ कार्तिक २०८० १४:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − five =